सुन्दर देखिन के गर्छन् सेलिब्रेटी ?

-- सेलिब्रेटी अाेपेनियन मार्च अंक २०१७ / प्रकाशित मिति : शनिबार, फाल्गुन २१, २०७३

सुन्दर, आकर्षक तथा राम्रो देखिने हरेकको चाहना हुन्छ । सर्वसाधारणदेखि सेलिब्रेटीसम्म सकेसम्म सुन्दर नै देखिन मन पराउँछन् । ग्ल्यामर क्षेत्र भएकाले सेलिब्रेटीहरू त बाध्यताले पनि सुन्दर बन्नै पर्छ । कलाकारहरू रोल मोडल हुने भएकाले पनि सार्वजनिक समारोहमा उपस्थित हुँदा होस् अथवा दैनिक जनजीवनमा होस्, प्राय: सधैं सुन्दर देखिनु पर्ने बाध्यता छ । चलचित्रको छायांकन, कन्सर्ट, फेसन शो जस्ता सार्वजनिक समारोहमा त उनीहरूलाई व्यवसायिक मेकअप आर्टिष्टले नै सुन्दर देखाइ दिन्छन्, तर सामान्य अवस्थामा चाहिं उनीहरू सुन्दर देखिनका लागि के–के गर्छन् ? द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधी कृष्ण भट्टराईले केही सेलिब्रेटीहरूलाई उनीहरू सुन्दर देखिन के गर्छन् ? भन्ने जिज्ञासा राखेका छन् । उनीहरूको जवाफ जस्ताको तस्तै :

प्रमोद खरेल, गायक

म सुन्दर हुनका लागि धेरै परिश्रम गर्दिन तर केश लामो भएकाले त्यसलाई मिलाउन सेलिब्रेटी हेयर स्टालिष्ट नील डेभिड कटवालको सैलूनमा गइरहन्छु । कन्सर्टको क्रममा छालाको सुरक्षाका लािग क्रिमहरू लगाउँछु ।

 

राजबल्लभ कोइराला, अभिनेता

म मनबाट सुन्दर हुनु पर्छ भन्ने कुरामा विश्वास गर्छु । त्यसैले प्राय: सकारात्मक सोच्न मन पराउँ छु । बाहिरी सौन्दर्यका लागि सामान्य क्रिमहरू प्रयोग गर्छु ।

 

जीवन लुइँटेल, अभिनेता

केटाहरूलाई सुन्दर देखाउने त ड्रेसअपले नै हो । त्यसैले म आफ्नो व्यक्तित्व झल्कने ड्ेरसअप गरेरै सुन्दर देखिने प्रयास गर्छु । यसबाहेक खानपिनमा पनि विशेष ध्यान दिन्छु । सन्तुलित खानाले शरिर पनि सन्तुलित भैरहन्छ ।

 

सुगरिका केसी, पूर्व मिस नेपाल

म त जहिले सुन्दर देखिन प्रयास गरिरहन्छु । कसैले आकर्षक देखियो भनेको सुन्दा खुसी लाग्छ तर सुन्दर हुनका लागि व्युटिपार्लर धाइरहन्न । म निकै कम व्युटिपार्लर जाने सेलिब्रेटीमा पर्छु । आफ्नो शरिरलाई सुहाउने पहिरन मात्र लगाउँछु अनि सकेसम्म खुसी हुने प्रयास गरिरहन्छु । सधैं खुसी भयो भने सबै कुरा राम्रो देखिन्छ अनि आफूलाई पनि राम्री देखिन्छ ।

 

अनुष्का पाठक, गायिका

सुन्दर देखिन लाई त के–के गरिन्छ, गरिन्छ, सबै कसरी भन्नु ? मलाई त सधैं सुन्दर भैरहन मनपर्छ । राम्री हुनका लागि म आँखामा गाजल लगाइरहन्छु । चाडपर्व नजिकिँदै जाँदा अनुहारमा क्लिजिङ गर्छु । राम्रा–राम्रा कुर्ता सलवार लगाउँछु ।

 

नीता ढुंगाना, अभिनेत्री

सुन्दर बन्न त मेकअप नै गर्नु पर्ला नि, तर काममा यति व्यस्त भइन्छ कि मेकअप गर्ने फुर्सद नै हुँदैन । छायांकनको बेला त फूल मेकअप गर्नै पर्छ, अरु बेला समारोह हेरेर मेकअप गर्दै राम्री बन्ने प्रयास गर्छु ।

 

सपना अधिकारी, मोडल

म प्राय: आँखामा गाजल लगाइरहन्छु । सबैले मलाई नेचुरल व्युटि भन्छन् त्यसैले धेरै मेकअप गर्न मन पर्दैन । त्यसबाहेक म शरिरलाई सुन्दर बनाइराख्नका लागि खानपिनमा विशेष ध्यान दिन्छु । बिहान हल्का ब्यापाम पनि गर्छु अनि पहिरन लगाउँदा आफ्नो शरिरलाई सुहाउने मात्र लगाउँछु ।