फेन्का (FeNCAA) को १० औं वार्षिकोत्सव सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य गर्न संस्थागत  भएका संघ संस्था लाई गोलबन्द गर्दै ति संघ संस्था हरु को प्रतिनिधित्व गर्दै  आपसी समन्वय र सशक्तिकरण गर्ने उद्देश्य राखेर ९ अप्रिल २०१५ मा गठन भएको नेपाली सामुदायिक संस्थाहरु को महासंघ फेन्का (FeNCAA) ले आफ्नो १० औं वार्षिकोत्सव गत ९ अप्रिल २०२५ मा भर्चुअल माध्यमबाट सफलताका साथ सम्पन्न गरेको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा दर्ता भएको फेन्का एक गैरराजनीतिक, गैर-भेदभावपूर्ण, गैर-नाफामुखी र गैर-धार्मिक स्वैच्छिक सामुदायिक संस्था हो जुन नेपाली समुदायको कल्याण र कल्याणकारी कार्यहरुमा समर्पित छ।  विशेष गरेर अष्ट्रेलियाको संघिय सरकारसंग सोझै समन्वय गर्न सक्रिय फेन्कामा हालसम्म अष्ट्रेलियाका सबै राज्य र क्षेत्रहरूका ९५ नेपाली संस्थाहरूको प्रतिनिधित्व रहेको छ ।

नेपाली र अष्ट्रेलियाको राष्ट्रिय गानबाट शुरु गरिएको सो कार्यक्रममा विभिन्न नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु र समुदायका सदस्यहरू, सामाजिक अभियन्ताहरू, साझेदार संस्थाहरू, प्रायोजकहरू, स्वयंसेवकहरू, विगत र वर्तमान फेन्का कार्यकारी समितिका सदस्यहरू, सल्लाहकारहरू र संरक्षक परिषद्का सदस्यहरुको उपस्थिति थियो। कार्यक्रममा फेन्काका अध्यक्ष बोम योञ्जनले संस्थाको १० बर्षे यात्राको उपलब्धिहरुको विवरण पेश गर्नुका साथै बृस्तितमा समिक्षा एवं विवेचना समेत गरेका थिए । उनले आगामी वर्षहरुमा फेन्काले समुदायको लागि थप कार्यक्रमहरु अझ प्रभावकारी रुपमा एकताबद्ध र संस्ठागत गर्दै जाने बारे प्रतिबद्धता समेत प्रकट गरे ।

कार्यक्रमको प्रमुख अतिथि अष्ट्रेलियाका लागि महामहिम नेपाली राजदूत चित्रा लेखा यादवले फेन्काको कार्य विवरणहरुको आधिकारिक जानकारी गराउने उद्देश्यले प्रकाशित न्यूजलेटरको लोकार्पण गरेकी थिईन । उनले आफ्नो मन्तव्यमा फेन्काले छोटो समयमा अष्ट्रेलियाको संघिय सरकारसंग गरेको समन्वय र सहकारीको मुक्तकण्ठले प्रसंशा गर्दै नेपाली संघसंस्थाहरु लाई जोडेर अष्ट्रेलियामा रहेका नेपालीहरुको लागि शिक्षा, स्वास्थ्य, नेपाली भाषा, कला र संस्कृतिको पहिचान र जगेर्नामा गर्दै आएको कार्यहरुको निरन्तरतामा जोड दिन र प्रभावकारी भूमिका खेल्न समेत आग्रह गरिन । त्यसै गरि साउथ अष्ट्रेलियाका नेपाली कन्सुलर दीपक धमलाले फेन्काले गरेका उपलब्धीहरुलाई प्रसंशनीय भएको बताउदै नेपाली कन्सुलेट अफिससंग समन्वय गरेर फेन्कासंग मिलेर काम गर्न आफू अग्रसर रहेको बताए।

नेपाली समुदायका अग्रज, सामाजिक अभियन्ता एवं परिकल्पनाकारहरु डा नारायण प्रधान, ईन्द्रा वन, डा राजु अधिकारी, डा कृष्ण हमाल, बिष्णु हमाल, आङ्दावा शेर्पा र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल लगायत अन्य सल्लाहकार र संरक्षक परिषद्का सदस्यहरू ले फेन्काको योगदानलाई स्मरण गर्दै आगामी वर्षहरू मा फेन्काले नेपाली संघसंस्थाहरुको निरन्तर सहकार्यलाई प्रोत्साहित गर्नु पर्ने विचार राख्दै आफ्ना शुभकामना मन्तव्य ब्यक्त गरे।

कार्यक्रममा फेन्काको १० बर्षे यात्राको उपलब्धिहरुको श्रब्यदृश्य प्रस्तुत समेत गरिएको थियो । अन्तमा फेन्का सचिव डा प्रकाश पौडेलले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरु, सहभागीहरू सामुदायिक संस्थाका अध्यक्ष एवं प्रतिनिधि सदस्यहरू, प्रायोजकहरू, स्वयंसेवकहरू, विगत र वर्तमान समितिका कार्यकारीहरू, सल्लाहकारहरू, र संरक्षक परिषद्का सदस्यहरुलाई कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा विशेष आभार एवं धन्यवाद ज्ञापन गरेको थिए । संस्थाका अध्यक्ष बोम योञ्जनको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन संस्थाका महासचिव कपिल पाण्डेले गरेका थिए। यसैगरि संस्थाका प्रबक्ता भोला गिरिले प्रेस सम्प्रेसण गरेका थिए।