गन्तव्य अष्ट्रेलिया नटुटोस सपनाहरु

सुरुका केहि दिन केहि बर्ष गार्हो सार्हो पर्ला तर आँफूलाई शैक्षिक रुपमा अब्बल गराउँदै लैजादा यहाँ अबसर पनि उत्तिकै छ । क्षणिक रमाइलोको लागि या उक्साहट र आँफूलाई राम्रो ज्ञान भएको बिषयलाई हल्का तरिकाले लिने, हल्का तरिकाले गइदिने गर्दा सानो लापरबाहीले ठूला ठूला दूर्घटना घटेका छन् । यसैका पछिल्ला उदाहरण हुन् अष्ट्रेलियामा हालै घटेका दुखद घटनाहरू ।
-- सुजित सिग्देल / प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३

चारैतिर समुन्द्रले घेरिएको अष्ट्रेलिया महादेश र यस भित्रको बिशाल देश अष्ट्रेलिया यति बेला बिश्वभरका अन्य देशका युवाहरू जस्तै नेपाली युवा पुस्ताको लागि पनि उच्च शिक्षा अध्ययन र उन्नत भविष्य निर्माणका लागि उच्च छनोटमा परेको छ । पराइ ठाउँ त्यसै पनि गार्हो हुन्छ धेरै कुराहरू असहज हुन्छन्, आफुलाई अभ्यस्त बनाउंँदै लैजानुको बिकल्प छैन, त्यसमा पनि हाम्रो परिवेश हामीले लिएको स्कुल र कलेजको शिक्षाले हामीलाई अग्लो हुन सिकायो होला तर मजबुत हुन सायदै सिकायो ।
पढ्ने जान्नको लागि हो, सहज जीवन जिउनको लागि चाहिने विविध कुरालाई सुसज्जित गराउन हो भन्दा पनि के
पढ्यो कति पढ्यो मै अल्झेको हाम्रो शैक्षिक प्रणालीले हामीलाई संधै प्रयोगात्मक ज्ञान र सकारात्मक सोच खड्की रहयो । त्यसैले सर्टिफिकेटको ठूलै फाइल बोकेर सीमापारि पुगेका नेपाली युबा युवतीहरू पनि आहिलेको प्रतिस्प्रर्धात्मक युगमा अलमल देखिन्छन् भने भर्खर १२ पास गरेर उच्च शिक्षाका लागि बाहिरिन खोज्नेका लागि त त्यसै असहज हुने नै भयो । अर्को तिर सुटकेस गुडाउँदै विमानस्थल पुग्दै गर्दा ठूलै सपना छताछुल्ल बनेर मानसपटल भरि विचरण गरको हुन्छ, जीबन न हो सोचे अनुसार चलेन भने, एक पछि अर्को समस्या तनाब र असफलताले कहिले काँही ति सपनाहरू टुट्न सक्छन् । यसरी सपनाहरू टुट्दै गर्दा केवल तिनका मात्र होइन तिनीहरू संग भावनात्मक रुपमा जोडिएका परिवार र आफन्त धेरैका सपनाहरू संगै टुट्ने खतरा हुन्छन् ।

