उपप्रधानमन्त्रीलाई कारवाही हुनु पर्ने माग

-- ?>

Parliament

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाल काँग्रेसले संविधान विपरीत अभिव्यक्ति दिने उपप्रधानमन्त्रीद्वय कमल थापा तथा चित्रबहादुर केसीलाई बर्खास्त गर्न माग गरेको छ । आज मंगलबारको संसद बैठकमा विशेष समय माग गर्दै नेपाली काँग्रेसका नेताद्वय रामहरि खतिवडा तथा अर्जुनप्रसाद जोशीले संविधान कार्यान्वयन गर्नुपर्ने बेला त्यसका विरुद्ध अभियान चलाउने मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्रीसंग माग गरेका हुन् ।
सांसद खतिवडाले संविधानअनुसार सपथ खाने अनि त्यही संविधानविरुद्ध अभिव्यक्ति दिन मिल्छ ? भन्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्ने हो भने उपप्रधानमन्त्रीद्वयलाई तत्काल पदबाट मुक्त गर्नु पर्ने माग राखे ।
उपप्रधानमन्त्री कमल थापाको पार्टी राप्रपा नेपालले हिन्दु धर्म र राजसंस्था पुनस्स्थापित हुनुपर्ने तथा अर्का उपप्रधानमन्त्रीले चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध अभियान चलाइ रहेको छ ।
सरकारले संविधान जारी गर्ने पूर्वराष्ट्रपतिलाई अपहेलना गरेको तर संविधानविरुद्ध अभियान चलाउने मन्त्रीलाई पक्षपोषण गरेको कांग्रेसको आरोप छ । राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापाले पूर्व मुमाबडामहारानीलाई ‘श्री ५ मुमाबडामहारानी’ सम्बोधन गरेर ट्वीट समेत गरेका थिए ।