बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली प्रारम्भ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ४, २०८०

काठमाडौं– फागू पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो । फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौ तँलाछीका धालासिक्व मानन्धर समूहले बसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको सुरुवात भएको छ । विशेषगरी फागुको चीर धालासिक्व मानन्धर सनाः गू खल समाजले चीर ठड्याउँदै आएको समाजका महासचिव गजेन प्रसाद मानन्धरले जानकारी दिए ।

चीर बनाउँदा नितान्त जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व शुरु भएको मानिन्छ । आइतबार बिहान बसन्तपुरको हनुमानढोका अगाडि शुभसाइतमा नेपाली सेना, गुर्जुको पल्टनलगायतको सहयोगमा चीर ठड्याएको हो ।
काठमाडौं उपत्यकालगायत पहाडी भेगमा चैत ११ गते (मार्च २४) होली खेलेर फागु पर्व मनाइँदै छ भने तराई मधेशका विभिन्न जिल्लामा चैत १२ गते (मार्च २५) फागु पर्व मनाइने छ ।