विद्यार्थीको आकर्षण देश अष्ट्रेलिया
क्षेत्रफलको हिसाबले अष्ट्रेलिया नेपाल भन्दा लगभग ५२ गुणाले ठूलो छ, तै पनि यहाँका धेरै राज्यका हावापानी नेपाल सँग मिल्दो जुल्दो देखिन्छ । अनुकुल मिल्यो भने कमाएरै कलेज र युनिभर्सिटीमा मास्टर तहसम्मको शिक्षा लिन सकिने यस देश आहिले नेपाली विद्यार्थीका लागि निक्कै आकर्षण गन्तब्यको रुपमा बिकशित हुदै आएको छ । त्यसमा पनि भर्खरै अमेरिकामा ट्रंपले राष्ट्रपतिको कार्यभार सम्हाल्दै गर्दा र उनले लिएका नयाँ रणनीतिहरूले धेरै विद्यार्थीहरू अमेरिकामा रिस्क मोल्न नचाहने सम्भावना उत्तिकै छ । त्यसैले पनि अष्ट्रेलियामा अहिले आउँदै गरेको विद्यार्थीको अनुपात निक्कै बढ्न सक्ने धेरैको अनुमान छ । अर्को तिर पढाई सकिए पछाडि पनि स्किल माइग्रेसन अन्तर्गत प्रकृया पूरा गरि यतैको स्थाई अनुमति लिन समेत सजिलो हुने हुँदा पनि विद्यार्थीहरूको लागि यो देश झन् प्रथामिकतामा परेको छ । त्यसो भन्दैमा यो त्यति सहज पनि छैन जति कागजमा पढिन्छ । त्यसैले त जब युबा विद्यार्थी भाइबैनीहरू यहाँ आउछन् अनि उनीहरूले आकाश जमिनको फरक पाउँछन् ।त्यो भिन्नतालाई सहजताका साथ लिन नसक्दा या साथीभाइ, अभिभाबक, शैक्षिक परामर्शदाताबाट उचित सरसल्लाहा सुझाब नपाउँदा धेरै नब आगन्तुक विद्यार्थी भाइ बैनीहरू मानसिक बिचलन, विविध खाले डिप्रेसन र नैराश्यताको शिकार हुन पुगेका छन् । यहाँ आइ सकेको विद्यार्थी पनि बिभिन्न कुरामा चित्त बुझाउँदै आफ्नो उद्देश्य र चाहानाको बिषय भन्दा पनि भोलिको लागि सहज हुने या स्थाई अनुमति पाउन सकिने बिषयमा अध्ययन गर्न मनोबैज्ञानिक दबाब आउने हुँदा पनि उनीहरूमा खोइ के गरे के भन्ने सोच आइरहेको देखिन्छ ।

 

सुरक्षित अष्ट्रेलिया
सामाजिक सुरक्षा र अन्य सुरक्षाका दृष्टिले पनि अष्ट्रेलियालाई विश्वभर कै मानिसले सुरक्षित गन्तब्यको रुपमा लिन्छन् । त्यसमा पनि हामी नेपालीहरू यहाँ त्यसै पनि सुरुक्षित छौं किनकि हाम्रो परिचय इमान्दार, मेहनती र अनुशाशित छ जसले गर्दा नेपालीलाई हेर्ने दृष्टिकोण आँफैमा राम्रो छ । यदा कदा बाहेक नेपालीहरू भौतिक आक्रमणको शिकार बनेको अप्रिय घटनाहरू निक्कै कम सुनिन्छन् । त्यसैले सुरक्षाको बिषयलाई लिएर नब आगन्तुक अथवा यहीं रहेका नेपालीहरू खासै चिन्तित हुनु पर्ने देखिदैन ।

 

