एएनएको ३३औँ अधिवेशनमा जर्जियाको एटलान्टामा शुरु

-- / प्रकाशित मिति : आइतवार, असार १९, २०७३

अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको ३३औँ अधिवेशनमा जर्जिया राज्यको एटलान्टामा शुरु भएको छ । कार्यक्रममा नेपालबाट काँग्रेसका नेता गगन थापा र एमालेका रविन्द्र अधिकारीको सहभागिता रहेको छ ।
नेता थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै हामीले योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन । उनले प्रवासमा रहेका नेपाली चाहे अमेरिका, युरोप, अस्ट्रेलिया जहाँ भए पनि सबैलाई देश विकासका लागि साझेदार बनाउँदै लैजानुपर्ने विचार राखे । त्यसैगरी एमालेका नेता रवीन्द्र अधिकारीले एकपटक भोट हालेर चुप लागि बस्नेभन्दा सदैव जागरुक नागरिक आजको आवश्यकता छ भन्दै देश विकासको अभियानमा सबैलाई जागरुक हुन अनुरोध गरे ।
युवा नेता अधिकारीले नेपालको विकासका लागि योजनाबद्ध विकास बनाएर देश विदेशमा भएका सबैलाई विकासको अभियानमा समाहित पार्दै लैजानुपर्ने आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा भूकम्प गएको समयमा नेपालीले र्पुयाएको सहयोगको स्मरण गराउँदै सहयोग गर्न सकिने अन्य क्षेत्रको समेत पहिचान गरी अघि बढ्नुपर्ने बताए । कार्यक्रममा अमेरिकामा बस्ने ठुलो सख्याका नेपालीहरुको उपस्थिति रहेको छ ।
आजबाट सुरु भएको तीनसम्म चल्ने सम्मेलनमा विभिन्न साँस्कृतिक र खेलकुद कार्यक्रमसमेत रहेका छन ।
पछिल्लो समय अमेरिकामा नेपालीहरुको सख्या बढेसंगै विभिन्न समुह र संगठनहरुले गर्ने कार्यक्रमहरुको संख्यामा निकै बढोत्तरी हुँदै गएको छ । अमेरिकामा रहेका नेपालीहरुको अनुमानित ५ सय भन्दा बढी विभिन्न नामका संघसंस्थाहरु रहेको बताईन्छ । तिनिहरुको हप्ते बिदाको सहित कार्यक्रमहरु जोड्ने हो भने त कति कार्यक्रमहरु हुन्छन त्यसको कुनै लेखाजोखा नै हुँदैन तर पनि केहि ठुला भनिएका संस्थाहरुको पनि कार्यक्रम गर्ने होडबाजीले यतिखेर नेपालीहरुको हप्ते बिदा व्यवस्थापन गर्न हम्मे हम्मे पर्न थालेको छ । आगामी तीन महिनामा गैरआवासिय नेपाली संघदेखि नासा, एन्मा, एएनए, नेपाली अमेरिकन सम्मेलन, नेपाल एक्चिविसन एण्ड ट्रेड सो जस्ता ठुला कार्यक्रम गर्ने होडाबजी नै चल्न थालेको छ । त्यसमा पनि नेपालमा भएका राजनीतिक दलहरुको शाखा र जातीय एवं क्षेत्रिय संस्थाहरुको पनि नियमित जसो कार्यक्रमहरु हुने गरेका छन । यस्ता खाले कार्यक्रमहरुबाट एकातिर नेपाली समुदायहरुबीच अन्र्तक्रिया हुने र समुदायमा एकता कायम हुनेत छंदैछ तर प्रवासमा राजनीति गर्ने फोहोरी चलनले अलि बढी ग्रसित हुँदै गएको आरोप लाग्न थालेको छ ।
