आज उधौली, धान्य पूर्णिमा र य:मरी पुन्ही
काठमाडौं– प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व उधौली आज पुस १० गते मंगलवार हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि प्रारम्भ हुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।
उधौली पर्वमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन । यस पर्वमा किराँतीहरु एकआपसमा भेला भएर संगठित रुपमा चाड मनाउँदै शुभकामना आदन–प्रदान गर्छन् । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडिएको छ, उधौली र उभौली । खेती–किसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।
वैशाख पूर्णिमामा उभौली पर्व मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो । बाली भित्र्याउने समयलाई उधौली पर्व मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।
आज धान्य पूर्णिमा पर्व
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज बिहिबार धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्य पूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नव अन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमासमेत मेला लाग्ने गर्दछ ।
योमरी पूर्णिमा (य:मरी पुन्ही) पनि आजै
नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
योमरी पूर्णिमालाई य:मरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।
नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा रहेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...