नेपाली समुदायका अप्रिय घटनाहरू र न्यूनीकरणको प्रयास
नेपालीको संख्या यति नै भनेर यकिन भन्न नसके पनि दक्षिण गोलाद्धमा रहेको यो देशमा हाम्रो उपस्थिति निक्कै मजबुत हुँदैछ । यहाँका सार्बजनिक स्थान, यहाँका कलेज अनि युनिभर्सिटीमा भेटिने नेपालीहरूलाई मात्र हेर्ने हो भने पनि हामी यहाँ अब संख्यात्मक रुपले कमजोर छैनौ । ८० को दशकमा अष्ट्रेलियामा रहेका अग्रजहरूको मुखबाट त्यति बेला मुश्किलले भेटिने नेपालीको कुरा सुन्दा कथा जस्तै लाग्छ । बितेको डेढ दशकमा यहाँ आएका नेपालीहरूले राम्रै प्रगति गरेका छन् । जागिरमा अब्बल ठहरिएका छन्, राम्रो ब्यापार गरेका छन् । जसै हाम्रो संख्या बढ्यो बिभिन्न खाले दुखद घटनाहरू घट्ने र बढ्ने क्रम बढी नै रहेका छन् । सञ्चो हुन नसक्ने रोग, दूर्घटनाहरू हुदै आत्महत्याका कारण पनि विविध अप्रिय घटनाहरू घटेका छन् । त्यसको अलाबा चारै तिर समुन्द्रले घेरिएको देश अष्ट्रेलियामा भू–परेबिष्ठित देशबाट आएका हामी नेपालीहरू र हाम्रा युवा विद्यार्थीहरू लाई यहाँको पानी अफाप सिद्ध नै भइ सकेको छ । गत २ बर्षमा मात्र छ जना होनाहार नेपालीहरूले यहाँको समुन्द्रमा अकाल मै ज्यान गुमाउनु पर्यो । जुन केहि सजगता अपनाएको भए टर्न सक्थ्यो भन्ने आहिले सबैको मन मस्तिष्कमा छ ।
यी र यस्ता सम्भाभित दुर्घटनाहरू रोक्न के गर्न सकिएला यसको जवाफदेहिता को हुने ? कसले यस्ता घटनाहरूलाई कम गर्न केहि अभियान या भिजन या कार्यक्रम ल्याउन सक्ला यो अहिले अष्ट्रेलियाको नेपाली समुदायमा सर्बत्र चलेको बिषय हो । नेपाली समुदायमा पर्न सक्ने सम्बाभित भबितब्य र दु:खद घटनाहरू र विद्यार्थी बर्ग मै पर्न सक्ने यस्ता घटनामा सहयोगी हात बढाउन सकियोस् भन्ने उद्देश्यले सामाजिक कल्याणकारी कोष र विद्यार्थी कल्याणकारी कोष गरि २ भिन्न कोषहरू यति बेला एन आर एन ए अष्ट्रेलिया ले ल्याएको छ । यति हुँदा हुँदै पनि अलिकति साबधानी अपनाईदिने हो भने सहजै टर्न सक्ने यो दूर्घटनामा एनआरएन अष्ट्रेलियाले भबिष्यमा गर्न सकिने कार्य बिशेष गरेर एनआरएनले नेपाल सरकारको शिक्षा मन्त्रालयसँग समेत सहकार्य गरेर पानी सुरक्षा सम्बन्धि बिभिन्न सूचनामूलक कार्यक्रमहरू गर्न लागेको एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले जानकारी दिए । एनआरएनले अष्ट्रेलिया अध्ययनका लागि आउने बिद्यार्थीहरूका लागि भिषा आवेदन प्रक्रियादेखि नै अष्ट्रेलियामा रहेका समुन्द्रहरूको जानकारी, त्यहाँ जाँदा अपनाउनुपर्ने सावधानीहरू, नियमहरूका बारेमा सरोकारवालाहरू सँगको सहकार्यमा जानकारी दिने भएको छ । जस अनुसार प्रत्येक कन्सल्टेन्सीहरूमा सोही जानकारी भएका पम्प्लेटहरू वितरण गरिनेछ भने परामर्शदाताहरूलाई समेत यसबारेमा बस्तुगत ज्ञान दिइनेछ । जसका कारण उनीहरूले अष्ट्रेलिया आउन चाहने बिद्यार्थीहरूलाई शुरुदेखिनै सुरक्षा सम्बन्धि जानकारी दिन सक्नेछन् ।
यसैगरि अष्ट्रेलिया आउनका लागि ‘नो अब्जेक्सन लेटर’ लिन शिक्षा मन्त्रालय जाने बिद्यार्थीहरूलाई पनि पानी सुरक्षा सम्बन्धि जानकारी समेटिएको पर्चाहरू हस्तान्तरण गर्ने बाताबरण बनाउन तयारी गरिरहेको अध्यक्ष सिग्देलले बताए । उनका अनुसार भिषा लागिसकेका बिद्यार्थीहरूलाई समेत अष्ट्रेलिया आउनुअघि अष्ट्रेलियामा अपनाउनुपर्ने सुरक्षा र यहाँका नियम कानुनका बारेमा जानकारी दिने सेमिनारको आयोजना गरिनेछ । काठमाडौमा रहेको अष्ट्रेलियाली दूतावास संग समन्यव गरि दूतावासले पनि यसबारेमा गर्न सक्ने सहयोगका बारेमा छलफल गरिने भएको छ ।

त्यसै गरि क्यानबेरामा रहेको नेपाली दुतावासले अष्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीहरूका लागि जानकारीमूलकभन्दा पनि ब्यवहारिक किसिमको कार्यक्रमहरू गर्ने तयारी गरिरहेको जनाएको छ । कार्यवाहक राजदूत राजेन्द्र पाण्डेका अनुसार यहाँका सम्बन्धित निकाय, प्रहरी लगायतका अधिकारीहरूसँगको सहयोग र सहकार्यमा ब्यवहारिक शिक्षा दिने किसिमले आउने दिनमा विविध कार्यक्रमहरू आयोजना गरिनेछ । त्यसको अलबा नेपाली समुदायका संघ संस्थाहरूले गर्ने यस्ता किसिमको कार्यक्रमहरूमा दुताबासको संधै सहयोग रहने पनि पाण्डेले जानकारी दिए ।

