सिनेटरको नेपाललाई धन्यवाद

-- नारायण खडका ?>

cenatorकरिब १० दिनको नेपाल भ्रमणमा गएर फर्किएकी साउथ अष्ट्रेलियाकी सिनेटर जीङ्ग लीले एक कार्यक्रमको आयोजना गरेर नेपाल र सबै नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।
नेपाली समुदाय र नेपालीबिच नजिक भएर काम गरिरहेकी सांसद लिले ब्यवसायिहरु सम्मिलित १२ जनाको टोलीको नेतृत्व गर्दै नेपाल भ्रमण गरेर आएकी हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दहाल लगायतका अन्य मन्त्री, सांसद लगायत पर्यटन बोर्डका अधिकारीहरुसँग भेट गरेकी थिईन् । नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी लिने र सबैलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने मुख्य उद्देश्यका साथ भएको उनको भ्रमणलाई यहाँस्थित वाणिज्यदुत दीपक धमला र एनआरएन सचिव नविन पन्तले सहयोग पुरयाएका थिए ।
एडिलेडस्थित संसद भवनमा आयोजित कार्यक्रमा लिले नेपाल आफुले सुनेको भन्दा सुन्दर रहेको प्रतिक्रिया दिएकी थिईन् । उनले नेपालीहरु अत्यन्तै मिलनसार र सहयोगी भएको बताउँदै नेपाल र अष्ट्रेलियाको बिचमा रहेको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएकी थिईन् । सिस्टर सिटीको सम्बन्धलाई स्थापित गर्ने, दुई देशका बिद्यालयहरुबिचमा आपसी सम्बन्ध स्थापना गर्ने लगायतका बिषयमा उनले चर्चा गरेकी थिईन् ।
कार्यक्रममा टोलीमा सहभागी सबैले नेपाल आफुहरुले सुनेको र सोचेको भन्दा सुन्दर रहेको बताउँदै आफ्ना साथीहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गरिरहेको जानकारी गराएका थिए । त्यसैगरि कार्यक्रममा सांसद लिले नेपाल भ्रमण गर्दा पर्यटकको रुपमा मात्र नभएर त्यहाँ रहेका अनाथालयहरुमा केही सहयोग पुरयाउने उद्देश्यका साथ भ्रमण गर्न समेत सुझाव दिएकी थिईन् । यसैगरि उनले आफुले संसदमा नेपाल भ्रमणको बारेमा जानकारी समेत गराएको बताएकी थिईन् ।