जब देशलाई दुख्छ, हामी एक हुनु पर्छ

-- सुजित सिग्देल / प्रकाशित मिति : सोमवार, फाल्गुन २, २०७३

‘धेरै छ गर्नु स्वदेशको सेवा, नेपाली बन्नलाई…..

शिर ठाडो पारि नेपाली भन्ने म नै हु भन्नलाई

होइन भने नेपाली न भन ……..’

गाेपाल योञ्जनको स्वरमा वर्षौंदेखि गुञ्जिँदै आएको माथि उल्लेखित गीतका यी शब्दहरूको अर्थ तब झन् गहिरियो, जब देश एकपछि अर्को समस्याले बिथोलिइरह्यो । राजनीतिक अस्थिरता र मानव निर्मित समस्याले गिजोलीरहेको बेलामा प्रकृतिले पनि हामीलाई नराम्रोसंग धोका दियो । हो, हजारौंको मृत्यु, लाखौ परिवारको बिचल्ली अनि अर्बौंको भौतिक संरचनाको तहसनहसबीच पिडितले राज्यतिर निन्याउरो आँखाले हेरेको डेढ वर्ष पुग्न लागिसक्यो । राज्य अथवा सरकार सधैं आयोग, रिपोर्ट तथा पदको बाँडफाँडमै अलमलिँदै गर्दा ईश्वरीय रुपमा जनता माझबाट जनताको लागि नै उदाहरणीय कार्य गरेर देखाउने धुर्मुस–सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरे सबैको पुजनीय भएका छन् ।

एकै छिन् प्रिय हुन सजिलो छ, तर पीडै–पीडामाझ आफुलाई सम्हाल्दै लामो समयसम्म एकपछि अर्को गर्दै उदाहरणीय कार्य गर्न कम्ता गार्हो कुरा होइन, तर इच्छा शक्ति हुनु पर्छ र नि:स्वार्थ आफुलाई समर्पण गर्नुपर्छ असम्वभ केहि छैन भन्ने उदाहरण पनि हुन् आदरणीय धुर्मुस–सुन्तली ।

पेशाले हाँस्य कलाकार, त्यही कलाकारिताले दिएको नाम धुर्मुस–सुन्तलीअनि त्यही कलाकारिताले दिएको नाता सम्बन्ध र जोडी धुर्मुस–सुन्तली । तीनै धुर्मस–सुन्तलीको जोडी आफैंमा फाउन्डेसन हुँदै विश्वभरका नेपालीको मन जितेर एकपछि अर्को परोपकारी तथा सामाजिक कार्यको उपनाम हुन पुगेका छन् ।

के गर्ने र कसो गर्ने भन्ने अलमलमै सबै रनभुल्ल हुँदै गर्दा समेत जम्मा साढे २ महिनाको छोटो अवधिमै काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी वस्ती धुर्मुस–सुन्तलीले पिडितलाई हस्तान्तरण गर्न सफल भए । यसमा निश्चय नै धुर्मुस–सुन्तलीले भने जस्तै नि:स्वार्थ भाव अनि त्यसैले दिएको ईच्छा शक्ति नै हो ।

काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी वस्ती पश्चात पनि धुर्मुस–सुन्तलीको भूकम्प पीडितको घाउमा मल्हम लगाउने अभियान रोकिएन, खाईपाई आएको कलाकारिता पेशालाई थाँती राखेर दूधे बालकलाई अभिभावकको जिम्मा लगाएर सत्कर्ममा हिँडेका धुर्मुस–सुन्तली र शुभचिन्तकहरूको बीचबाट जन्मियो धुर्मुस–सुन्तली फाउन्डेसन । त्यहि धुर्मुस–सुन्तली फाउन्डेसनको छायाँमा बसेर देश–विदेशका शुभचिन्तकको माया, मामता, सदभाव तथा करुणाभावलाई समेट्दै राहत वितरणदेखि साना–ठूला परोपकारी काम हुँदै सिन्धुपाल्चोकको मेलम्ची–८ गिरान्चौरका ६५ भूकम्प पीडित परिवारलाई विविध पूर्वाधार सहितको एकिकृत वस्तीको अनुपम उदाहरण स्वरुप नयाँ घर हस्तान्तरण गरेका छन् ।

 

