नयाँ शक्ति नेपालको आय–व्यय विवरण सार्वजनिक

-- ?>

Naya shakti

काठमाडौं— शुक्रवार काठमाडौंको दशरथ रंगशालामा स्थापनाको घोषणा गरेको ‘नयाँ शक्ति नेपाल’ पार्टिले आज पार्टी स्थापना राष्ट्रिय भेलामा भएको आय-व्ययको विवरण सार्वजनिक गरेको छ । शुक्रवार भव्य समारोहलाई सम्बोधन गर्दै संयोजक बाबुराम भट्टराईले औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका थिए । तत्कालिन एमाओवादी पार्टी परित्याग गरेका भट्टराईले आर्थिक क्रान्तिको एजेण्डासहित नयाँ शक्ति नाम दिएर नयाँ पार्टी स्थापना गरेका हुन् । संयोजक भट्टराईले रंगशालामा आयोजित पार्टि घोषणा सभामा उपस्थित भएकाहरुलाई पार्टीको सदस्यको रुपमा सामूहिक सपथ पनि गराएका छन् ।

Naya shakti_1

पार्टिले मंगलबार सार्वजनिक गरेको आयव्यय विवरण अनुसार पार्टी स्थापना राष्ट्रिय भेलामा १ करोड ४ लाख १ हजार ८० रुपैयाँ खर्च भएको छ । सदस्यता शुल्क, प्रवेश शुल्क, सचिवालय सदस्य सहयोग, परिषद सदस्य सहयोग तथा चन्दाबाट १ करोड ६१ लाख ३७ हजार ३ सय रुपैयाँ आम्दानी भएको पार्टिले जनाएको छ । जस अनुसार ५७ लाख ३६ हजार रुपैयाँ बचत भएको पनि नयाँ शक्ति नेपाल पार्टीले जनाएको छ । पार्टीको लेखा शाखाकी सविना अर्यालका अनुसार सदस्यता शुल्क वापतको १ करोड ३ लाख २२ हजार १ सय ३५ रुपैयाँ भने उठ्न बाँकी नै छ ।
यसअघि अन्य राजनीतिक दलले कार्यक्रम गर्दा भएको आयव्ययको विवरण सार्वजनिक गर्ने गरेका थिएनन् । नयाँ शक्ति नेपालले भने आफूहरुले गर्ने आर्थिक गतिविधि पारदर्शी बनाउने दावी गर्दै आएको छ ।