नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि १ सय ६२ जनाको उम्मेद्वारी

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७२

नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि १ सय ६२ जनाको उम्मेद्वारी परेको छ।

निर्वाचन समितिले विहिवार विहान ८ बजेदेखि मनोनयनको समय तोकेकामा साँझसम्म सभापति र कोषाध्यक्षको पद्मा सहित १ सय ६२ जनाको उम्मेद्वारी परेको हो। सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाको मात्र उम्मेद्वारी दर्ता भएको छ। यस्तै, कोषाध्यक्षमा देउवा प्यानलकै चित्रलेखा यादवले उम्मेद्वारी दर्ता गराउनुभएको छ। देउवा प्यानलका महामन्त्रीका उम्मेद्वार अर्जुननरसिंह केसीले भने उम्मेद्वारी दर्ता गराउनुभएको छैन। यस्तै, कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलका उम्मेद्वारले पनि मनोनयन दर्ता नगराएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।

पहिलो दिन २५ जना खुला केन्द्रीय सदस्यका लागि ४८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। खुला केन्द्रीय सदस्यमा खुमबहादुर खड्काले पहिलो नम्बरमा उम्मेद्वारी दर्ता गराएका छन्।

महेश आचार्य, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा. प्रकाशशरण महत, प्रदिप गिरी, चन्द्र भण्डारी, प्रदिप पौडेल, एन पी साउद, तारानाथ रानाभाट, रमेश लेखक, मनमोहन भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, लक्ष्मणप्रसाद घिमिरे, डा. शेखर कोइराला, गोविन्दराज जोशी र विनयध्वज चन्दले खुलातर्फबाट उम्मेद्वारी दर्ता गराएका छन्।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेल, सांसद्हरु राजन केसी, रामहरि खतिवडा र बद्री पाण्डेले पनि खुलाबाटै उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै, एउटा प्रदेशबाट २ जनाका दरले केन्द्रीय सदस्य चयन गरिनेमा १ नम्बर प्रदेशमा ९, ३ नम्बर प्रदेशमा १० तथा ५ र ७ नम्बर प्रदेशमा ८/८ जनाको उम्मेद्वारी परेको छ। २, ४ र ६ नम्बर प्रदेशमा ३/३ जनाले मात्रै उम्मेद्वारी दर्ता गराएका छन्।

महिलातर्फको ६ सीटमा प्रतिमा गौतम, डा. डिला संग्रौला, पुष्पा भुषाल, अम्बिका बस्नेत, इश्वरी न्यौपाने लगायतका २२ जना महिला नेतृको उम्मेद्वारी परेको छ। निर्वाचन समितिले उम्मेद्वारी दर्ताको समय शुक्रबार अपरान्ह १२ बजेसम्म तोकेको छ।

कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको नयाँ नेतृत्वका लागि आफ्नो उम्मेदवारी शुक्रबार बिहान दर्ता गर्ने भएका छन्।
सभापति पदसहित छुट्टै प्यानल घोषणा गरेका पौडेलले बिहीबार पार्टी महाधिवेशनको उद्‍घाटनमा व्यस्त रहनु परेपछि आफ्नो उम्मेदवारी शुक्रबार बिहान ९ बजे गर्ने उनका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए।
पौडेलको नेतृत्व अस्वीकार गर्दै सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका सिटौलाले पनि भोलि मात्रै उम्मेदवारी दिने तयारी गरिरहेको उनी निकट स्रोतले बताएको छ।
पौडेलले आफ्नो प्यानलमा महामन्त्री पदका लागि विपी पुत्र शशांक कोइरालालाई अगाडि सारेका छन भने सिटौलाले युवा नेता गगन थापा र उमाकान्त चौधरीलाई क्रमशः महामन्त्री र कोषाध्यक्षको उम्मेदवार बनाउने घोषणा गरिसकेका छन्।
सभापति पदका अर्का पत्यासी वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी बिहिबार अपरान्ह वारेसनामा मार्फत दर्ता गरिसकेका छन्। देउवाले आफ्नो प्यानलमा अर्जुननरसिंह केसी र चित्रलेखा यादवलाई महामन्त्री र कोषाध्यक्ष पदमा अगाडि सारेका छन्।