आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– आज डिसेम्बर १८ अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस । सरकारले नेपालमा आजदेखि ६ दिनसम्म अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने भएको छ । यो वर्ष अन्तर्राष्ट्रिय रुपमा ‘आप्रवासीहरूको योगदानलाई सम्मान र उनीहरूको अधिकारको सम्मान गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदेछ ।

नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा विदा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरू गरिन्छ ।

यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि ६ दिनसम्म विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने जनाएको हो । विश्व समुदायले आप्रवासनका क्षेत्रमा अनि आप्रवासीका लागि धेरै कुराहरू गर्न बाँकी छ, पोस्ट कोभिड विश्वमा आप्रवासीहरूको समस्याहरू थप बढेर गएको छ । आगामी वर्षहरूमा आप्रवासन र आप्रवासीहरूको मुद्धाहरुमा सुनुवाइ र सुधार होस् भन्ने अपेक्षा सबैलाई छ ।

आइतवार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सचिव केवलप्रसाद भण्डारीले आप्रवासीहरूको योगदानको कदर गर्ने र उनीहरूको अधिकारको रक्षा गर्न विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको जानकारी दिए । कार्यक्रमको पहिलो दिन आज विभिन्न सरोकारवाला क्षेत्रका प्रतिनिधिसहितको प्रभातफेरी हुनेछ । बाँकी दिन सचेतना कार्यक्रम, सुरक्षित रोजगारी अभ्यास प्रवर्द्धन, काम गर्ने घण्टाको वकालत र आप्रवासी कामदारहरूको लागि सीप विकासलाई प्रोत्साहित गर्न केन्द्रित भएर कार्यक्रम हुनेछन् ।

सचिव भण्डारीले वैदेशिक रोजगारीका लागि स्वचेतना र कानुनी पक्षहरूलाई जोड दिएर व्यक्तिहरूलाई सशक्त बनाउने र वैदेशिक रोजगारीमा विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्ने आशा राखेको बताए । गरिबी, द्वन्द्व र जलवायु परिवर्तन लगायतका कारण आप्रवासनको समस्या बढेको भन्दै आप्रवासी कामदारहरूलाई उनीहरूको सीप अभिवृद्धि गरी अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको समेत सचिव भण्डारीले बताए । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्त्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रूपमा स्वीकार गरेको छ भने मानव गतिशीलतालाई दिगो विकासको महत्त्वपूर्ण हिस्साको रूपमा अङ्गीकार गरिएको छ ।