सितारामदेखि धुर्मुस अनि कुन्जनादेखि सुन्तली

सोलोखुम्बु जिल्लामा जन्मिएका सिताराम कट्टेलले परिवारको बसाइँ–सराइसंगै बाल्यकाल झापामा बिताए । १७ वर्षको उमेरमा पहिलो पटक काठमाडाैं खाल्टो छिरेका सिताराम, सिताराम रहुँन्जेल कमैले चिने । उनलाई चिन्नेको संख्या उनको परिचय धुर्मुस बनेसंगै बढ्यो । झन् यो महाभूकम्पको प्रकोप र त्यसमा पनि सिमाना अवरोधसंगैको अघोषित नाकाबन्दीको मारले थिचिदाँको त्यो पीडामा आफ्नै हातले साबेल चलाएर उजाडिएको बस्ति निर्माणमा लागेका धुर्मुस धेरैका लागि आदर्श व्यक्ति बने, आशाको केन्द्र बने र उनलाई साथ दिईन् उनकै धर्मपत्नी कुन्जना घिमिरे अर्थात सुन्तलीले । ललितपुरमा जन्मिएकी सुन्तली हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत पर्दा हुँदै वास्तविक जिन्दगीमै धुर्मुसको जोडी बन्न पुगिन् र बन्यो गज्जबको सत्कर्म सहकार्यको जोडी अर्थात धुर्मुस–सुन्तली ।

‘हाम्रो पेशा मान्छे हसाउँने हो तर आफ्ना दर्शक लगायत सारा देश नै पीडाले छट्पटीएको बेला मुख बंग्याएर बस्न हाम्रो मनले मानेन,’ स्पष्टवक्ता धुर्मुस–सुन्तलीले एक स्वरमा भने । त्यसो त भूकम्प गए बखत उनीहरू अमेरिका थिए, आफ्नो कलाकारिता प्रदर्शन गर्न त्यो भन्दा पनि परोपकारी अभियान कै लागि सहयोग संकलन गर्न । धुर्मुस–सुन्तलीलाई नेपाल सरकारले सरसफाइ दूतमा नियुक्ति गरेको थियो ।त्यही शिलशिलामा उनीहरूले देशका निकै ठाउँ घुमे, देशमा स्वस्थ्यस्थिति, बाल स्वस्थ्य, महिला स्वस्थ्यको अति नै दयनीय स्थिति आफ्नै आँखाले देखे । सरसफाईका विभिन्न कार्यहरूसंगै उनीहरूको मनमा एउटा कुराले छोयो । लामो दुरी र राजमार्गमा चल्ने सवारीसाधनले यात्राको क्रममा दिशा–पिसाव गर्ने भए झर्नुस् भनेर एकान्त ठाउँमा रोक्छ । हामी भने खुल्ला दिसा पिसाब मुक्त देशको कल्पना गर्दैछौं अथवा नजिकैको गाउँ खुल्ला दिसामुक्त होला तर राजमार्गको हालत यस्तो छ । उनीहरूले सोचे, ‘हाम्रा राजमार्गमा पनि कम्तिमा प्रत्येक ३० किलोमिटरको दुरीमा सुविधासम्पन्न विश्रामस्थल तथा ट्वाइलेट हुनु पर्दछ ।’ यहि अभियानका लागि अमेरिका पुगेर सानो ठूलो सहयोग जुटाउँदै गरेका उनीहरूलाई भूकम्पको बज्रपातको खबरले एक छिन पनि बस्न मन मानेन, अनि फर्किए त्यति बेलासम्म संकलन भएको १६०० अमेरिकी डलर लिएर । राजमार्गमा ट्वाइलेट बनाउने कुरालाई छोडेर लागे उनीहरू पनि भूकम्प पिडितको राहत वितरणमा सक्रिय रुपले सहभागि भए ।

 

एकीकृत वस्ती बसाउने सोच

सिताराम कट्टेल ‘धुर्मुस’ हुनुभन्दा अगाडिदेखि नै विभिन्न कुरामा सौखिन थिए ।अर्काको नक्कल गर्ने र अभिनय उतार्ने बानीले विस्तारै उनलाई राष्ट्रिय कलाकार बनाइदियो, त्यसबाहेक उनको अर्को रुचिको विषय चित्रकला पनि थियो । उनी राम्रा चित्रेहरू कोर्थे, चिट्टिक्क परेका घरहरू बनाउन उनलाई साह्रै मन पर्दथ्यो । जब उनी कलाकारितामा जमे, नेपालका धेरै जिल्लाहरू त घुमे नै, विदेशका कयौं शहरहरू समेत घुम्ने र त्यहाँको विकास र सभ्यतालाई हाम्रो प्राकृतिक सुन्दरतासँग दाँज्ने मौका पाए ।

