मदन तथा जगदम्बाश्री पुरस्कार वितरण

-- ?>

puraskar

काठमाडौं— मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ । गुठीले आइतबार ललितपुरमा आयोजित कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जोशी र जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित लीलबहादुर क्षेत्रीलाई पुरस्कार वितरण गरेको हो । जोशीले ‘ऐना’ कृतिका लागि यस वर्षको मदन पुरस्कार पाएका हुन् ।
मदन पुरस्कारबाट सम्मानित स्रष्टा जोशीले आफूले साना तर संवेदनशील विषय उठान गर्दा यो पुरस्कार पाएको बताएका छन् । मैले ‘ऐना’मा आजको सामाजिक गतिले अध्यारोमा नै छाड्न खोजेको विषयको उठान गरेको छु, जोशीका भन्छन्—‘आफूले पुरस्कार पाउदा सुदूरपश्चिमले पुरस्कार पाएको अनुभव भएको छ ।’
जगदम्बाश्री पुरस्कारबाट सम्मानित भारतको आसाम निवासी साहित्यकार क्षेत्रीले आफूले यो पुरस्कार नेपाली भाषा साहित्यमा समर्पित स्रष्टालाई दिएको सम्झेको बताए । नेपाली भाषा र साहित्य संस्कृतिले छरपष्ट नेपाली जातिलाई एकताको सूत्रमा बाधेको उनले बताए । उनी भन्छन्—‘विभिन्न समयमा लेखिएका नेपाली साहित्यको सूक्ष्म अध्ययनको पनि खाचो छ ।’
पुरस्कारका बारेमा बोल्दै स्रष्टा प्रकाश सायमीले कुनै पनि स्रष्टाले पुरस्कार पाउदा उसले त्यो समयका समकालीन स्रष्टाको प्रतिनिधित्व गर्ने बताए ।
गुठीका अध्यक्ष कमलमणि दीक्षितले जोशीको ‘ऐना’ले मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्षेत्रीले पाएकोमा पनि आफू हर्षित भएको बताए ।
मदन पुरस्कार र जगदम्बाश्री दुवै पुरस्कारको राशि दुई – दुई लाख रुपैया छ ।