प्राय: नब आगन्तुक विद्यार्थी र अध्ययन कै क्रममा रहेकाहरूमा घट्न सक्ने यस्ता घटनामा सम्बन्धित कलेज वा विद्यार्थी बढी सम्पर्कमा रही रहने माइग्रेसन अनि एजुकेसन कन्सल्टेन्सीहरू अलिक बढी सजग बनिदिए सबैलाई सहज हुने थियो कि भन्ने भावनाहरू अहिलेका अष्ट्रेलियाका जमघटहरूमा आइरहन्छन यस्ता कुराहरूमा आफुले सहजकर्ताको भूमिका निभाई दिने र आफ्नो सम्पर्कका कलेज वा युनिभर्सिटीमा ओरिएण्टेसनका क्रममा पानी सुरक्षा सम्बन्धि कुराहरू बारे उल्लेख गरि दिनका लागि यहाँका एजुकेसन कन्सल्टेन्सीहरू ले अनुरोध गर्न सक्ने हो भने त्यो पक्कै पनि लाभदायक हुने थियो ।

यसै क्रममा केही बर्ष अगाडि मात्र आफै विद्यार्थीका रुपमा आएर आहिले सफल माइग्रेसन एजेन्ट र विद्यार्थी परामर्श दाताको रुपमा कार्यरत सन्जिब पाण्डे आरोप–प्रत्यारोपले समस्या समाधान नहुने ठान्छन् । उनको बिचारमा विद्यार्थीहरूमा जनचेतना जगाउने किसिमका कार्यक्रमहरू ल्याउनु अहिलेको एकदम ठूलो आबश्यकता हो जसका लागि शैक्षिक परामर्शदाता, एनआरएनए, अन्य सामाजिक संघसंस्था, शैक्षिक संस्थाहरू, मिडिया र विद्यार्थीहरू समेतको संलग्नता यसमा जरूरी छ । उनका अनुसार एनआरएनए, शैक्षिक परामर्शदाताको संस्था ‘एका’ र शैक्षिक संस्थाले समेत यसबारेमा केही कार्यक्रम ल्याउँदै गरेका छन् भन्ने खबर आएको छ जुन निक्कै सकारात्मक छ । जनचेतना जगाउने कार्यक्रम ल्याउनु एउटा कुरा हो, तर जबसम्म हामी आँफै सचेत हुँदैनौँ, यस्ता दूर्घटनाहरू हुने सम्भावना भने रही नै रहन्छ ।
पाण्डेका अनुसार हालसालै केही विद्यार्थीहरूको दु:खद् निधन भएको कारणले पानीमा सुरक्षासम्बन्धी जनचेतना जगाउनुपर्दछ भन्ने आवाज धेरै नै उठेको छ । तर उनको आफ्नो अनुभवमा यसको साथसाथै अरू दुईवटा डरलाग्दा समस्या हाम्रा विद्यार्थीहरूमा देखिएको छ । पहिलो, लागू पदार्थ दूर्वयसन र दोस्रो, ग्याम्ब्लिङ । यी विषयहरूमा पनि व्यापक जनचेतना र ‘सपोर्ट ग्रुप’ बनाएर अगाडि बढ्नु धेरै जरूरी भइसकेको छ ।

पूर्ण नेपाली लगानीको शैक्षिक संस्था म्रो बिजिनेश अफ इन्स्टिच्युटले पनि २०१७ को शैक्षिक शत्रबाट नेपाल लगाएत बिभिन्न मुलुकबाट अध्ययन गर्न आएका बिदेशी बिद्यार्थीहरूलाई लक्षित गरि ओरिएण्टेसन सेशनमा आधा दिनको पानी सुरक्षा र बीच सेफ्टी सम्बन्धि प्रयोगात्मक कक्षामा आफ्ना विद्यार्थीहरूलाई सहभागी गारई सकेको छ । ब्यबसायिक सर्फ प्रशिक्षक नै उपस्थित गराएर उनीहरू कै ट्रेनि∙ हल र नजिकै रहेको बोंडाई बीच मै लगेर सो प्रशिक्षण शेसन गरिएको दिपक खनालले बताए । उनका अनुसार जो सुकैका लागि पनि उपयुक्त हुने यस्ता कक्षाहरू नयाँ विद्यार्थीले पनि धेरै नयाँ कुरा सिक्ने अबसर पाए । हेर्दा सामान्य लागे पनि कयौं कुराहरू हामीले याद नगरेका हुन सक्छौं जुन यो शेशनले क्लियर भएको छ । अब विद्यार्थीहरू बाटै अन्य कक्षाहरूमा पनि प्रिजेन्टेसन गर्न लगाउने योजना रहेको र जसले गर्दा साबधानी अपनाउनु पर्ने कुराहरू सबैले थाहा पाउन सकुन् भन्ने कलेज प्रशासनको चाहना छ । यस लाई सबै नयाँ शैक्षिक सत्रमा नियमित कार्य तालिका मै राखेर निरन्तरता दिइने पनि खनालले बताए । नेपालीकै स्वामित्वमा संचालित हर्बर बिजिनेस कलेजका संचालक सुमन भेटवाल पनि नेपाली विद्यार्थीको हालै भएका दु:खद घटनाहरूले सबैलाई सचेत हुने एउटा अवसर मिलेको र आफ्नो तर्फबाट गर्न सकिने जुन सुकै सहयोगमा अगाडि बढ्न कलेज व्यबस्थापन टिम तयार रहेको बताए । पानी र अष्ट्रेलियाका बिच सुरक्षा सम्बन्धि जानकारीहरू सकेसम्म बिज्ञ बोलाएर नै गर्ने नत्र ओरिएण्टेसनका दिन बिद्यार्थीहरूलाई जानकारीमूलक तरिकाले ओरिएण्टेसन किटमा नै राख्ने गरि तयारी भइरहेको पनि भेटवालले जानकारी दिए । त्यसको अलवा नेपाली समुदायमा हुने यस्ता चेतनामूलक जुन सुकै कार्यक्रमका लागि पनि कलेजले सहयोग गर्ने उनले बताए ।

अधिकांश विदेशिनेहरू युवा बर्ग नै हुने गर्दछन् । बिश्वका ७५ देशमा फैलिएको संजाल सहितको प्रबाशी नेपालीहरूको संस्था एनआरएनए र त्यही संस्थामा रहेर संस्थाका युवाहरूको प्रतिनिधित्व गर्दै बिगत डेढ बर्षदेखि युवा संयोजकको भूमिका निर्बाहा गरि रहेका विजय पोख्रेल पनि संयोगले अष्ट्रेलियाबासी नै हुन् । युवाहरूको विदेशिने क्रम, बिदेशी भूमिमा आइपर्ने विविध समस्या जति लामो कुरा गरे पनि न सकिने बिषयहरू हुन् । यसलाई छोट्याउदै द नेपाली टाईम्स अष्ट्रेलियाको तर्फबाट यसरी युवाहरू बिदेशिदै गर्दा बिदेशी भूमिमा उनीहरूमा पर्ने विविध समस्या, हाल सालै अष्ट्रेलियाको समुन्द्रमा नेपाली विद्यार्थीमा घटेका दु:खद घटना र यसलाई न्यूनीकरण गर्न हामी सबैको प्रयासका बारेमा उनै गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका युबा संयोजक पोख्रेललाई सोधेका जम्मा ४ प्रश्न प्रश्नमा उनको उतर ।

तपाइँ एनआरएनए बिश्व संजाल कै युवा संयोजक हुनु हुन्छ ? देशको युवा शक्ति धमाधम बाहिर जादै छ, कसरि लिनु भएको छ ?
विभिन्न टेक्नोलोजी, बैज्ञानिक आविस्कार र सभ्यताको विकास संगै मानिसहरूको कर्मस्थल जन्मभूमिकै परिधीमा हुनुपर्छ भन्ने कुरामा मात्रै कसैले जोड दिन्छ भने कि उसले नबुझेर भनिरहेको छ कि नभए हाम्रा केहि नेपाली राजनैतिक नेताहरूको भाषणमा मसला थप्ने चेष्टा मात्रै हो । यो कुरामा अल्झिनुको साटो बरु खाडी क्षेत्रमा कामको खोजीमा गएर नसोचेको पीडा भोग्नु र प्रत्येकदिन जसो हाम्रा नेपाली दाजुभाइको लास फर्किनुको कारण र त्यसको निराकरणमा हाम्रो आवाज बुलन्द हुनुपर्ने र त्यसमा सरकारलाई प्रेसर दिनु पर्ने देखेको छु ।

