पूर्वमुमा बडामहारानी बस्ने निवासको बिजुली काटियो

-- ?>

Ratna-Shah

काठमाडौ- सरकारले पूर्वमुमा बडामहारानी रत्न शाह बस्ने नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटिदिएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुस नतिर्ने ग्राहकको लाइन काट्ने अभियान सुरु गर्ने क्रममा आइतबार महेन्द्र मञ्जिलको लाइन काटिएको हो ।

सरकारी स्वामित्वअन्तर्गत रहेको महेन्द्र मञ्जिलको नाममा ३५ लाखभन्दा बढी बक्यौता देखिएको छ।

बिजुलीको लाइन काटिए पनि महेन्द्र मञ्जिलको स्वामित्व र यसको व्यवस्थापनको दायित्व भने सरकारकै नाममा छ ।

गणतन्त्र घोषणापछि तत्कालीन राजा ज्ञानेन्द्र शाह र उनको परिवारले नारायणहिटी दरबार छोडे पनि पूर्वमुमा बडामहारानीलाई भने उनकै इच्छाबमोजिम सरकारले आजीवन त्यहाँ बस्न दिने निर्णय गरेको थियो ।

पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको सम्पूर्ण व्यवस्थापन सरकारी निकायबाट हुँदै आएको छ ।

पूर्वराजा ज्ञानेन्द्रका सहयोगी फडिराज पाठकले राज्यको निर्णयबमोजिम बस्न उपलब्ध गराइएको महेन्द्र मञ्जिलमा बिजुलीको लाइन काटेर सरकारले न्यूनतम मानवीयता पनि नदेखाएको बताए ।

यो भवन बडामहारानी रत्नको स्वामित्वमा छैन । सरकारले उहाँलाई बस्न उपलब्ध गराएको हो । धारा, बिजुली तथा यसको व्यवस्थापनको सम्पूर्ण जिम्मा सरकारले लिदै आएको छ ।

महेन्द्र मञ्जिलसँग मुमा बडामहारानी रत्नको विशेष भावानात्मक सम्बन्ध छ। बिरामी अवस्थामा पनि परिवार तथा आफन्तले रेखदेखका लागि बाहिर लैजान खोज्दासमेत उनले महेन्द्र मञ्जिल छोड्न मानेकी छैनन् ।

३५ लाखभन्दा बढी बक्यौता देखिएकोले बिजुलीको लाइन काटिएको जानकारी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिएका छन् ।