लोक गीतमार्फत आए कमल मान सिंह

-- ?>

Kamal Man Singh_4

काठमाडौं— चार दशकअघि रेकर्ड गरिएको एउटा लोकगीत असाध्यै लोकप्रिय थियो । ‘यो माया तिम्रै हो…’ बोलको पुरानो गीत त्यो बेला असाध्यै लोकप्रिय मानिन्थ्यो । बिडम्बना, उक्त गीतका गायक लोकबहादुर क्षेत्री अहिले हामीमाझ छैनन् । उनै दिवंगत संगीतकर्मी क्षेत्रीलाई पुन: जीवन्तता प्रदान गर्न गायक कमल मान सिंह यतिबेला अघि सरेका छन् । लोकबहादुरका छोरा रोहित क्षेत्रीको अनुमति लिएर गायक कमल मान सिंहले चालिस वर्षअघिको सोही गीतलाई आफ्नो स्वरमा रि–रेकर्ड तथा रिमेक गरेर सार्वजनिक गरेका छन् । रिमेकका लागि दिनेश कर्माचार्यले पनि कमल मान सिंहलाई प्रसस्त सहयोग गरेका छन् ।
पप तथा आधुनिक शैलीका गीत गाएर लोकप्रिय भएका गायक कमल मान सिंहको स्वरमा पुन: रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियो नै तयार पारिएको छ । यूट्युबमार्फत हालै सार्वजनिक गरिएको उक्त गीतले कम समयमै दर्शकको मन जित्न सफल भएको छ ।

गीत रि–रेकर्ड गरेर सुन्दा उत्कृष्ट परिणाम आएपछि कमल मान सिंहले यो गीतको म्युजिक भिडियो निर्माण गर्ने निर्णय गरेका हुन् । नायिका सम्पदा बानियाँ, अभिनेता माधवप्रसाद त्रिपाठी, गायक कमल मान सिंहसहित अन्य तीन जना कलाकारको आकर्षक नृत्यसहितको उक्त गीतको भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् । स्व.लोकबहादुर क्षेत्रीकै संगीतको यो गीतका शब्द संकलक दिलबहादुर बस्नेत हुन् । रिमेक गरिएको गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन् । निशान घिमिरेद्वारा सम्पादित यो गीतको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन् ।

करिव दुई दशकदेखि पप तथा आधुनिक संगीत क्षेत्रमा क्रियाशिल गायक तथा संगीतकार हुन् कमल मान सिंह । ‘पर्खाइको पीडा…’, ‘ओ कति मीठो माया…’, ‘ए काली…’, ‘आकाश रुँदा’, ‘सकिन…’ सहित थुप्रै लोकप्रिय गीत दिइसकेका गायक कमल मान सिंहले चार दशकअघिको लोकभाकाको गीतलाई रिमेक गर्नुलाई चुनौतीको रुपमा समेत लिएको बताएका छन् । अहिले बजारमा चर्चामा रहेका लोक भाकाका गीतभन्दा यो गीतलाई स्रोताले रुचाउन थालेको कमल मान सिंहको अनुमान छ । ‘गीत–संगीत कहिले पनि पुरानो हुँदैन, कमल मान सिंह भन्छन्—‘४० वर्ष अघिको गीत भएपनि यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ, अहिलेका गीतको तुलनामा यो थप शसक्त छ ।’

यस्तो छ भिडियो :

https://youtu.be/z6NuvHT0UKU