संसदमा सम्बोधन गर्दै प्रचण्ड

-- ?>

Prachanda

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक्लो उम्मेदवार हुनु सन्तोषजक भएपनि प्रमुख दलहरु विभाजित भएकाले आफू धेरै खुसी नभएको बताएका छन् । अहिले व्यवस्थापिका संसदमा भाषण गर्दै प्रचण्डले केपी शर्मा ओलीको सरकारले अघि बढाएका कामहरुलाई निरन्तरता दिने दावी गरेका छन् ।

संसदमा आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै प्रचण्डले राष्ट्रिय सहमतिको सरकार नबने पनि मुद्धाहरुमा सहमति कायम गरेर जान सक्ने बताएका छन् । ‘यदि म प्रधानमन्त्री भएमा मेरो तर्फबाट विना कुनै आग्रह पूर्वाग्रह सहकार्य गर्ने र राष्ट्रिय समस्या समाधान गर्ने विश्वास दिलाउन चाहन्छु, उनले भनेका छन् ।

यसैबीच नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच तीनबुँदे सहमति भएको छ । बुधबार बिहान संसद भवन नयाँ बानेश्वर हाताभित्र भएको तीन दलका शीर्ष नेताबीच बसेको बैठकले तीन बुँदे सहमति गरेको हो । तीन बुँदामा सहमति गरेसँगै मधेसी मोर्चाले प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाललाई भोट दिने भएको छ । सहमति भएसँगै संसद पनि सुरु भएको छ । ११ बजे बोलाइएको बैठक करिव डेढ घण्टा ढिलो सुरु भएको छ । कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच सहमति गर्न ढिलाई हुँदा संसद बैठक ढिला सुरु भएको हो ।

नेपाली कांग्रेस, माओवादी र संघीय गठबन्धनबीच भएको तीन बुँदे सहमति

1. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरु मध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरुमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका-संसदमा प्रस्तुत गर्ने ।
2. सरकार गठन भए लगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनको आन्दोलनको क्रममा तराई मधेसमा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुबारे सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्न सरकारले पूर्व न्यायधीशको अध्यक्षतामा उत्तस्तरीय छानविन आयोग गठन गर्ने । उक्त आन्दोलनको क्रममा बलिदान भएकाहरुलाई उच्च सम्मान गर्दै सहीद घोषणा गर्ने, पीडित परिवारलाई ससम्मान आर्थिक सहयोग उपलब्ध गराउने । अपांग भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइते भएकाहरुलाई सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने । गिरफ्तार गरिएकाहरुलाई विना शर्त रिहाइ गर्ने र लगाइएका मुद्धाहरु सरकारले खारेज तथा फिर्ता लिने ।
3. आगामी सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सहमति अनुसार व्यवस्थापिका संसदमा विसं २०७३ श्रावण १९ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष माननीय पुष्पकमल दाहाल (प्रचण्ड) पक्षमा मतदान गर्ने ।