संसद बैठक छ दिनलाई स्थगित

-- ?>

Parliament

काठमाडौं-ब्यवस्थापिका संसदको बैठक साउन ६ (जुलाई २१) गतेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले सूचना निकालेर शुक्रबार बोलाइएको संसद बैठक सुरु नै नगरी साउन ६ गते बस्ने गरी अर्को बैठक बोलाउनुभएको हो । सूचनामा साउन ६ गतेको बैठकमा सरकारमाथिको अविश्वासको प्रस्तावमाथि छलफल हुने पनि उल्लेख गरिएको छ ।
एमालेका मुख्य सचेतक भानुभक्त ढकालले यसले संसदभित्र अनावश्यक विवाद बढाएको बताउनुभयो । मुख्य सचेतकहरुसँगको छलफलमा संसद बैठक बोलाउने बताएपनि त्यसलाई कार्यान्वयन नगराएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो । उहाँले संसदभित्र अनावश्यक द्वन्दमा जान चाहेमा एमालेले त्यसको प्रतिवाद गर्ने बताउनुभयो । कांग्रेसका नेता रामचन्द्र पौडेलले सभामुखले अर्को बैठक ६ गतेका लागि बोलाएकाले त्यसमा कुनै टिप्पणी नगर्ने बताउनुभयो ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित गर्नुपर्ने थियो । संसद बैठक नै स्थगित भएपछि यी विधेयक पारित नहुने निश्चित भएको छ । दुवै विधेयक पारित नहुँदा सरकारलाई कर तथा ऋण उठाउन समस्या हुन्छ ।