निषेधित क्षेत्र टोड्दै संसद् छिर्ने ४ दर्जन बढी पक्राउ

-- / प्रकाशित मिति : मङ्लबार, फाल्गुन १५, २०८०

काठमाडौं– पूर्व झापादेखि पश्चिम कञ्चनपुरबाट आन्दोलनका लागि काठमाडौं आएका लघुवित्त पीडितहरू प्रहरीको निषेधित क्षेत्र टोड्दै सोमवार नयाँ वानेश्वरस्थित संसद् भवन भित्र प्रवेश गरेका छन् । न्यायका सडक प्रदर्शन गरिरहेका लघुवित्त पीडितहरु संसद् भवन प्रवेश गरेपछि प्रहरीले चार दर्जन बढीलाई नियन्त्रणमा लिएको छ ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर, लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । संसद् भवनप्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त वानेश्वरमा राखिएको छ । उक्त घटनाबारे छानबिन गर्न समितिसमेत गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाइएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य रहेका छन् । यसरी संसद भवनभित्रै लघुवित्त पीडितहरु प्रवेश गरेपछि एकचोटि फेरि प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।