तीन दलको वार्ता निष्कर्षविहिन

-- ?>

काठमाडौं- प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बुधवार बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र तथा एमालेका शीर्ष नेताहरुबीच भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संसदको अवरोध हटाएर संविधान संशोधनको विषय प्रक्रियाबाटै टुंगो लगाउन गरेको प्रस्ताव एमालेले अस्वीकार गरेको छ ।
संविधान संशोधन, निर्वाचन सम्बन्धी विधेयक, लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव एवम् स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन लगायतका विषयमा प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्न समेत प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले एमालेसँग आग्रह गरेको कांग्रेस नेता एवम् गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिएका छन् ।
बैठकमा एमाले अध्यक्ष केपी ओलीले निर्वाचनको प्रक्रिया शुरु भए मात्र संसदको अवरोध हटाउने बताएको निधिले जानकारी दिएका छन् । ओलीले निर्वाचनको प्रक्रियाअघि बढेमात्र संसदमा जारी अवरोध हटाइने भन्दै संविधान संशोधनको प्रक्रिया अघि बढाउनका लागि भने संसद सूचारु हुन नदिने बताएका थिए । बैठकपछि एमाले नेता भीम रावलले प्रधानमन्त्रीले निषेधको राजनीति गर्न खोजेको आरोप लगाए । रावलका अनुसार सहमति कि विमति कुन बाटो रोज्ने भनेर प्रधानमन्त्रीलाई भनिएको छ ।
निर्वाचनसम्बन्धमा भने तीन दलबीच समान धारणा रहे भए पनि संशोधन प्रस्ताव अघि बढाउन संसद सुचारु गर्ने विषयमा तीन दलबीच सहमति हुन सकेन ।
बैठकले स्थानीय निकायको निर्वाचनको मिति पनि निर्धारण गर्न नसकेको बताइन्छ ।