के के छ काँग्रेसको नयाँ नीतिमा

जीवन भण्डारी :
काठमाडौँ । संविधानको कार्यान्वयनलाई जोड दिने गरी नेपाली काँग्रेसको भावी नीति तथा कार्यक्रमको मस्यौदा केन्द्रीय समितिबाट पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बैठकले आसन्न १३औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको मस्यौदा पारित गरेको हो ।
बैठकले पार्टीको भावी नीति तथा कार्यक्रममा केही नेताहरुले राखेका सुझावलाई समेटेर संशोधनसहित पारित गरेको केन्द्रीय सदस्य बालकृष्ण खाँडले जानकारी दिनुभयो । कार्यवाहक सभापति पौडेल नेतृत्वको समितिद्वारा बैठकमा प्रस्तुत मस्यौदामा धेरै केन्द्रीय सदस्यले सुझाव राखेको उहाँले बताउनुभयो ।
बैठकमा बोल्नेले कार्यान्वयन गर्न सकिने र अहिलेका लागि अत्यावश्यक विषयवस्तुलाई मात्रै राख्न सुझाव दिएपछि नेता पौडेलले संशोधन गर्नुभएको नेता खाँडले जानकारी दिनुभयो । बैठकमा अधिकांश पदाधिकारी एवम् सदस्यले मस्यौदामाथि आफ्ना धारणा राख्नुभएको थियो । मस्यौदामा संविधान कार्यान्वयन, तराई–मधेस आन्दोलन, समसामयिक राजनीतिलगायत अन्य विषयलाई समेटिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताउनुभयो ।
उहाँले मस्यौदामा तराईमा उठेका आन्दोलनलाई स्वशासन, आत्मसम्मान र पहिचानको संज्ञाका रूपमा उल्लेख गरिएको छ । मस्यौदामा तराई–मधेसको जनजीवन सुधारका लागि हुलाकी सडक निर्माण गर्ने, रेल्वे लाइनको स्थापना गर्ने, ग्रामीण सडकको सुधार गर्ने, उत्तर–दक्षिण लिङ्क रोड निर्माण गर्ने र नदी नियन्त्रण अनि वन व्यवस्थापन र पर्यावरण सुधार गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै, आफ्नै नेतृत्वको सरकारको सक्रियतामा नेपालको संविधान जारी गरेको काँग्रेसले संविधान कार्यान्वयनमा पनि नेतृत्व प्रदान गर्ने सङ्कल्प गरेको छ । काँग्रेसले भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्नसक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरेको छ ।
संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास हुन सक्छ भन्ने आशङ्का गर्दै संविधान कार्यान्वयनका लागि दृढता र सङ्कल्प प्रदर्शन गर्ने नीति प्रस्ताव गरिएको केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो ।
पार्टीले सीमाङ्कन, नामाङ्कन, प्रशासनिक व्यवस्थापनदेखि स्रोतसाधनको पहिचान, परिचालन र उपयोगसम्बन्धी ऐन, नियम र नीति निर्माणलगायतका बाँकी महत्वपूर्ण विषयको टुङ्गो लगाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नीति लिएको छ ।
मस्यौदामा प्रजातान्त्रिक समाजवादको आदर्शलाई चरितार्थ गर्ने र बिपीले खडा गरेको धरातलमा अडिएर राष्ट्र हितलाई जोड दिई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्ने काँग्रेसको नीति हुने जनाइएको छ । काँग्रेसले आर्थिक पुनरात्थानका लागि कृषि, पर्यटन, ऊर्जा र मानव क्षमता विकासलाई अभियानका रूपमा प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ ।
त्यस्तै, भारत र चीनसँग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्मक सम्बन्धबाट सन्तुलित सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहने मस्यौदामा उल्लेख छ । काँग्रेसले नेपालको आर्थिक, सामाजिक राजनीतिक रुपान्तरण गर्ने, सामाजिक न्याय र आर्थिक वृद्धिबीचको सन्तुलन कायम गर्ने, खाद्य सुरक्षा, ऊर्जा सुरक्षाजस्ता आधारभूत कुरा पूरा गर्ने मूल नीति भनेको छ । त्यस्तै, स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकता मान्ने, आत्मनिर्भरताउन्मुख अर्थनीति अँगाल्ने तथा ज्ञान र प्रविधि विकाससहितको दिगो विकासमा जोड दिने मुख्य नीति रहने मस्यौदामा उल्लेख छ ।
महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तयार पार्न काँग्रेसले कार्यवाहक सभापति पौडेलको संयोजकत्वमा ३५ सदस्यीय नीति तथा कार्यक्रम प्रस्ताव समिति गठन गरेको थियो । समितिमा भएको छलफलका आधारमा कार्यदलले मस्यौदा तयार पारेर केन्द्रीय समितिमा पेस गरिएको थियो ।
केन्द्रीय समितिबाट पारित नीति तथा कार्यक्रम महाधिवेशनबाट पारित भएपछि मात्रै पूर्ण हुनेछ । बैठकमा पार्टीका महामन्त्रीले महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमाथि पनि छलफल भएको थियो । महामन्त्रीको प्रतिवेदन केन्द्रीय समितिले पारित गर्नु नपर्ने भए पनि छलफल गरेर महामन्त्रीलाई सुझाव दिइएको नेता गगन थापाले जानकारी दिनुभयो । रासस
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