नेपाली समुदायको साझा संस्थाको रुपमा स्थापित एनआरएनको विश्व क्षेत्रिय भेला आगामी अगष्ट्र २७ र २८ न्यूजर्सिमा हुँदैछ । त्यसको तयारी धमाधम भैरहेको र केहि व्यवस्थापकिय कार्यहरु बाँकी रहेको एनआरएनका क्षेत्रिय सहसंयोजक एसी शेर्पाले बताए । तयारीका लागि एनआरएन अमेरिका, क्यानडा र क्षेत्रिय समिति दिनरात खटिरहेका छन । विश्वभरीबाट सम्मेलनमा गैरआवासिय नेपालीहरुले सहभागीता जनाउनेछन । सो क्षेत्रिय सम्मेलनको अर्को मुख्य आकर्षण प्रमुख अतिथिका रुपमा अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटबाट उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई आमन्त्रण गरिएको छ । यद्यपि आउने निश्चित भएको छैन । कार्यक्रमका लागि यसैगरी एन्मा नासाको सयूक्त १२ औ सम्मेलन सेप्टेम्बर २ देखि ४ मा सेन्ट लुईस मिजौरीमा हुँदैछ । तयारीका लागि खटिएका बलराम पन्थि, विमल नेपाल र शुसिल शर्माले नेपालीहरुको बृहत कार्यक्रम भएकोले अमेरिकामा रहेका नेपालीहरुलाई सहभागीताका लागि संयूक्त आव्हान गरेका छन । उता नेपालीहरुले खोलेको संस्था नासाको २५ बर्ष पुरा भएकोमा रजतजयन्ती मनाउने कार्यक्रम पनि अक्टोबर पहिलो हप्ता तय भएको र तयारीका विविध कामहरु भैरहेको नासाका महासचिव तथा तयारी समितिका सदस्यसचिव शिब विष्टले बताए ।
त्यसैगरी प्रथम नेपाली अमेरिकन सम्मेलन जुलाई २ देखि ४ मा लसएन्जलसमा हुँदैछ । सो कार्यक्रममा विविध खेलकुददेखि भाषा संस्कृति एवं प्रतियोगितात्मक कार्यक्रमहरु हुनेछन । वल्ड विजनेस मेनेजमेन्ट एण्ड कन्सल्टेन्टले नेपाल एक्चिविसन एण्ड बिजनेस ट्रेड सो सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म न्यूयोर्कमा हुने भएको छ । त्यसमा नेपालबाट व्यापारी तथा व्यवसायीहरु आउने कार्यक्रम रहेको छ । एएनए कन्भेन्सनमा नेपथ्य ब्याण्ड आएका छन भने नासा एन्माको संयूक्त सम्मेलनमा पनि नेपालको चर्चित ब्याण्ड १९७४ एडी आउने निश्चित भएको छ । यस्ता कार्यक्रमहरुमा स्थानीय तहमा रहेका नेपाली कलाकार र नेपालबाट अतिथिका रुपमा अन्य कलाकारहरु पनि बोलाउने पुरानै चलन हो । यसबाट विदेशमा रहेर परिबारबाट टाढा रहेका नेपालीहरुले व्यस्त समयका बावजुद मनोरन्जन प्राप्त गर्नेछन । यी यस्ता कार्यक्रहरु धेरै नेपाली समुदाय समावेस भएको संस्थाहरु हुन तर हप्तैपिच्छे हुने साना र सामुदायिक कार्यक्रमहरुको कुनै लेखाजोखा नै छैन । यसले नेपाली समुदाय धेरै भएको राज्यहरुमा नेपाली गाउँ नै बनेको छ । त्यसको ताजा उदाहरण हो मेरिल्याण्डमा ड्राईभर लाईसेन्सको जाँच दिनु पर्दा अब नेपाली भाषामा पनि दिन पाईने व्यवस्था स्थानीय सरकारले गरेको छ । नेपालीहरुको जनसख्या बढेपछि स्थानीय सरकारले त्यो व्यवस्था गरेको बताईएको हो ।