विनाशकारी भूकम्पले गरेको विनासपछाडि विस्तारै सामान्य जनजीवनतिर देश फर्कँदैगर्दा धुर्मुसले पनि सोचे, यो विनाशपछि यसलाई अवसरको रुपमा स्थापना गर्ने प्रायस गर्दै विकासको मूल फुटाउन सके कति राम्रो हुँदो हो । नेपाल जस्तो भौगोलिक संरचना भएको देशमा फरक–फरक दुरीमा गाउँवस्तीतथा छरिएर रहेको जनशक्तिलाई एकिकृत गर्न सके सडक, बत्ति र खानेपानीजस्ता पूर्वाधारहरूका लागि एउटै योजनाले समेट्न सहज हुने थियो । तर, सरकार सधैं झैं औपचारिकता, रिपोर्ट तथा आयोगमै अल्मलिने, त्यसमा पनि अस्थिर राजनीति, भदौरे मौसम जस्तै सरकार परिवर्तनका खेलले उनलाई विचलित पनि बनायो । यो काम हामी आफैंकिन गर्न प्रयास नगर्ने ? यहि सोचले जन्मियो एकिकृत बस्तीको सोच । धुमुर्सलाई साथ दिइन् सुन्तलीले अनि साथ दिए नेपाल भित्र र बाहिरका मनकारि नेपालीहरूले ।

 

काभ्रेको पहरी र गिरान्चौर एकिकृत बस्ती

एकीकृत बस्तीको सोच आएपछि नै धुर्मुस–सुन्तली काभ्रेको पाँचखाल नगरपालिका–१६ मा रहेको पहरी गाउँमा १८ परिवारको लागि नमूना बस्ती निर्माणमा लागे । भूकम्पको क्षतिको पूरा विवरण समेत नआइसक्दै धुर्मुस–सुन्तली स्वयं खटिएर पहरी गाउँ पुगे । यो योजना प्रारम्भ गर्दा उनीहरूसंग केही रकम मात्र थियो ।पहरी एकीकृत नमुना बस्ती सम्पूर्ण रुपमा सक्दा कुल ६९ लाख ५० हजार रुपैयाँ खर्च भएकोमा उनीहरू आफैंले नौ लाख रुपैयाँ लगाएका थिए । यसमा १८ वटा घरहरू छन् । दुई महिनाकै छोटो अवधिमा पहरी बस्ती निर्माण सकिएपछि उनीहरूको मनोबल झन् बढ्यो र आयो गिरान्चौर एकिकृत नमूना बस्तीको सोच । भूकम्पले असर गरेका देशैभरका विभिन्न ठाउँहरूमा आफ्नै खाले समस्या आउँदा नमुनाकै रुपमा बस्ती निर्माणको यो दोश्रो योजनाको ठाउँ छनोट र त्यससंगका अनुभवहरूको लामै फेरहिस्त छ धुर्मुस–सुन्तलीसंग । जेहोस्, सिन्धुपाल्चोकको गिरान्चौर धुर्मुस–सुन्तली फाउन्डेसनको दोस्रो रोजाइ बन्यो । उक्त योजना प्रारम्भ गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनको खातामा जम्मा १ लाख ७४ हजार रुपैयाँमात्र थियो । राष्ट्रिय पून:र्निर्माण प्राधिकरणको स्वीकृति र सुपरीवेक्षणमा निर्माण गरिएको गिरान्चौर एकीकृत नमूना बस्ती वातावरण, बालबालिका, अपा∙ तथा ज्येष्ठ नागरिकमैत्री तथा भूकम्पप्रतिरोधी देश कै नमुना बस्ती बनेर उपभोक्तालाई हस्तान्तरण भैसकेको छ । कुल ४ करोड ९१ लाख रुपैयाँको लागतमा निर्मित उक्त बस्ती ४ सय ८४ वर्ग फिट क्षेत्रमा फैलिएको छ । सबै ६५ घर र कोठासम्म, ५ वटा पार्कसम्म र एक खेलकुद मैदानसम्म अपांगमत्री अर्थात ह्वीलचेयर पुग्ने बाटो रहेको उक्त बस्ती सम्भवत: नेपालकै पहिलो अपांग मैत्री बस्ति हुनु पर्दछ ।

साढे पाँच महिनाको निरन्तर प्रयासबाट निर्मित गिरान्चौरलाई अब पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने थुप्रै पूर्वाधार भएको पनि धुर्मुस सुन्तली बताउँछन् ।तीन ब्लकगरि निर्माण गरिएको उक्त बस्तीलाई ‘होमस्टे’ का रूपमा व्यवस्थित गर्न तीनवटै ब्लकका तीन समिति र मूल व्यवस्थापन समितिले योजना बनाइसकेका छन् । त्यसका लागि मासिक वचत, तामाङ सांस्कृतिक टोली गठन र आवश्यक पोशाक तथा बाजाहरू जुटाउने काम प्रँरम्भ भएको छ भने अतिथिलाई घुमाउन एक किलोमिटर तल जर्कीखोला किनारस्थित कुण्डेश्वर महादेवको मन्दिरसम्मको बाटो सम्याइएको छ । कुण्डेश्वरमा मन्दिरसंगै ढु∙े कुण्ड र नागमाथि पल्टेका विष्णु (नारायण) छन् । पर्यटकलाई इन्द्रावती र मेलम्ची घुमाउने योजना बन्नुका साथै शंकरापुर डाँडोबाट गुम्बा चौरमा प्याराग्लाइडिङ गराउन शंकरापुर प्याराग्लाइडिङ प्रा.लि.संग एक तहको सहमति पनि भइसकेको छ । त्यति मात्र हुन सकेमा पनि आन्तरिक पर्यटन होम स्टे हुँदै यो एक राम्रै पर्यटकीय ठाउँको रुपमा विकसित हुनेछ, जुन देशका अन्य भागका जनताको लागि पनि प्रेरणाको श्रोत बन्नेछ ।

