जनसम्पर्क समितिका सभापतिहरूसँग शर्मा नेतृत्वको एनआरएनएले गर्‍यो छलफल, जनसम्पर्क समितिको पूर्ण समर्थन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०८०

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘फेस टु फेस’ बैठक अगाडि अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले सुझाव लिएका छन् । नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका प्रवासमा रहेका जनसम्पर्क समिति सभापति तथा काठमाडौंमा रहेका महासमिती सदस्य र अभियन्ताहरूसँग शर्माले छलफल गरेका हुन् । ललितपुरस्थित गोदावरीमा आयोजित छलफलमा महासमिति बैठकमा भाग लिन आएका प्रतिनिधि सहित अन्य एनआरएन अभियन्ताहरू सहभागी रहेका थिए ।

अध्यक्ष शर्माले फेस टु फेस मिटिङ र एनआरएन अभियानमा देखिएको अन्योलको विषयमा सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताए । बद्री केसी पक्षले एकलौटी ढङ्गबाट सहमति तोडेपछि हिमालयन होटेलमा गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्षद्वय कुल आचार्य र रविना थापाले बोलाएको भेलाले महाधिवेशनका सबै प्रक्रिया पूरा गरेर आफ्नो अध्यक्षतामा विधिवत नयाँ कार्यसमिति निर्वाचित गरेको भन्दै अभियानलाई अगाडि बढाउन जनसम्पर्क समितिहरूको ठूलो भूमिका हुने बताए ।

शर्माले संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरू स्वायत्त रहेको भन्दै कसैले चाहेर पनि हटाउन नसक्ने बताए । उनले अभियानलाई केही व्यक्तिले मुट्ठीमा लिएर हिँडेको हुँदा त्यसको विरोधमा लडाइ रहेको बताए । ‘हाम्रो निरन्तर दबाबको कारण पोर्चुगलमा दूतावास स्थापना भएको छ भने इराकमा पासपोर्ट नवीकरणको लागि सरकारी टोली गएको छ,’ शर्माले भने ।

एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्त भएको र त्यो अनुसार नियमावली र कानुन बनाएर अधिकार प्राप्तिको लागि लाग्नु पर्ने बताए । सरकारले छानबिन समिति गठन गरेको र समितिको छानबिनपछि एनआरएनएको अन्योल हट्ने उनले आशा व्यक्त गरे । एनआरएनएकी निवर्तमान अध्यक्ष रविना थापाले गत २ वर्षे कार्यकालमा भएका उपलब्धिहरूको बारेमा जानकारी गराएकी थिइन् । सामाजिक काममा शर्माको नेतृत्व अगाडि बढ्न उनले सुझाव पनि दिइन् ।

संघका उपाध्यक्ष गंगाधर गौतमले गैरआवासीय नेपाली संघ चिराचिरा परेको भन्दै अब घर-घरमा संस्था दर्ता हुने स्थिति देखिएको बताए । उनले गैरआवासीय नेपाली अभियानमा जनसम्पर्क समितिहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै हाल ४६ वटा देशमा जनसम्पर्क समिति रहेको बताए । उनले गत अक्टोबरमा काठमाडौँमा आयोजित संघको ११ औँ महाधिवेशनमा ‘इलेक्सन’ नभएर ‘सेलेक्सन’ को नाटक मञ्चन गर्दै नतिजा प्रस्तुत गरिएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने भएकाले आरके शर्माको नेतृत्वमा नयाँ समिति गठन गरिएको बताए ।

एनआरएनए उपाध्यक्ष खगेन्द्र न्यौपानेले आफूलाई एउटा पक्षले विजेता घोषणा गर्दा पनि त्यो विधिसम्मत नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको र सत्य तथ्य बाहिर ल्याएर अभियानलाई अगाडि बढाउनुपर्ने बताए । संघका अर्का उपाध्यक्ष राज रेग्मीले आफूलाई नतिजामा जिताइएको भए पनि चुनावमा व्यापक कमजोरी देखिएको हुँदा आफूले शपथ नलिएको भन्दै सरकारले गठन गरेको छानबिन समितिको रिपोर्टको आधारमा अगाडि बढ्नुपर्ने र एनआरएनएको साखलाई बढाउनुपर्ने बताए ।

एनआरएनएका महासचिव बुद्धि सुवेदीले आफूहरूले स्वैच्छिक रूपमा सहयोग सङ्कलन गरी पश्चिम नेपालका भूकम्प पीडितहरूलाई दैलोमै पुगेर राहत वितरण गरेको तथा प्रवासमा बस्ने नेपाली र श्रमिकका मुद्दाहरूबारे नेपाल सरकारलाई जानकारी गराउँदै समस्या समाधान गर्न पहल गरेको जानकारी दिए । एनआरएनएका उपमहासचिव कृष्ण गिरीले चुनावी नतिजामा नियतवश गडबडी गरिएको र विसङ्गति देखिएको कारणले आफूहरूले विरोध गरेको बताए । एनआरएनएका सल्लाहकार तथा कतारबाट निर्वाचित महासमिति सदस्य विमल सुवेदीले भेरोले दिएको नतिजामा विगतमा पनि त्रुटि देखिएको हुँदा यसलाई स्वीकार गरेर अगाडि बढ्न नसकिने बताए । बालुवाटारको जग्गा विवादित भएको भनेर जान्दा जान्दै पनि किन्ने तत्कालीन पदाधिकारीहरू दोषी भएको सुवेदीले बताए । एनआरएनएका सल्लाहकार तथा नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आरके शर्मालाई आफूहरूले अध्यक्ष मानेको र उनको कार्यसमिति नै आधिकारिक भएको बताए ।

जनसम्पर्क समिति क्यानडाका सभापति तथा एनआरएनएका सल्लाहकार बुद्धिप्रकाश ओलीले सामाजिक मुद्दालाई अगाडि बढाउन सुझाव दिए । जनसम्पर्क समिति जापानका राजेन्द्र जमरकट्टेलले गैरआवासीय नेपाली संघ र जनसम्पर्क समितिले मिलेर काम गर्नुपर्ने सुझाव दिए । एनआरएनए एसिया प्याशिफिक संयोजक डिपी कँडेलले बोल्ड निर्णय गरेर अगाडि बढ्नुपर्ने बताए । जनसम्पर्क समिति जापानका सुवास लोहनीले सामाजिक कामहरू अगाडि गर्दै जाने र एउटै एनआरएन बढाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले एनआरएन अभियानमा बेथितिको अवस्था देखिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । एनआरएनएका युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटाले भेरोमा अनियमितता भएको र जग्गा नकिन्न भन्दाभन्दै पनि जबरजस्ती तरिकाले पहिला किनिएको बताए । उनले जग्गा किन्ने र भवन निर्माण गर्ने तत्कालीन जिम्मेवारी लिएका पदाधिकारी बाट उक्त रकम असुली गराउनुपर्ने बताए । उक्त भेटमा जनसम्पर्क समितिका सभापतिहरूसँग शर्मा नेतृत्वको एनआरएनएले बिर्हत छलफल गरेको थियो ।जनसम्पर्क समितिका प्राय सबै देशका सभापती र प्रवासमा रहेका महाधिवेसन प्रतिनिधीको उपस्थिति रहेको उक्त बैठकले एनआरएनका अध्यक्ष आरके शर्माको कार्यसमितीलाई पुर्ण समर्थन रहेको बताए ।