बालयोग प्रतियोगिता सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ १२, २०८१

सिड्नी, अष्ट्रेलिया / बिगत केहि बर्ष देखि बालबालिकालाई योग कक्षा मार्फत् संस्कार, संस्कृति र स्वास्थ्य सम्बन्धी शिक्षाको वातावरण र अवसर प्रदान गर्नको लागि संचालित बालयोग कक्षा अन्तर्गत स्थानीय पारामाटा पार्कमा गत अगस्त १० शनिवारका दिन बालयोग प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात नेप्लिज कम्युनिटी इन सिड्नीका निवर्तमान अध्यक्ष डा. बद्री प्रसाद भट्टराईको श्रीगणेश मन्त्रोच्चारणबाट भयो भने वर्तमान अध्यक्ष शंकर श्रेष्ठले मन्तव्य मार्फत दर्शक तथा सहभागीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित मध्ये जेष्ठ-वरिष्ठ भगवद्भक्त योगी डा. राम चन्द्र अधिकारीले बत्ति बालेर योग कार्यक्रमको उद्घाटन गर्नुभएपछि सहभागीलाई बिशेष शास्त्रिय प्राणायामको अभ्यास गराउनुभएको थियो।

कार्यक्रमका संयोजक डा. शोभा नेपालीले बालयोगका महत्वपूर्ण वैज्ञानिक र अनुसन्धानात्मक तथ्यहरु प्रस्तुत गर्दै बालबालिकालाई ५ देखि १२ बर्ष भित्रमा योग र सत्संग गराउनुपर्नेमा जोड दिनुभयो । जन्म देखि बाह्र बर्षसम्म डेल्टा, थेटा, अल्फा र बेटा वेभमा मनको गति परिवर्तन हुँदै जाने र यतिबेलासम्म दायाँ दिमाग बढी चल्ने हुनाले नानीबाबुहरु कम सोच्ने र खुशी बढी हुने तर बाह्र बर्षपछि बेटा वेभले मन चन्चल बनाउने र बायाँ मस्तिस्क बढी चल्न शुरु भएर मनमा नकारात्मक कुरा बढ्न जाने हुँदा यो समयभित्रै यौगिक व्यायाम, प्राणायाम र ध्यान गराउँदा मनलाई स्थिर राख्न र शारीरिक, मानसिक, सामाजिक स्फूर्ति बढाउन सहयोग पुग्ने र दायाँ मस्तिस्कलाई क्रियाशील राखी जीवनमा आइपर्ने कठिनाई सँग सजिलै जुध्न समर्थ हुने हुँदा अरु धेरै क्रियाकलापलाई थाती राखेर भएपनि नानीबाबुहरुलाई योग र सत्संगमा प्रोत्साहन गर्नुपर्ने विषयमा डा. नेपालीले थप प्रकाश पार्नुभयो।

बालयोग प्रतियोगी नानीबाबुहरु मध्येबाट शुद्धसँग मन्त्रोच्चारण र लचकतासाथ योग गर्नुहुने नानी आरियाना नेपाल, शुरुवात देखि हालसम्म अनवरत रुपमा हाजिर भई योग गर्नुभएका बाबु आश्रभ बोगटी, कार्यक्रममा हनुमान स्तोत्र कण्ठस्थ सुनाउनुहुने बाबु आर्चिज कँडेल, नेपालबाट लगातार ६ महिना दैनिक योग सिकेर यहाँ बालयोग शुरु गर्न सहयोग गर्नुभएकी नानी पेरिस पुरी, शुरुवाती दिनहरुमा योग सिकेर लचकता हासिल गर्नुभएकी नानी सारा सुबेदी, योगबाट शारीरिक र मानसिक स्थिरताको शिक्षा पाउनुभएका बाबु एवल श्रेष्ठ, योगासनहरु ठीक तरिकाले गर्नुहुने नानी आर्या शाही र योग सिक्न उत्सुक नानी सोफी भट्टराई जेष्ठ-बरिष्ठ भगवद्भक्त नीलकण्ठ बस्ताकोटीबाट पुरस्कृत हुनुभयो ।

कार्यक्रमको सम्पन्न गर्नका लागि आयोजक समिति सदस्य कौशिला शाही, बरिष्ठ योगीहरु बसुन्धरा ढुंगेल, सुलोचना पोख्रेल, पुष्पा दाहाल र जानुका चौधरी लागायतले गर्नुभएको सहयोग अतुनलिय रहयो । यसै गरि उपस्थित सबैले आफ्नो र परिवारको तर्फबाट स्वादिष्ट, सात्विक र स्वास्थ्यवर्द्धक परिकारहरु खुशीसाथ पकाएर ल्याएर पस्किनु भएको थियो । अझ रोमा आले लागायतका योगानुरागी परिवारले त आफु उपस्थित हुन असमर्थ हुँदा समेत पकाएर पठाई खानेकुरा पूर्ण सहयोग गर्नु भएको थियो । इस्कोनका अनन्य भगवद्भक्त राजु कँडेल, सृष्टि सापकोटा र अन्य पदाधिकारीहरुले उपस्थित सबैलाई निशुल्क: श्रीमद्भगवद्गीता वितरण गरी परमतत्व ज्ञान बाँड्नुभयो । पतन्जलि योग समिति चितवनका महामन्त्री तथा विश्व हिन्दू महासंघ अष्ट्रेलियाका महासचिव लेखनाथ बाँस्तोलाबाट उच्चारित शान्तिमन्त्रबाट कार्यक्रमको समापन भएको थियो ।

हर्षोल्लासपूर्वक सम्पन्न भएको कार्यक्रममा शुरु देखी अन्त्यसम्म उत्साहजनक उपस्थितिका साथै एकार्कासँगको आत्मीयता, असीम प्रेम र सद्भाव प्रष्ट देखिन्थ्यो । कार्यक्रमका सहभागीहरू ले बालयोग बालबालिकाको चौतर्फी विकासको लागि अत्यावश्यक भएकोले यस किसिमको कार्यक्रम भविष्यमा पटक पटक आयोजना गर्नुपर्ने भनेर सल्लाह दिनुभएको थियो। आयोजक योगीहरुले योग गर्ने र स्वस्थ रहने कर्तव्य र अधिकार सबैको भएकोले आफु र आफ्ना इष्टमित्र तथा नानीबाबुहरुलाई हरेक शनिवार अनलाइन योगमा जोड्न जोडिन आग्रह गर्नुभयो ।