आज निर्णयार्थ प्रस्तुत हुँदै अविश्वासको प्रस्ताव

-- ?>

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमाा दर्ता भएको अविश्वासको प्रस्ताव आज आइतबारको बैठकमा निर्णयार्थ प्रस्तुत हुँदैछ ।

व्यवस्थापिका–संसदको आजको पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि अविश्वासका प्रस्तावका पक्षधरलाई प्रस्ताव फिर्ता लिन समय प्रदान गरिनेछ ।
अविश्वासको प्रस्तावका पक्षले प्रधानमन्त्रीविरुद्धको प्रस्ताव फिर्ता लिन नचाहेमा सभामुखले संसद्को आइतबारको दोस्रो बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिएका छन् । उक्त प्रस्तावमाथि शुक्रबारबाट सदनमा छलफल हुँदै आएको छ ।

वर्तमान गठबन्धन सरकारको ठूलो दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै प्रधानमन्त्री ओली सरकार संकटमा परेको छ । प्रधानमन्त्री ओलीको दम्भ र अहंकारका कारण आफूले समर्थन फिर्ता लिएर उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रले बताउँदाएको छ ।
व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका २ सय ८१ जना सांसदको हस्ताक्षर गरेर उक्त प्रस्ताव संसदमा पेस गरिएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसंगै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपाले पनि समर्थन फिर्ता लिएर अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

नेपालको संविधान जारी भएसंगै व्यवस्थापिका–संसदमा प्रतितिनिधित्व गर्ने अधिक राजनीतिक दलको समर्थनमा नेतृत्व सम्हाल्न पुग्नुभएका प्रधानमन्त्री ओली सरकार नौ महिनाको अवधि पार गर्दा नगर्दै संकटमा परेको हो ।