‘कार्की साईँला’ को शुभमुहुर्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै शुभ मुहुर्त गरिएको छ । शुभ मुहुर्तमा यो फिल्मका मुख्य कलाकार जितु नेपाल तथा वर्षा सिवाकोटीले मुहर्त सट दिए । मुहुर्त समाारहेमा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल, क्यामेराको स्वीच अन डम्बर बहादुर राईले गरेका थिए । निर्माता तथा कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए ।

कर्ण बहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गर्दैछन् । यो फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई निर्माता रहेको यो फिल्ममा द्वन्द निर्देशन राजु किराँतीको, संगीत बाबुल गिरीको, नृत्य निर्देशन कमल राईको छ भने फिल्ममा गीतकार तथा मुख्य सहायक निर्देशक जिवननाथ गौतम तथा पटकथा–सम्वाद अजित लामिछानेको रहने छ ।

यो फिल्ममा जितु तथा वर्षासंगै गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ आदि कलाकारले अभिनय गर्दैछन् । यो फिल्मले ग्रामीण जीवनको कथा भन्ने छ । भुइँ मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् । फिल्मका मुख्य पात्र एक भरिया हुन् । यो फिल्म आगामी वैशाख २० गतेदेखि धनकुटा जिल्लाको विभिन्न स्थानमा छायांकन गरिने छ । यो फिल्मका लागि अन्य केहि कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माण पक्षले बताएका छन् ।