बन्दको प्रभाव आंशिक

-- ?>

banda
काठमाडौं— नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आइतबार आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ ।

खाद्य सुरक्षाको माग गर्दै उक्त पार्टीले गरेको बन्दका कारण काठमाडौँमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । साझा बस प्रहरी सुरक्षामा सञ्चालन भइरहेको छ । निजी सवारी साधन भने सडकमा प्रशस्तै देखिन्छन् ।
बन्दका कारण राजधानीका विद्यालय, क्याम्पस, पसल बन्द छन् । सडकमा बन्दकर्ताका खासै सहभागिता नभए पनि बन्दको प्रभाव परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट ७६ जना बन्दकर्ता पक्राउ परेको जानकारी दिएका छन् ।

सडकमा बन्दकर्ता देखिए प्रहरीले तत्काल पक्राउ गरिरहेको छ ।

सिन्धुलीमा आज बिहान माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको स१च ११४४ नंको जीपमा आगजनी गर्दा जीप पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पाँच सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए । आगजनी भएको जीपमा कुनै पनि यात्रु नरहेको र आफूलाई गाडीबाट निकालेर जीप जलाइएको चालक रामचन्द्र महतोले बताए ।
दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा १०प २४० र स्थानीय रवीन्द्र पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको छ । अज्ञात समूहले करिब राती २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाइ छ । घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाएको र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको छ । आगो नियन्त्रणमा नआएको भए घरमा समेत आगलागी हुन सक्ने प्रहरीको भनाइ छ । आगलागीमा बन्दकर्ता चन्द माओवादीको संलग्नता रहेको स्थानीयले बताएका छन् ।