नेपाली रेडियोकर्मी अष्ट्रेलियामा पुरस्कृत

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

मेलबर्न– अष्ट्रेलियामा नेपाली भाषाको रेडियो कार्यक्रम निर्माण तथा प्रस्तुत गर्दै आएका सञ्चारकर्मी प्रदीप तिमिल्सिना राजधानी क्यान्बेरामा आयोजित एक समारोहमा पुरस्कृत भएका छन् । क्यान्बेराको एफएम ९१.१ मा नेपाली भाषाको रेडियो कार्यक्रम निर्माता तथा कार्यक्रम प्रस्तोता तिमल्सिनालाई अष्ट्रेलियाको भाषा–भाषिहरुको प्रसारक छाता संगठन नेशनल इथ्निक एण्ड मल्टिकल्चरल काउन्सिल अफ अष्ट्रेलिया एनएमबिसि द्वारा हरेक वर्ष प्रदान गरिने कम्युनिटी इम्प्याक्ट अवार्ड–२०२५ बाट पुरस्कृत गरेको हो ।

अष्ट्रेलियामा यो वर्ष विभिन्न आठ विधाबाट ५१ जना रेडियोकर्मीहरु मनोनित भएका थिए, तीमध्ये नेपाली सञ्चारकर्मी तिमल्सिना इनोभेटीभ मल्टिकल्चरल प्रोग्राम, बेष्ट इथ्निक प्रोग्राम अफ द एयर तथा कम्युनिटी इम्प्याक्ट गरि तीन विधामा मनोनयनमा परेका थिए ।

प्रदीपले उत्पादन गरेका कार्यक्रमहरु अष्ट्रेलियाली सञ्चारविदहरुले मूल्यांकन गरि ती सामाग्रीहरुको गुणस्तरियता, दर्शक–श्रोताको प्रतिक्रिया तथा उनका सामग्रीहरुले अष्ट्रेलियाली बहुसाँस्कृतिक समुदायमा पुर्याएको सकारात्मक प्रभावका आधारमा शनिवार मेलबर्नमा आयोजित एक कार्यक्रममा बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।

तिमल्सिनाले यो पुरस्कारले आफूमा अझै थप जिम्मेवारी थपिएको र समूदायप्रति अफू अझ कर्तव्यनिष्ट हुने बताएका छन् । तिमल्सिना सन् २००८ मा अष्ट्रेलिया आएदेखि नै अष्ट्रेलियाको सामुदायिक रेडियोसंग आवद्ध छन् । उनले सिड्नीको च्यास्उडस्थित नर्थ सोर रेडियोमा छ वर्ष तथा क्यान्बेरामा विगत एघार वर्षदेखि नेपाली भाषाको रेडियो कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन् । उनले टेलिभिजन सिड्नीमा नेपाली कार्यक्रम पनि सञ्चालन गरेका थिए ।

रेडियो कार्यक्रम सञ्चालन तथा निर्माणबाहेक तिमिल्सिना सामुदायिक गतिविधिमा पनि उत्तिकै सकृय रहँदै आएका छन् । उनी नेशनल इथ्निक एण्ड मल्टिकल्चरल काउन्सिल अफ अष्ट्रेलिया र कम्यूनिटी मेडिया ट्रेनिङ अर्गनाईजेशन अष्ट्रेलियाको कार्यकारी निर्देशक अनि अष्ट्रेलियाली सरकारको सञ्चार मन्त्रालय मातहतको कम्यूनिटी ब्रोडकास्टिङ फाउन्डेशनको आर्थिक अनुदान मूल्यांकनकर्ता पनि हुन् । उनका सबै सामूदायिक सक्रियता निस्वार्थ र स्वयंसेवी हो । पेशाले उनि रजिष्टर्ड नर्स हुन् भने हाल क्यान्बेरा अस्पतालको मानसिक स्वास्थ्य विभागमा क्लिनिकल म्यानेजरका रुपमा कार्यरत छन् ।