गजलमय बन्दै गजल मुशायरा सम्पन्न 

-- / प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३
14315944_10208978634675317_254045719_oबिगतका दुइ गजल मुशायराको सफल श्रृंखलामा रमेका सिड्नीका गजल पारखीहरुका लागि अभुतपुर्व गजलमय बन्दै तेस्रो श्रृंखला ‘गजल मुशायरा  २०१६’ सम्पन्न भई सकेको छ ।  नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया र एनआरएनए अस्ट्रेलियाद्वारा संयुक्त रुपमा आयोजित यस कार्यक्रम गत सेप्टेम्बर ११, आइतबारका दिन एसफिल्ड स्थित एसफिल्ड पोलिश क्लबमा सम्पन्न भएको हो । मोती जयन्तिको अवसर पारेर आयोजना गरिएको गजल मुशायराको यस श्रृंखलामा गजल प्रेमीहरुको बाक्लो उपस्थिती सहित शुरूबाट अन्त्यसम्मै  दर्शकहरुको तालीको गड्गडाहट र वाह वाह सँगै सम्पन्न भएको थियो।
करिब ३ घण्टा सम्म चलेको गजलको एउटा सम्पूर्ण यस कार्यक्रममा मेल्वर्नकी पार्वती पहारी, पर्थका गणेश घिमिरे,  अल्बेरीका दुर्गा रिमाल र सिड्नीबाट निरज जोशी, निमेष भण्डारी, देव पाठक, गणेश गौतम, सिर्जना थापा, बुद्धि सागर दवाडी, सजल नयन र  विजय सुवेदी सहित ११ जना गजलकारहरुको देश,प्रेम,माया, नशा सम्बन्धी लेखिएका गजलहरू बाचन गरेका थिए ।  सिड्नीलाई कर्मभूमि बनाएका चर्चीत गायक आशिष श्रेष्ठले उक्त अबसरमा  दिपक निरौलाको ‘आज अल्ली अल्ली वेशी’, विज्ञान  कँडेलको ‘के नशा छ’, जितेन्द्र  मल्लको ‘त्यो तिम्रो जवानी’ र शिव परियारको स्वरमा सजिएको ‘क्या दामी भो’  गजलहरू गाउँदा कार्यक्रम स्थल संगीतमय समेत बनेको थियो भने कविता आचार्य, स्वेता पौडेल र सुचना पौडेलको  नृत्य कार्यक्रमको अर्को आकर्षण पक्ष रहेको थियो ।received_10208986426430106
साहित्यकार सुरेन्द्र दवाडीको चुस्त कार्यक्रम सन्चालन शैलीले रौनकता थपेको कार्यक्रममा समाजसेवी पदम शाक्य र साहित्यकार केदार पोख्रेलले गजल मुशायरा पहिलो र दोश्रो संस्करणका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।  नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान उपाध्यक्ष तथा गजल मुशायरा कार्यक्रमका संयोजक जितेन्द्र मल्लका अनुसार हरेक बर्ष मोती जयन्तिको अवसरमा २०१४ देखी गजल मुसायरा कार्यक्रम आयोजना हुदै आएको छ  । कार्यक्रमको मुख्य उदेश्य प्रबासमा नेपाली भाषा,साहित्य तथा गजलको जगेर्ना गर्ने उदेश्य रहेको बताउदै मल्लले कार्यक्रम सफल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
( तस्बिर – RP production )