एनआरएनको नर्वौ क्षेत्रिय सम्मेलन अमेरिकाको न्यूजर्सीमा शुरु

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : शनिबार, भदौ ११, २०७३

2न्युजर्सी, गैरआवासीय नेपाली संघ (एनआरएन) को ९ औं क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्जीमा आज केहिबेर अघि सुरु भएको छ । एनआरएन भिजन २०२० एन्ड वियोन्ड नारासहित डबल ट्री हिल्टन होटलमा आयोजित सम्मेलनका प्रमुख अतिथि पूर्वसभामुख सुवाश नेम्वाङले पानसमा बत्ती बालेर उद्घाटन गरे । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, संस्थापक नेता रामप्रताप थापा, संरक्षक दिल गुरुङ, इन्द्र बन, देवकाजी डंगोल, ब्यवसायी चन्द्र ढकाल, संयूक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधी दुर्गा प्रसाद भट्टराई, ब्यवसायी बिनोद चौधरी, सांसदहरु मोहन बराल, महेन्द्र यादव, अमेरीकी संसाद डोनाल्ड पएने, अमेरिकी क्षेत्रका संयोजक सोनाम लामालगायतले सम्मेलनको सफलताको लागि शुभकामना दिने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न राज्यतहमा नियूक्त भएका वाणिज्यदुत महावाणिज्य दुतहरुको उपस्थिति रहेको छ ।

सम्मेलनको दोस्रो सत्रमा बहुप्रतिक्षित एनआरएन भिजन २०२० एन्ड वियोन्ड सम्बन्धि प्रतिवेदन पेश गर्ने कार्यक्रम तय गरिएको छ । आजै भूकम्पपछिको पुनः निर्माण, नेपालमा व्यापार तथा लगानी अभिवृद्धि, एनआरएन नागरिकता लगायतका विषयमा छलफल हुनेछन् । सम्मेलनमा सहभागी गैरआवासीय नेपाली सँघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले सम्मेलन नेपालको आर्थिक समृद्धीका लागि थप लगानी भित्राउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । डा महतोले विदेशमा नेपालीहरुको सँख्या बृद्धि हुदै गएको अवस्थामा एकअर्का क्षेत्रीय सम्मेलनले साथीभाइ बीचको भाइचारालाई थप बलियो बनाउनुका साथै देशको लागि केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्ने बताए ।

शनिबार र आइतवार चल्ने सम्मेलनमा करिब ४० देशका चार सय प्रतिनिधिले भाग लिएको महासचिव डा बद्री केसीले जनाएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनको दोस्रो दिन आइतबार संघका बिभिन्न देशको प्रगतिप्रतिवेदन पेश गर्ने, महिला सम्मेलन, पर्यटन प्रर्वधन, एनआरएन च्यारीटी, लगायतका बिषयमा छलफल गरिने कार्यक्रमतय गरिएको छ । कार्यक्रममा अमेरिका बेस भएर विभिन्न सञ्चार माध्यममा काम गर्ने र नेपालबाट गरी एक दर्जन सञ्चारकर्मीहरुको उपस्थिति रहेको छ । उद्घाटन कार्यक्रममा नेपाली राष्टिय गीत गाएर शुरु गरिएको थियो ।