अस्ट्रेलिया भरि मनोरन्जन र परोपकारिताको सन्देश दिदै भद्रगोल टिम
-- The NTA ?>

अस्ट्रेलिया भरि मनोरन्जन र परोपकारिताको सन्देश दिदै भद्रगोल टिम नेपाल फर्केको छ । आफ्नो करिब ३ हप्ते बसाईमा अस्ट्रेलियाका चार प्रमुख शहरहरुमा सशक्त कार्यक्रम प्रस्तुत गरेको भद्रगोल टिमले देशको बर्तमान परिस्थिति प्रति र हाम्रा कयौ सामाजिक अवधारणा प्रति व्यंग गर्दै यहाँका दर्शकलाई मनोरन्जन दिन सफल भयो ।
आरकेएस अस्ट्रेलियाको संयोजन र आयोजनामा जुन २६ मा मेलबर्न बाट शुरु भएको “अस्ट्रेलियामा भद्रगोल” कार्यक्रम जुलाई ३ मा ब्रिसबनमा, जुलाई ६ मा तस्मेनियामा हुदै अन्तिम कार्यक्रमको रुपमा जुलाई ९ मा सिड्नीमा समापन भएको थियो ।

आहिलेको युवा पुस्ता माझ लोक प्रिय भद्रगोल टिम आफ्नो फरक प्रस्तुतिका कारण आहिले देश विदेशमा चर्चित छन् । अस्ट्रेलियाको यो यात्रमा भद्रगोल टिमलाई रुन्चे गायक भनेर चिनिने गायक प्रकाश पौडेलले साथ दिएका थिए । भद्रगोल टिमका चार जान प्रख्यात कलाकारहरु अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले) र हरि निरौला (कक्रोच) सहितको यो टिमलाई सिड्नीमा आरकेएस अस्ट्रेलियाले र सिड्नी बाहेकका शहरमा आरकेएस अस्ट्रेलियाले स्थानीय संस्था सँग संयोजन गरि कार्यक्रमको प्रपन्च मिलाएको थियो ।
कुनै न कुनै परोपकारी कार्य संग जोडिएर सम्पन्न भएका चारै शहरका कार्यक्रमहरुमा दर्शकहरुको अपुर्ब माया पाएको र अस्ट्रेलियाको यात्रा अविस्मरणीय रहेको टिमका कुमार कट्टेल (जिग्री)ले बताए ।

त्यसै गरि सिड्नीको कार्यक्रम सम्पन्न सँगै अर्जुन घिमिरे (पाँडे)ले एक चरणको कार्यक्रम सकिएको भए पनि मानबता र परोपकारिताको नाता र भावना सहित आफुहरु सबै धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको गिरान्चौर एकीकृत बस्ती निर्माण अभियानका लागि सबै सँग सहयोगको लागि हात फैलाउने बताएका थिए । सोहि अनुरुप भद्रगोल टिमले औपचारिक कार्यक्रम पश्चात आफ्नो घुम घाम को कार्यक्रमलाई प्रथामिकता दिनु भन्दा बरु सानो ठुलो नेपाली जमघटमा धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेको गिरान्चौर एकीकृत बस्तीका बारेमा प्रष्ट पर्दै सहयोगको लागि अनुरोध गरेका थिए । टिमका सदस्य सागर लम्साल (बले)ले द नेपाली टाईम्स सँग कुरा गर्दै भने हामी सबै अस्ट्रेलिया पहिलो पटक आएका हौ हामीलाई थाहा छ यहाँ धेरै घुम्ने ठाउँ छन् तै पनि हामीले घुम्ने कुरालाई कम गरेर यो समय धुर्मुस सुन्तली फाउन्डेसनको लागि सहयोग जुटाउन लागि परेका छौ । लम्सालले अघिल्लो परियोजनामा आफु लगाएत धेरैले ढुंगा बोक्ने कोदालो खन्दै सहयोग गरेको र यो धेरै भन्दा धेरै सहयोगी मनहरुको कारण मात्र सफल भएको बताए । त्यसै टिमका अर्का सदस्य हरि निरौला (कक्रोच)ले यो सानो वा ठुलो सहयोगले धेरैको आँखाको आशु पुछ्न सफल हुने बताऊँदै सहयोगको रकम नेपाल पुराउने र पारदर्शीता सहित पुन सबैको जानकारीका लागि राख्ने बताए । यहाँका लगभग सबै जमघटहरुमा कुमार कट्टेल (जिग्री)ले धुर्मुस सुन्तली फाउन्डेसन र यसले गरेको कार्यको बारेमा प्रष्ट पारेका थिए ।
यहि अनुरुप कलाकारहरुको अनुरोध र आरकेएस अस्ट्रेलियाको अन्तिम सम्मको संयोजनबाट धुर्मुस सुन्तली एकिकृत नमूना बस्ती निर्माणको लागि कुल ५ लाख ४० हजार नेपाली रुपैया उठ्न सफल भएको आरकेएस अस्ट्रेलियाका रबिन्द्र कुमार शर्माले बताए ।
(फोटो: सतिस फोटोग्राफी )