आज राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज पुस २३ गते सोमवार उम्मेदवारी दर्ता गरिँदैछ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सात वटै प्रदेशको राजधानीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिने छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको तथा निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र मनोनयन दर्ता हुनेछ ।

मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको, उम्मेदवारको योग्यता तथा अयोग्यताका विषयमा स्पष्ट निर्देशन दिइसकेको तथा कालोसूचीका व्यक्तिको नामावली निर्वाचन अधिकृतको कार्यालयमा पठाएको उनको भनाइ छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्यका लागि माघ ११ गते मतदान हुनेछ । त्यसका लागि आज उम्मेदवारी दर्ता हुनेछ भने भोलि मंगलवार उम्मेदवारको विरोधमा उजुरी दिने, बुधवार र बिहीवार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा शुक्रवार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

यसैबीच, निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो । प्रकाशित नामावली अनुसार सात वटै प्रदेशमा प्रदेश सभा सदस्यतर्फ कुल ५४९ र स्थानीय तहतर्फ एक हजार ४९८ मतदाता छन् । एक जना प्रदेश सभा सदस्य र स्थानीय तहका एक–एक जना अध्यक्ष, उपाध्यक्ष र उपप्रमुखको निधन भएकाले मतदाता नामावलीबाट नाम यसअघि नै हटाइएको थियो ।

त्यसै गरी गाउँपालिकाका एक अध्यक्ष र नगरपालिकाका चार प्रमुख निलम्बनमा पर्दा मतदाता नामावलीबाट नाम हटाइएको छ । मतदाता नामावलीबाट प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी नौ जनाको नाम हटाइएको छ । मतदान गर्न अयोग्य रहेकामा पाँच जना मधेश प्रदेशका छन् । चार जना सप्तरीका र एक जना रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख छन् ।

आयोगका अनुसार प्रदेश सभातर्फको कुल मतभार २९ हजार ९७ र पालिकातर्फको कुल मतभार २८ हजार ४६२ कायम भएका छन् । यसरी राष्ट्रिय सभा सदस्यका लागि सात वटै प्रदेशबाट प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको गरेर ५७ हजार ५५९ मतभार कायम भएका छन् । राष्ट्रिय जनगणना २०७८ को परिणामबमोजिम प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।