 

अबको योजना मुसहर बस्तीको

गएको वर्ष नै महोत्तरी जिल्लाको मुसहर बस्तीमा पुगेका धुर्मुस–सुन्तली त्यहाँको दर्दनाक अवस्था देखेर निकै भावुक बनेका थिए ।न्यूनतम मानवीय आवश्यकता भन्दा धेरै तल बाँचिरहेका मुसहर बस्तीका बासिन्दाहरूको शिक्षाको पहुँचको त कुरै छोडांै, सामान्य स्वस्थ्य उपचार समेत नहुँदा धेरैको अकालमा ज्यान जाने, बाल विवाह तथा अनेकौं कुरीतिको शिकार समेत थिए । बाहिरी मानिस आउँदा बोल्न समेत हिच्किचाउने उक्त बस्तीका बासिन्दाका लागि अघिल्लो बर्ष नै सानो ठूलो राहत कार्यक्रम पश्चात धुर्मुस– सुन्तलीले आफ्नो तेस्रो नमुना बस्तीको रुपमा नमुना एकीकृत मुसहर बस्ती बनाउने योजना रोजेका हुन् । मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती बसाउन चार करोड ७८ लाख रुपैयाँ आवश्यक पर्नेछ । बस्तीमा बसोबास गर्ने ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको जग हाल्ने काम करिव–करिव सम्पन्न भैसकेको छ । उक्त बस्तीलाई धुर्मुस–सुन्तली सद्भाव बस्तीको रुपमा निर्माण गर्न चाहन्छन् । उनीहरू कै शब्दमा यति बेला हामी राजनीति, क्षेत्रीय र भौगोलिक नारामा विभाजित छौं । हाम्रो एकता र भाइचाराको सन्देश दिन नेपालभरि र हाल विश्वभरी छरिएका नेपलीलाई कुनै न कुनै रुपमा यो परियोजानाको हिस्सा बन्न धुर्मुस–सुन्तलीले अनुरोध पनि गरेका छन् ।

 

अन्त्यमा,

परोपकारिता आफैंमा अलिकति नशा पनि हो । त्यसमा पनि कसै न कसैले त केही गर्नै पर्दथ्यो । कम्तिमा सुरुवात त गर्नै पर्‍यो । सधैंं सरकार र राज्यलाई मात्र दोष देखाएर त भएन । आफ्नी सानी छोरीलाई अभिभावकको जिम्मा लगाएर राष्ट्र निर्माणको हिस्सेदार बन्न हिंडेका धुर्मुस–सुन्तली, त्यसमा पनि सुन्तली जब छोरीलाई सम्झन्छिन्, निकै भावुक बन्छिन् । फेरि सम्हालिन्छिन् किनकि उनलाई थाहा छ, जब छोरी बुझ्ने हुन्छिन्, आफ्नो आमा–बाबुको यो बलिदान र कार्यको उनलाई निकै गर्व हुनेछ । उनी सबैको लागि गर्व गर्ने खालको पात्र बनेकी छन्, निर्माणस्थलमा आफ्ना श्रीमान्संग शारीरिक परिश्रम गर्दै खटेकी सुन्तली अर्थात् कुञ्जना सबैका लागि त्यसमा पनि हाम्रा दिदी–बहिनीका लागि त रोल मोडेल नै बनेकी छिन्, उदाहरणीय पात्र बनेकी छिन् । संसारका ठूला–ठूला विकास निर्माण र परिवर्तनहरू जिरोबाट नै सुरु भएको हो । त्यसैले सरकारको मुख ताकेर बस्ने हाम्रो बानीलाई परिष्कृत गर्दै हामी आफैं मानवता र सद्भावका लागि सहकार्य गरौं र राष्ट्र निर्माणलाई तपाई हाम्रो अभियान बनाउँ भन्ने सन्देशका साथ अगाडि बढेका धुर्मुस –सुन्तलीलाई हार्दिक नमन । उनीहरूले भने जस्तै रकेटको गतिमा र यसरी नै सामाजिक कार्यमा लाग्न सबैतिरबाट उनीहरूलाईनिरन्तर सहयोग मिलिरहोस् । यो जोडीको परोपकारी अभियान सधैं यसरी नै अगाडि बढोस् । उनीहरू सबैको लागि प्रेरणाको श्रोत बनिरहुन् ।