पूर्व राष्ट्रपति यादवलाई क्यान्सर, सरकारले सम्पूर्ण उपचार गरिदिने

-- ?>

Dr Ram Baran Yadav

काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ । भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो।

प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका जाने भएका छन् । भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय (पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच सेन्टर) मा गरिएको परीक्षणमा ‘एडिनोकार्सिनोमा अफ प्रोस्टेट’ (प्रोस्टेटको क्यान्सर) देखिएपछि अस्पतालले नै उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाएको थियो।

अस्पतालले क्यान्सर उपचारका लागि केही साताभित्रै ‘मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी’ (सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि) गर्न सल्लाह दिएपछि पूर्व राष्ट्रपति यादव अमेरिका जान लागेका हुन्।

नेपालमा उपचारका लागि उक्त प्रविधि नभएपछि मेडिकल बोर्डले नै यादवलाई अमेरिका जान सिफारिस गरेको हो । बोर्डले भदौ ५ गते यादवलाई उपचारका लागि नेपालबाहिर जान सिफारिस गरेको थियो । भारतका केही अस्पतालमा उक्त सेवा उपलब्ध रहे पनि चन्डिगढको उक्त अस्पतालले समेत सकेसम्म उच्च प्रविधि भएको ठाउँमै जान सुझाएपछि यादवले अमेरिका छानेका हुन्।

नेहरू अस्पतालले पूर्व राष्ट्रपतिको उपचारक्रममा लागेको सम्पूर्ण खर्च निःशुल्क गरिदिएको छ । नेपालका पूर्वराष्ट्रपतिको सम्मानमा भन्दै अस्पतालले उपचारक्रममा लागेको खर्च शुल्क नलिएको हो । यादवले उक्त अस्पतालको शिक्षण अस्पतालमा अध्ययन गरेका थिए ।

शल्यक्रियाका लागि पूर्व राष्ट्रपति यादवले अमेरिकाको हेनरी फोर्ड अस्पतालमा प्रारम्भिक मितिसमेत लिइसकेका छन् । उनको आगामी असोज १० गते (सेप्टेम्बर २६) शल्यक्रिया गर्ने मिति लिइएको छ । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार उनी शल्यक्रियाका लागि भदौ ३० गते (सेप्टेम्बर १५) अमेरिका उड्ने कार्यक्रम छ ।

चिकित्सकका अनुसार शल्यक्रियापश्चात उनको क्यान्सर पूर्ण रूपमा निको हुनेछ, तर, शल्यक्रियामा ढिला गर्ने हो भने संक्रमण फैलिएर जटिल अवस्था आउने छ । भारतका विशेषज्ञ चिकित्सकले यादवलाई एक महिनाभित्र शल्यक्रिया गरिसक्न सुझाएका थिए ।

शल्यक्रियाका लागि यादवले सुरुमै ३७ हजार अमेरिकी डलर (करिब ३७ लाख रुपैयाँ) भन्दा बढी रकम डिपोजिट गर्नुपर्ने हुन्छ । उनको उपचारक्रममा सोभन्दा बढी खर्च लाग्ने बताइएको छ। यादवले उपचारका लागि खर्च उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

प्रोस्टेट समस्या देखिएपछि साउन २० गते उपचारका लागि भारत गएका पूर्व राष्ट्रपति यादवको उपचारका लागि २१ साउनमा बसेको मन्त्रिपरिषद्ले १० लाख दिने निर्णय गरेको थियो। तर, उक्त रकम यादवले लिएका छैनन् ।

भारत जानुअघि उनले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणक्रममा प्रोस्टेटमा खराबी देखिएपछि चिकित्सकको सुझावअनुसार थप उपचारका लागि यादव भारतस्थित आफू पढेको अस्पताल गएका थिए।

साउन दोस्रो साता जनकपुरमा रहेका बेलामा यादवको पिसाबमा समस्या देखिएको थियो। त्यसपछि त्रिवि शिक्षण अस्पताल आएर उनले परीक्षण गराएका थिए।

वरिष्ठ युरोलोजिस्ट अर्जुनदेव भट्टका अनुसार महिलालाई स्तन क्यान्सर भएजस्तै पुरुषलाई प्रोस्टेट क्यान्सर हुन्छ । प्रोस्टेट क्यान्सरलाई ‘साइलेन्ट किलर’ समेत भनिन्छ । प्रोस्टेट ग्रन्थीले वीर्य उत्पादन गर्ने काम गर्छ । सामान्यतया ६० वर्षमाथिका पुरुषलाई यस्तो क्यान्सर हुने खतरा रहन्छ । प्रोस्टेटमा संक्रमण भएपछि पिसाबमा रगत देखिने, मूत्र संक्रमण भइरहने, पिसाब थैलीमा पत्थरी जम्ने, मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आउने जस्ता समस्या देखिने गर्छ ।

थप ६० लाख उपचार खर्च दिने निर्णय

सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । पूर्व राष्ट्रपति यादवको उपचारका लागि सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । यो रकम पेश्की मात्र हो । यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ । सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने-आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ ।