एनआरएनए अग्रज र समुदाय सदस्य बीच अन्तरक्रिया सम्पन्न 

-- The NTA / प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३
nrna-antarkriyaएनआरएनए आइसीसी युवा संयोजक विजय पोखरेलको उपस्थिति र केन्द्रिय अध्यक्ष शेष घलेको बिशेष उपस्थितिमा गत सेप्टेम्बरको ११ मा सिड्नीमा नेपाली समुदायका सदस्य बिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हालै अमेरिकाको न्यु जर्शीमा सम्पन्न एनआरएनएको क्षेत्रिय सम्मेलनका उपलब्धिहरु र अक्टोवर १ देखि ४ सम्म काठमाण्डौमा हुन गइरहेको अन्तर्राष्ट्रिय युवा सम्मेलनको जानकारी दिने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एनआरएनए अष्ट्रेलियाका कार्यबाहक अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए।
कार्यक्रममा एनआरएनए केन्द्रिय अध्यक्ष शेष घलेले हालै सम्पन्न क्षेत्रीय सम्मेलन, यसले पारित गरेका कार्यदिशा र एनआरएनए संग जोडिएका बिभिन्न समसामयिक बिषयहरुमा सबिस्तार आफ्नो धाराणा राखेका थिए ।  कार्यक्रममा “युवाहरुमा सामाजिक उद्दमशिलताको विकाश, सामाजिक उद्दमशिलता नै देश निर्माणको आधार” भन्ने नाराका साथ आगामी अक्टोवर १ देखि ४ सम्म काठमाण्डौमा हुन गइ रहको अन्तर्राष्ट्रिय युवा सम्मेलनका बारेमा एनआरएनए आइसीसी युवा संयोजक विजय पोखरेल उपस्थितलाई जानकारी गराएका थिए । पोखरेलका अनुसार नेपाल सरकार खेलकुद तथा युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद र एनआरएनए संयुक्त आयोजनामा उक्त युवा सम्मेलन हुन लागेको हो ।  जस अनुसार पहिलो २ दिन (अक्टोवर १ र २)  नेपाली युवाहरुको ग्लोवल सम्मेलन र दोश्रो चरणमा (अक्टोवर ३ र ४ मा)  युवा महोत्सव हुनेछ ।  दशैंको आसपासमा हुदै गरेको यस कार्यक्रममा सके सम्म प्रतक्ष्य सहभागी, नसकेमा पनि सल्लाहा सुझाब सहित अप्रतक्ष्य सहभागी हुन पोखरेलले सबै युबाहरुलाई अनुरोध गरे ।
एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा, नारी निकुञ्जकी संयोजक सिर्जना संग्रौलाले उपस्थितलाई स्वागत र पब्लिक रिलेसन अफिसर शमिम अनवर, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले एनआरएनएका गतिबिधि लगाएतका बिषयमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दिपक खड्काले स्थापना काल देखि आहिले सम्म आउदा एनआरएनएमा आएको ब्यापकता प्रति प्रशन्नता व्यक्त गर्दै गैरआवासीन नेपालीका लागि एनआरएनएले गरेका कामहरुको प्रसंशा गरेका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरुले एनआरएनए हालका गतिबिधिमा केन्द्रित रहेर अध्यक्ष शेष घले सँग बिबिध प्रश्नहरु राखेका थिए । एनआरएनए न्यु साउथ वेल्सका संयोजक एबम हालका कार्यबाहक अध्यक्ष दिनेश पोखरेलको छोटो समयको सूचनाका बाबजुद पनि उपस्थित सबैलाई धन्यबाद दिदै एनआरएनए भविष्यमा पनि यसरी नै समुदायका सबैको सल्लाहा सुझाब सहित आगाडी बढ़ने बताए ।