अर्काे बर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरकाे बुद्ध जयन्ती मनाउने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् । बुद्ध पूर्णिमाको अवसरमा सोमवार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटनपछि प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् । प्रधानमन्त्रीले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै थपे– ‘बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन् । झण्डै झण्डै भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको थियो । हामीले संयमित हुन आग्रह गर्‍यौँ । बुद्धका शान्तिका सन्देशहरू अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक छन् ।’

प्रधानमन्त्रीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे । ‘बुद्धका उपदेश छन, शान्तिका उपदेश छन्, मानवताका उपदेश छन्, करुणाका उपदेश छन् । यी सबैलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्छ’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

बुद्धको सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उहाँले बुद्ध दर्शन, बुद्धका सिद्धान्त र ऐतिहासिक महत्त्वका बारेमा खुलेर चर्चा गरे । प्रधानमन्त्रीले भिक्षु आनन्दप्रति आभार प्रकट गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखी लिपिबद्ध रूपमा सुरक्षित राखिएको स्मरण गरे । त्रिपिटकको पहिलो लिपि म्यूजियममा अझै रहेको जानकारीसमेत दिए ।

प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । हिंसाबाट टाढा रहन र मैत्रीभाव तथा करुणाको विकास होस् भन्ने उद्देश्यले काम गरिएको उनको भनाइ थियो ।