वैशाख ३१ गते स्थानीय चुनाव गर्ने सरकारको घोषणा

-- ?>

काठमाडौं- सरकारले आगामी मे १४ अर्थात वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले स्थानिय निर्वाचनका लागि वैशाख ३१ कै मिति सुझाएको थियो ।

सरकारले प्रारम्भमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । त्यसका लागि आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । यद्धपि सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो ।

यसअघि चुनाव घोषणाको तयारीका क्रममा सोमबार मन्त्रिपरिषद् बैठक तीन पटक बसेको थियो । विहान बसेको पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गर्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिने समय दिएको थियो ।

दिउँसो बैठकले १४ देशका राजदूत नियुक्तका लागि सिफारिस गरेको थियो भने पाँच सचिवको सरुवा गरेको थियो ।

सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिष्द्को बैठकले निर्वाचनको मिति घोषणा गरेको हो ।