आज चैते दशैँ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख ४, २०८१

काठमाडौं– आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ, शक्ति स्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ । चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ र दशैँको नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् । चैते दशैँका अवसरमा देवी भागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा पूजा अर्चना र दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशु बलिसहित पूजा गर्ने विधान पनि छ । वर्षमा चार वटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्व बढी रहेकोले आजका दिन देवीको आराधना गर्ने गरिन्छ ।

काठमाडौंमा भद्रकाली, गुह्येश्वरी, शोभा भगवती, नक्साल भगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रे पलाञ्चोकमा पलाञ्चोक भगवती, दोलखामा कालिञ्चेक भगवती, गोरखामा मनकामना, धादिङमा कोटका कालिका, बाँकेमा बागेश्लवरीलगायत देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरु पुग्ने गरेका छन् ।
चैते दशैँका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलवार गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान सार्वजनिक बिदा दिइएकाले उक्त निकायहरु बन्द रहनेछन् । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो ।