समुदायलाई जोड्दै गोर्खा नेप्लिज कम्यूनिटी

व्यस्त जीवन, धेरै आफ्नोपन छुटेर पराईपनमा रमाउनु पर्ने बाध्यता, नेपालीत्व नाताले गाँसिएको परदेशको सम्बन्ध यसैमा हाम्रा कला संस्कृति रहन सहन र चाडवाड सहित आफ्नोपन बचाउनु पर्ने हाम्रो कर्तब्य । यहि र यस्तै सेरोफेरोमा आज भन्दा २० वर्ष अगाडि विदेशी भूमिमा त्यो पनि स्वत: स्फूर्त जन्मिएको थियो । नेपालीहरूको तत्कालिन अवस्थाको साझा र अभिभाबक संस्था गोर्खा नेप्लिज कम्यूनिटी ( जिएनसी) । सन् १९९५ मा त्यति बेला सानो संख्यामा रहेका विद्यार्थी, प्राज्ञिकबर्ग, सैनिक पृष्ठभूमिका नेपालीहरूको सानो समुहको रुपमा उदाएको थियो जिएनसी जुन अष्ट्रेलियाको नियम अनुसार १९९६ मा न्यु साउथ अष्ट्रेलियामा दर्ता भयो र अनबरत आजसम्म समुदाय मै छ, विविध क्रियाकलापले समुदायलाई जोड्दै । २० वर्षको गौरबशाली इतिहास सहित संस्थाले आगामी जुलाई १६ का दिन आफ्नो २० औ बार्षिक उत्सब विविध कार्यक्रम सहित मनाउदै छ ।
स्वयंसेवी नेपालीहरू आबद्द एउटा संस्था मार्फत नेपाली डायस्पोरामा नेपाली कला, सस्कृति, भाषा, रहन सहन, खानपिन र खेलकुदमा गर्ने सक्ने कार्य र निर्बाह गर्न सक्ने भूमिकाका लागि जिएनसीको योगदान जति नै चर्चा गरे पनि कमै हुन जान्छ । समयक्रम संगै नेपालीको आगमन, यहाँ हाम्रो उपस्थिति र नेपालीपनका संघ संस्थाहरू को बाहुल्यतामा निकै कमि आएको छ । तै पनि केहि वर्ष अगाडि मात्र सम्झने हो या अलकति पुराना यहाँका नेपालीहरू सँग यसो बिगतका २/४ कुरा कोट्टाउने हो भने दसैं तिहार या अन्य चाडबाड सम्झना साथ सबैले सम्झने संस्था हो जिएनसी । चाडबाडमा रमाउने मात्र होइन बिगत १७ वर्षदेखि गोर्खा नेप्लिज कम्यूनिटीले यहाँका युवा पुस्तालाई खेलको माध्यमबाट जोडी रहेको छ फुटबलको माध्यमले जिएनसी सकरको रुपमा । अष्ट्रेलियाका खेलप्रेमीहरूले निकै महत्व र उत्साहका साथ लिने जिएनसी सकरमा बिगत १० वर्षदेखि ३५ं का बीच फ्रेन्डली गेमलाई जोडेर यो खेल उत्सब के युवा के बयष्क सबैबीच लोकप्रिय बनेको छ । अझै बिगत एक वर्षदेखि त झन साना बाबुनानीहरूलाई लक्षित गरि ‘किड्स फुटबल वर्कसप’ को र सिनियर सिटिजनहरूको सम्मानार्थ कार्यक्रमको पनि आयोजना गरि रहेको छ । त्यस्तै गरि २००२ बाट सुरु गरेको ‘नेप्लिज चिल्ड्रेन एक्टिभिटिज’ अहिले शब्दमाला पाठशालाको रुपमा सिड्नीका बिभिन्न भागमा संचालनमा रहेको छ ।
१९९५ मा लोकमान लिम्बुले संस्थापक सभापतिको रुपमा लिएको संस्थाको जिम्मेवारी डा नारायण प्रधानले करिब १२ वर्ष, त्यस पछि मेजर भोला राईले २ वर्ष अनि फेरि डा नारायण प्रधान, राम गुरुङ हुँदै हाल २० औ वर्ष पुरानो यो संस्थाको नेतृत्व टंक गुरुङले लिएका छन् ।
अष्ट्रेलियाको इतिहास मै पहिलो पटक कलाकार भित्राउने श्रेय पनि गोर्खा नेप्लिज कम्यूनिटीलाई जान्छ । १९९८ मा कम्यूनिटी मह जोडीलाई सिड्नीमा पहिलो पटक उपस्थित गराएर प्रत्यक्ष उनीहरूको कार्यक्रम यहाँका नेपालीहरू माझ सगौरब राखेको थियो । त्यस्तै गायक कुमार कान्छालाई होस् वा आमाको घरलाई होस् यस्ता कयांै उदाहरणहरू छन् संस्थाले मन फुकाएको । अर्कोतर्फ नेपाली समाजमा घट्ने विविध दु:खद घटनाहरू र नेपालमा घटेका प्राकृतिक विपदमा पनि संस्था सधै एक कदम आगाडि बढेर सहयोगको हात फैलाएका उदाहारणहरू छन् ।
लामो समय संस्थालाई नेतृत्व प्रदान गरेका डा. नारायण प्रधानका स्मरणमा संस्था स्थापनाका सुरुका दिनहरूका यादहरू अझै ताजा छन् । उनी सम्झन्छन् दूताबास समेत न भएका उक्त बखत नेपालबाट आउने जो सुकै नेपालीका लागि सर सहयोग, परिवार र साथीभाइको न्यास्रो लागेकाहरू बीच दसैंं तिहार जस्ता चाड सामुहिक रुपमा मनाउने प्रचलन त्यस पछिका खेलकुद जस्ता कृयाकलापले संस्था सधै सबैको लागि प्रिय र अभिभाबक जस्तै बन्यो । सुरुका दिनहरूको स्मरण गर्दै प्रधान सम्झन्छन् त्यति बेला नेपालीको संख्या निक्कै कम थियो, सबै चाडपर्ब एकै ठाउमा जम्मा भएर मनाइने गरिन्थ्यो, कयांै पटक आफ्नै घरमा सबैलाई जम्मा गरेर उनले दसैंको टिका लगाएका छन्, तिहार र नयाँ वर्ष मनाएका छन् । अष्ट्रेलियामा नेपाली आगमनको यहाँ नेपालीले गरेका प्रगतिका जिउादो इतिहास डा. नारायण प्रधान १९७४ जनवरीमा स्थाई भिसा (आहिलेको पिआर) लिएर अष्ट्रेलिया ओर्लिएका थिए । डा. प्रधान सम्भवत अष्ट्रेलिया माईग्रेट हुने प्रथम नेपाली परिवार होलान् । तत् पश्चात संधै यहााको सामाजिक पक्ष सँग कुनै न कुनै रुपमा आबद्ध प्रधानले करिब २०१२ सम्म गोर्खा नेप्लिज कम्युनिटीलाई नेतृत्व दिदै आए ।
संस्थाको पहिलो अध्यक्ष लोकमान लिम्बुको सम्झनामा गोर्खा नेप्लिज कम्यूनिटी स्थापना गर्दाका दिनहरूको स्मरण अझै ताजा छ । तत्कालिन समयमा यहाँको सरकारी निकायमा दर्ता भएको संस्थाले इमिग्रेसनसँग सम्पर्क गरेर समस्या परेकालाई सहयोग गर्न सक्ने भएका कारण पनि संस्थाले धरैलाई सहयोग गरेको थियो । संस्थाको उद्देश्य नै अप्ठ्यारो परेका तत्कालिन सानो संख्याका विद्यार्थीहरू लाई सहयोग गर्ने रहेका कारण पनि जटिल रोग लागेका धेरै विद्यार्थीलाई सहयोग गर्न आफूहरू सहयोगी भएको उनी सम्झन चाहन्छन् । भुतपूर्व ब्रिटिश र अष्ट्ेरलियन आर्मी वा यहाँ सैनिक सेवामा कार्यरतहरू प्रति सम्मान गर्दै गोर्खा र नेपाली समुदायलाई समेट्ने लक्ष्यका साथ नेप्लिज कम्यूनिटी जोडेर संस्थाको नाम गोर्खा नेप्लिज कम्यूनिटी राखिएको पनि लिम्बुले बताए । यहाँको आरएसएल क्लबसंग तत्कालिन समयमा समन्यव गरिएको र सानो संख्यामा रहेका नेपालीहरू बीच मिलिजुली चाडपर्ब मनाउने खेलको मध्यमबाट युवाहरूमा जागरुकता ल्याउन संस्थाले खेलेको भूमिका प्रति प्रशन्नता व्यक्त गर्दै आज २० औं वार्षिक उत्सब मनाउँदा हाम्रो समुदाय ठूलो बनेको, यहाँका स्थानीय निकायले पनि हाम्रो कुरा सुन्ने स्थितिमा पुगेको र यसले हामी सबैलाई फाइदा पुगेको बताए । स्थपना कालदेखि संस्थाको हितमा लागेका सबैको सम्झना गर्दै उनले धन्यबाद पनि व्यक्त गरे ।
त्यसै गरि अष्ट्रेलियाको सैन्य सेवाको माथिल्लो दर्जामा पुग्ने सम्भबत पहिलो नेपाली मेजर भाला राईले पनि संस्थालाई २ वर्षसम्म नेतृत्व दिए । आाफै परोपकारी र अति मिलनसर मेजर राईको पालामा संस्थामा बिभिन्न परोपकारी कार्यहरू सम्पन्न भएका थिए ।
त्यसै गरि संस्थालाई २०१२ देखि २०१४ सम्म नेतृत्व दिएका राम गुरुङले पनि संस्थामा आाफू अध्यक्ष रहदाँ होस् या सामान्य सदस्य संस्थामा रहेको समयप्रति प्रसन्नता व्यक्त गर्छन् । नेपालीहरू बीचको अभिभाबक संस्थाको रुपमा रहेर खेलदेखि भाषा पाठशालासम्म र विविध कला संस्कृतिका कार्यहरू समेत सफलताका साथ सम्पन्न गर्नु भनेका सहयोगी र परोपकारी साथीभाइ दिदीबैनीहरूको संयोजनले मात्र हो भन्छन् गुरुङ ।
संस्थामा लामो समयसम्म संस्कृतिक संयोजकको रुपमा कार्यरत प्रकाश निङ्गलेकूका अनुसार गोर्खा नेप्लिज कम्यूनिटी २० औ बार्षिक उत्सबलाई संस्था समुदायमा गरेका विविध परोपकरी, भाषा साहित्य, कला संकृति जोगाउन गरेको सबै आरोह अबरोहहरूको स्मरण र ऐतिहासिक उपलब्धिको रुपमा मनाउने बताए । उनका अनुसार कार्यक्रम विविध आकर्षणहरू र प्रस्तुति मध्ये हाास्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’को प्रस्तुति प्रमुख रहनेछ । कार्यक्रमलाई स्थानीय कालाकारहरूका विविध संकृतिक प्रहसनहरूले सुनमा सुगन्ध भर्ने पनि उनले बताए ।
अन्त्यमा, यसरी २० वर्षको इतिहास बोक्दै अनबरत सुमदायलाई जोडदै यहाँसम्म आई पुगेको गोर्खा नेप्लिज कम्यूनिटीले हामी प्रबासी नेपालीको गौरब र पहिचानका लागि अहिले निरन्तर लागि रहोस् । अगाडि नै भने जस्तो स्वयंसेवी संस्थाले नेपाली डायस्पोरामा गर्न सक्ने एउटा उच्चतम कार्यको उदाहरणको रुपमा प्रस्तुत गोर्खा नेप्लिज कम्यूनिटीले यसरि नै संधै संधै कर्मभूमिमा रम्दै जन्मभूमि प्रतिको कर्तब्य निर्वाह गर्नेहरू बीचमा साझा चौतरीको भूमिका खेली रहोस् । गोर्खा नेप्लिज कम्यूनिटीलाई सुभकामना !!!
गोर्खा नेप्लिज कम्युनिटीका २० वर्ष
टंक गुरुङ
अध्यक्ष, जिएनसी
१९९५ मा हामीले जब गोर्खा नेप्लिज कम्यूनिटी (जिएनसी)को स्थापनाको अबधारणा आगाडि ल्यायौं म पनि त्यस बेलाको संस्थापक सदस्य मध्ये एक हुँ । तत् पश्चात २० वर्षको यो समयमा म कुनै न कुनै रुपमा कम्यूनिटीको एक वा अनेक क्रियाकलापमा सक्रिय छु । साथीहरूको अनुरोध र मेरो आफ्नै पनि संस्था प्रतिको लगाबले म बिगत २ वर्षदेखि संस्थाको अध्यक्षको रुपमा कार्यरत छु । २० वर्षको यस ऐतिहासिक अबसरमा म हिजो संस्था भित्र रहेर वा बाहिरबाट संस्थालाई सहयोग पुऱ्याउने सबै साथीहरू दाजुभाइ दिदीबैनीहरू, स्वयसेवकहरू, स्थानीय कलाकार भाइ बैनीहरू, हाम्रो निमन्त्रणा स्वीकार गरेर बिभिन्न समयमा नेपालबाट आउनु भएका कलाकारहरू र सम्पूर्ण सुभेच्छुकहरू प्रति हृदयदेखि नै हार्दिक धन्यबाद दिन चाहन्छु ।
स्थापनाका सुरुका दिनहरू आझै पनि मलाई राम्रो सम्झना छ त्यति बेला नेपालीहरूको संख्या आहिलेको तुलनामा निकै कमी थियो संघ संस्थाहरू पनि कमै थिए र हामी जिएनसी परिवारले हाम्रो समुदायमा आइ पर्ने सबै समस्याहरूमा अग्र पंक्तिमा रहेर काम गर्यौ । अर्कोतर्फ जिएनसी स्थापना हुादै गर्दा हामीले संस्थाको मुख्य लक्ष्य भनेको नेपाली कला संस्कृति र रीतिरिवाजलाई परदेशी भूमिमा जीवन्त राख्नु र भावी पुस्तामा हाम्रो परिचय जोगाउनु थियो । जुन कार्यमा आजसम्म हामी निकै सफल छौ जस्तो लाग्छ र यसलाई जीवन्त राख्नमा आफ्नो कार्यकाल भरि र भाबि नेतृत्वलाई पनि अनुरोध गर्दछु । जसको सगौरब उदाहरण भनेको हामीले दसैं तिहार जस्ता हाम्रा विविध चाडपर्ब र नयाा वर्ष जस्ता राष्ट्रिय महत्वका अबसरहरूमा नेपाली समुदायलाई एउटै थलोमा ल्याउन सफल भयौं । त्यसै गरि नेपाली साहित्यमा एकदमै प्रख्यात साहित्यक कृति मुना–मदनलाई समेत गीति नाटकको रुपमा मञ्चन गर्न सफल भयौ । ड्यासपोरामा सायदै यस्तो कृति स्थानीय कलाकार कै प्रमुख भूमिकामा मञ्चन गर्ने अवसर पनि गोर्खा नेप्लिज कम्युनिटीले राखेको हो कि जस्तो लाग्छ मलाई ।
त्यसै गरि युवा समुदायलाई लक्षित गरि बिगत १७ वर्षदेखि जिएनसीले संचालन गरेको जिएनसी फुटबल वा जिएनसी सकर युवा पुस्ता माझ लोकप्रिय मात्र होइन सिड्नीमा एउटा खेलको उत्सब कै रुपमा समुदायमा रहन सफल भएको छ । करिब आधा वर्षसम्म चल्ने यो टुर्नामेन्ट लिगको रुपमा संचालन हुने गरेको छ । भने यसले युवा पुस्तामा शारिरीक अभिबृदी, प्रतिभा पहिचानमा समेत सफल बनेको छ । जिएनसीले यस खेललाई पनि समुदायको माग अनुसार बिभिन्न प्रतियोगिता र मित्रवत खेल सहित विस्तार गर्दैछ । जिएनसी २००४ को सुरु तिर सुरु गरेको नेपाली भाषा स्कुल पछि २०१० सम्म जिएनसी कै स्वयं सेवक र पछि गुठि अष्ट्रेलिया हुदै आहिले शब्दमाला स्कुलको रुपमा संचालन छ ।
गत वर्ष नेपालमा गएको भूकम्पले गरेको नोक्सानी र यसले नेपालीजनमा परेको चोटमा हामी जिएनसी परिवारले पनि बिभिन्न तबरले यो दु:ख बाड्न सफल भयौ । यता आर्थिक सहायतामा हातेमालो गर्दै अर्थ संकलनदेखि नेपालमा स्वय सेवक परिचालनसम्म संस्था सक्रिय रह्यो । त्यसै गरि गत साल मात्र नेपाली इतिहासमा रचिएको अर्को महान कृति ‘कथा नालापानीको’ लाई हामीले नेपाल बाट बरिष्ठ कलाकारहरू र हाम्रा यहााका स्थानीय प्रतिभा सहित अष्ट्रेलियाका विभिन्न शहरहरूमा प्रस्तुत गर्न सफल भयौं । सुरुमा अष्ट्रेलिया आएको एउटा पुस्ता अब रिटायर हुने तरखर रहेको अवस्थामा जिएनसीले गत वर्षदेखि सिनियर डे कार्यक्रम गरि मान्यबरहरूलाई सम्मान गर्ने कार्यको थालनी पनि गरेका छौं । अन्त्यमा हामी बीचको आत्मियता र एकता नै हाम्रो सबै भन्दा ठूलो शक्ति हो हामी जहाा छौ जसरी छौ हाम्रा कला संस्कृति रहन सहन नबिर्सौ र जगेर्ना गर्न आफ्नो ठाउा बाट सहायोग गरि राखौ भन्ने पनि म अनुरोध गर्न चाहन्छु ।
कलाकारहरूका शब्दमा गोर्खा नेप्लिज कम्युनिटी
मदनकृष्ण श्रेष्ठ, बरिष्ठ हास्य कलाकार
अष्ट्रेलिया भौगोलिक परिवेस अनि वातावरणले पनि ठीक विपरित छ, नेपालको तुलनामा जहाँ जाउा जाउँ लाग्ने र घुमौं घुमौं लाग्दो थियो । त्यहाँ पुग्दा नेपालीहरूले गर्नु भएको माया, व्यवहार अहिले पनि सम्झन्छौं । त्यसताका नेपालीहरूको ठूलो घुइचो नै थियो । जी. एन. सी. तपाईँहरूको निमन्त्रणा हाम्रोलागि फस्र्ट इम्प्रेसन नै लास्ट इम्प्रेसन भने जस्तो भएको छ । कतिपयको नाम र अनुहार नै विर्सिसकिन्छ तर हामीले अझैपनि तपाईँहरूलाई सम्झिरहेका छौं । हाम्रोलागि अष्ट्रेलिया जाने पहिलो ढोका खोलिएको थियो । यस्तो संस्थाको २०औं वार्षिकोत्सबको अवसरमा हाम्रो तर्फबाट धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
हरिवंश आचार्य, बरिष्ठ हास्य कलाकार
हामीले प्रोग्रामहरू गर्ने शिलशिलामा सकेसम्म थोरैमात्र देशहरूमा गर्दछौं । त्यो बेला प्रोग्रामहरू तयार गर्न समय लाग्थ्यो नै त्यो भन्दापनि आयोजना गर्नु भनेको ठूलो कुरा थियो । त्यसमा पनि प्रोफिट मेकि∙को लागि नभएर देशको भाषा, कला अनि साहित्यलाई जगेर्ना गर्ने हेतुले निश्वार्थ रुपमा देशलाई माया गरेको पायौं जुन जिएनसि मार्फत देखियो । हामी आर्टिसलाई भन्दापनि देशलाई माया गरेको भन्ने लाग्छ । हाम्रो अष्ट्ेरलियामा पहिलो यात्रा थियो जुन अति नै राम्रो सौहार्दपूर्ण वातावरणमा हामीलाई स्वागत गर्नु भएको थियो । आज यो संस्था २०औं वर्ष पुगेको सुन्न पाउादा अति नै खुसी लागेको छ । अझै प्रगतिको कामना गर्दछु ।
सुनिल पोखरेल, नाट्यकर्मी, गुरुकुल
जीएनसी साग काम गर्दा मलाई अति नै गजव लाग्यो । हामीले जीएनसी सँग सहकार्य गर्दा एक आयोजक भन्दा पनि पारिवारिक वातावरण पायौं जसले हामीलाई पनि त्यही परिवारको सदस्य हो जस्तो बनायो । त्यही कारणपनि धेरै रमाइलो लाग्यो जीएनसी सँग काम गर्न । मेरो तर्फबाट एकदम ठूलो शुभकामना २०औं वर्ष पुगेको अवसरमा । अझ धेरै वर्षहरू पार गर्दै संधै झैं क्रियाशिल भएर अगाडि बढोस् सोही शुभकामना ।
उदय/मनिला सोताङ, गायक र गायिका
हामी पहिलोपटक जीएनसीको निमन्त्रणमा अष्ट्रेलिया आयौं त्यो क्षण यदि अरु आयोजकहरूको निमन्त्रणामा आएको भए त्यति राम्रो र रमाइलो हुन्थेन की ? त्यो प्रश्न जहिलेपनि हामीमा आइरहन्छ । जीएनसीले अझ यस्तो कार्यक्रमहरू गर्दै जाओस जुन कार्यक्रमले कलाकारहरूको मान सम्मानमा कुनै कमी ल्याउन दिएन अहिले यस्तो संस्था २०औं वर्ष पुगेको कुरा सुन्न पाउँदा हामी धेरै धेरै खुसी छौं र अझ २०औं पछि एक सुन्ना थपि २००औं वर्ष पुग्दासम्म पनि तपाईँहरूको यात्रा सदैब अघि बढीरहोस् भन्न चाहन्छौं ।
एड्रिन प्रधान, गयाक
जीएनसी एउटा प्रेस्टिजीयस र वेल अर्गनाइजेसन संस्था थियो जसले साँगितिक यात्रा अति नै अर्गनाइज भएर सफल बनाएको थियो जुन आज भन्दा १०/१२ वर्ष अघिको कुरा हो । तर पनि सम्झि रहन्छु आज यो संस्था २०औं वर्ष पुगेकोमा धेरे धेरै शुभकामना दिन चाहन्छु । विदेशमा थोरै मात्र संस्थाहरू छन् जो यतिका लामो समयसम्म टिक्न सफल छन् । अहिलेसम्म लगभग लगभग धेरै नै देशहरूमा घुमिसकेको छु ति मध्ये एक युनाइटेड भएर चालेको संस्था जीएनसी मात्र पाएको छु । अझ धेरै समयसम्म एकताको धागोमा बाँधिएर अझ उन्नति गर्नुहोस भन्ने धेरै धेरै शुभकामना ।
संजय श्रेष्ठ, गायक
जीएनसी सँग काम गर्ने मौका २०१० मा मिलेको थियो । यो मेरो लागि अति नै खुसीको कुरा थियो जुन म शब्दले मात्र व्यक्त गर्न सक्दिन्न । उहाँहरू अति अर्गनाइज हुनुहुन्थ्यो । यस्तो संस्था अहिलो २०औं वर्ष पुगेको उपलक्ष्यमा मेरो तर्फबाट धेरै धेरै शुभकामना । जीएनसीले नेपाली भाषा संस्कृतिलाई प्रमोट गरेको देख्न पाउँदा ज्यादै खुसी लाग्यो अझ उत्तरोउत्तर प्रगतिको कामना गर्दछु ।
विवेक श्रेष्ठ, गायक कन्दरा व्याण्ड
जीएनसी अर्थात गोर्खा नेप्लिज कम्युनिटी अष्ट्रेलियाले आफ्नो २०औं वार्षिकोत्सब मनाउन गइरहेको उपलक्ष्यमा म विवेक श्रेष्ठ (कन्दरा व्याण्ड) उक्त संस्थाको उत्तरोउत्तर प्रगतिको कामना गर्न चाहन्छु । सन् २०१२ को दसैंताका भएको अविष्मरणीय कार्यक्रममा मलाई अष्ट्ेरलियासम्म निम्तो दिएर सफल कार्यक्रम संचालन गरेको यस संस्थाले आगामी दिनहरूमा पनि नेपाली समुदायलाई विदेशी भूमिमा एकताबद्ध गराउन अझै ठूलो अभिभावकीय भूमिका निर्वाह गर्नेछ भन्नेमा शुभेक्षा दिन चाहन्छु ।
सुजिल कर्माचार्य, गायक
जीएनसी ले एक सामजिक कार्यक्रमको आयोजना गरेको थियो जसमा खानाका मीठा–मीठा परिकारहरू थिए जसले म विदेशमा भएतापनि पारिवारिक वातावरण पाएको थिएँ । कार्यक्रम राम्रो आयोजना हुनुका साथै कलाकार कुमार कान्छाको लागि आर्थिक सहयोगपनि जुटाउन सफल भएको थियो । अहिले यो संस्था २०औं वर्ष पुगेको अवसरमा मेरो तर्फबाट अझ उत्तरोउत्तर प्रगतिको कामना गर्दछु । जसरी नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशमा रहेरपनि यसरी नेपाली कला संस्कृतिलाई योगदान दिनुभएको छ अझ बढोस् सोही कामना व्यक्त गर्दछु ।
विल्सन विक्रम राई, हास्य कलाकार
नेपाली कलाकारिताका दिग्गज व्यक्तित्वहरू मह जोडी, सुनिल पोखरेल (गुरुकुल), उदय/मनिला सोता∙ जस्ता कलाकारहरूले सहकार्य गरिसक्नु भएको संस्थासँग काम गर्न पाउनु मेरोलागि जीन्दगीको अर्को कोशेढुङ्गा हुन्छ भन्ने आशा गरेको छु । स्वदेशमा नै कुनै संस्था अनि पार्टीहरू केही वर्षपनि नटिकेको अवस्थामा विदेशमा तपाईाहरूले यो संस्थालाई २० वर्षसम्म निरन्तर हाँकीरहनु भएकोमा अझ कयौं वर्षसम्म निरन्तर बढी रहोस् भन्दै २० औं वार्षिकोत्सबको अवसरमा सम्पूर्ण जीएनसी परिवारलाई शुभकामना !
नबिन सुब्बा, चलचित्र निर्देशक
सर्वप्रथमत त गोर्खा नेप्लीज कम्यूनिटी बीस वर्ष पुगेको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना । मेरो रचनाकर्मको सन्दर्भमा मीठो स्मृती जोडिएको छ । नेपाली चलचित्र क्षेत्रमा ‘नुमाफुङ’ जस्ता चलचित्र नस्वीकारी रहेको समयमा अष्ट्ेरलियामा त्यसको बिशेष प्रर्दशन आयोजना गरेर म जस्तो मौलिक चलचित्र निर्माण गर्न चाहने व्यक्तिलाई हौसला प्रदान गर्नमात्र होइन, नेपालमा यी प्रकारका चलचित्र निर्माणमा दबाब श्रृजना गर्न पनि भूमिका खेलेको थियो । नेपाली चलचित्रमा देखिएको अहिलेको रुपान्तरणमा गोर्खा नेप्लिज जस्ता संस्थाको पनि योगदान छ भन्ने म ठान्छु । तपाइहरूले हैसे नगरेको भए चलचित्रमा मौलिकता खोज्ने अभियान सार्थक हुँदैन थियो । तपाईँहरूको बीसौं वर्षगाँठ मनाइरहदा म सम्झिरहेछु तपाईँहरूको न्यानो आथित्य र ति दिनहरू सम्झदा अहिले पनि म उर्जा प्राप्त गर्छु । यो माया स्नेह र हौसला कलाकर्मीहरूको लागि निरन्तर हुने अपेक्षा गर्दछु ।
मैले भनिरहन पर्दैन गोर्खा नेप्लिज कम्यूनिटीले अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई कार्यक्रम गरेर बाँध्ने काम गरेको छ । मलाई थाहा छ, त्यसको लागि थुप्रै मित्रहरूले नि:स्वार्थ पसिना बगाउनु भएको छ । त्यसैको प्रतिफल दिन प्रतिदीन नेपाली समाज अझ विकसीत र उन्नती तिर लागिरहेको छ । आशा छ नेपाली समाजलाई अझ गतिशिल बनाउन अझ प्रभावकारी कार्यक्रमहरू आउने छन् । त्यसमा कुनै प्रकारको योगदान पुर्याउनु पर्ने भए हामी सदैव तयार रहेको पनि यहाँहरूलाई अवगत गराउँदै यहाँहरूको बीसौ वर्षकोगाँठको अवसरमा पुन: बधाई तथा आगामी दिनका लािग शुभकामना दिन चाहान्छु ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...