नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टी अध्यक्ष बन्न सफल भएका हुन् । महाधिवेशनको अन्तिम मतपरिणाम अनुसार ओलीले पोखरेललाई १ हजार ९९ मतको अन्तरले हराएका हुन् । लगातार तीन महाधिवेशन जित्दै ओलीले अध्यक्ष पदमा ‘ह्याट्रिक’ पूरा गरेका छन् ।

यसअघि २०७१ साल असारमा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नवौँ महाधिवेशनमा ओली तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा ओलीले १ हजार ४७ मत प्राप्त गर्दा नेपालले १ हजार ३ मत पाएका थिए ।

२०७८ साल भदौमा एमाले विभाजनपछि चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । तर पूर्व उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिएपछि मतदान भएको थियो । उक्त निर्वाचनमा ओलीले १ हजार ८३७ मत प्राप्त गर्दा रावलले २२३ मत पाएका थिए । २०७१ सालदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि अध्यक्षकै भूमिकामा थिए ।

को हुन् ओली ?

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष ओलीको जीवन संघर्षपूर्ण छ । उनको वास्तविक नाम खड्गप्रसाद ओली हो । राजनीतिमा उनी ‘केपी ओली’ नामले परिचित छन् । समर्थकहरूले उनलाई प्रेमपूर्वक ‘केपी बा’ भनेर सम्बोधन गर्छन् । २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मिएका ओली सामान्य पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् । उनका पिता मोहनप्रसाद ओली ज्योतिषी हुन् । सानै उमेरमा आमाको निधन भएपछि उनी हजुरआमा राममाया ओलीको संरक्षणमा हुर्किए । जेनेजी आन्दोलनका क्रममा बालकोटस्थित निवास क्षति भएपछि उनी हाल श्रीमती राधिका शाक्यसँग भक्तपुरको गुन्डुमा बस्दै आएका छन् । एसएलसीसम्म अध्ययन गरेका ओली नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा परिचित छन् । उनी २०७२, २०७४, २०७८ र २०८१ मा गरी चार पटक प्रधानमन्त्री भइसकेका छन् । रुखो र स्पष्ट अभिव्यक्तिका कारण उनी बेलाबेला विवादमा पनि आउने गरेका छन् ।

राजनीतिक यात्रा

२०२३ सालमा मार्क्सवादी अध्ययन दलबाट राजनीतिक प्रशिक्षण लिएका ओली २०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध विद्यार्थी संगठनमा आबद्ध भए । २०२६ सालमा पार्टी सदस्यता पाएपछि उपसचिवको जिम्मेवारी सम्हाले । २०२९ सालमा उनी झापा आन्दोलन कमिटीका प्रमुख बने । चर्चित झापा विद्रोहका प्रमुख नेतामध्ये ओली एक हुन् । १७ वर्षको उमेरमै वामपन्थी आन्दोलनमा सक्रिय भएका उनी २२ वर्ष नपुग्दै १४ वर्ष जेल जीवन बिताउन बाध्य भए । २०२७ फागुन १६ गते पहिलोपटक झापाबाट गिरफ्तार भएका ओली पटक–पटक गरी १० भन्दा बढी पटक पक्राउ परे । उनले रौतहट, वीरगञ्ज, काठमाडौं, नख्खु, पोखरा, स्याङ्जा लगायतका जेलमा लामो समय बिताए । अन्ततः २०४४ असार ११ गते भद्रगोल जेलबाट रिहा भएका थिए ।

खुला राजनीति र पार्टी भूमिका

जेलमुक्त भएपछि २०४७ जेठ १ गते उनले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्षको भूमिका निर्वाह गरे । २०४९ देखि २०७१ सम्म उनी एमाले स्थायी कमिटी सदस्य रहे । २०४६ को जनआन्दोलनमा संयुक्त वाममोर्चाको तर्फबाट लुम्बिनी अञ्चलको नेतृत्व गरेका ओलीले २०४९ को पाँचौँ महाधिवेशनमा मदन भण्डारीसँग मिलेर जनताको बहुदलीय जनवाद ९जबज० निर्माणमा महत्वपूर्ण भूमिका खेले । २०५९ सालको सातौँ महाधिवेशनमा उनले कम्युनिष्ट पार्टीको लोकतान्त्रीकरण सम्बन्धी वैचारिक प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई हाल अन्य दलहरूले समेत अंगीकार गरेको उनी दावी गर्छन् ।

संसदीय यात्रा

२०२६: एक वर्षमै १० पटक पक्राउ
२०५१: गृहमन्त्रीमा नियुक्त
२०५६: संसदीय दलको उपनेता
२०६३: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री
२०७०: एमाले संसदीय दलको नेता
२०७२: प्रधानमन्त्रीमा निर्वाचित
२०७४: दोस्रो पटक प्रधानमन्त्री निर्वाचित
२०७८: तेस्रो पटक प्रधानमन्त्री
२०७८: पुनः पार्टी अध्यक्ष निर्वाचित
२०८१: चौथो पटक प्रधानमन्त्री

ओलीले प्रतिनिधिसभा, संविधान सभा, मन्त्रिपरिषद् तथा विभिन्न आयोग र समितिमा रहेर नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिएका छन् ।