बिदेशिएका युवाहरूमा विविध खाले शारीरिक त्यो भन्दा पनि मानसिक समस्याको शिकार देखिन्छन् ? केहि गर्न सकिएला ?
आफ्नो देश नेपाल र आफ्नो परिवार संगको साथ छोडेर विदेशी भूमिमा शिक्षा र कामको लागि जानुभन्दा अगाडि गर्नु पर्ने मानसिक र व्यबहारिक तयारीको लागि आँफू, आफ्नो परिवार, शैक्षिक अथवा कामका परामर्शदाता साथै सरकार यी सबैको भूमिका अपरिहार्य छ । यो बुझिदिए यो समस्या निकै कम हुन्छ । जान सम्भब भएका देशहरूमा परिवारका सदस्य, अझ भनौ बुवाआमा भेट्न आउने जाने हुन्छ भने यसले धेरै महत्व राख्दछ ।

अष्ट्रेलियाको कुरा गर्नु पर्दा धेरै बिद्यार्थीहरूको समुन्द्र (पानी) मा दु:खद घटना घटेको छ ? किन यस्तो भएको होला ?
अष्ट्रेलियाको समुन्द्रको दु:खद घटनाको मुख्य कारण लापरबाहीनै हो । संजोगले हुने घटनालाई कसैले टार्न सक्दैन तर लापरवाहीबाट भएका यी घटनालाई रोक्न माथि उल्लेख गरेभन्दा बाहेक त्यसमा अझ हाम्रो अष्ट्रेलियाको नेपाली समाज, संस्थाको भूमिकाको पनि जरुरी छ्र सामाजिक सस्थाले अवेरनेस कार्यक्रमका सहभागी मात्रै नभएर त्यो इन्फर्मेसनलाई विभिन्न संचार माध्यमबाट सबै अष्ट्रेलियाको नेपाली माझमा पुर्याउन सके मात्र त्यसको प्रभावकारिता रहन्छ्र ।

एनआरएनए, समुदायका संघ संस्था र मिडियाले अबका दिनमा के गर्दा पानी मात्र होइन अन्यत्र हुने दु:खद घटना युबा र विद्यार्थीहरूका समस्यालाई न्यूनीकरण गर्न सकिएला ?
एनआरएन लगाएत अरु सामाजिक सस्थाहरू समाजका हितका लागिनै गठन भएका हुन् भन्ने कुरा यसमा आबद्ध व्यक्तिले बिर्सिनु हुंदैन एनआरएन अष्ट्रेलिया बाट मलाई दिएको जानकारी अनुसार विभिन्न नेपाली मिडिया, अष्ट्रेलियन सरकारी संस्था र नेपाली समाजको सहकार्यमा विभिन्न अवेरनेस कार्यक्रमको पहल हुँदै छ्र साथै पिडितलाई अथवा उसका परिबारलाई पहिले भन्दा बढी प्रभाबकारी सहयोग गर्नका लागि सस्थाले बढी पहल गर्नु पर्नेमा जोड दिईएको छ । अर्को तर्फ घटना घटी सके पछाडि कसैले व्यक्तिगत रुपमा रकम उठाएर दुरुपयोग भएको कुरा विभिन्न संचार माध्यममा आएका थिए । यस्ता कुरालाई रोक्न र निरुत्साहित गर्न एनआरएनको पहल र सक्रियता बढ्नु पर्ने कुरापनि उठेका छन् । यस्ता सबै खाले अभियानलाई आम मानिससम्म पुऱ्याउन निश्चय नै मिडियाको ठूलो हात छ ।

 

विद्यार्थीहरू स्वयं नै बढी सजग हुनु पर्ने
कानुनी रुपमा बयष्क बनिसकेका विद्यार्थीहरू नै सम्भावित यस्ता दूर्घटनाहरूमा सजग हुनु पर्ने देखिन्छ । रोग कसलाई कति बेला लाग्छ थाहा हुने कुरो भएन यसका लागि आँफुलाई स्वस्थ बनाउने, खान पिनमा ध्यान दिने, मध्यपान धुम्रपान जस्ता कुराहरू बाट टाढा रहने गर्दा निश्चय नै विविध रोगहरूलाई जित्न सकिन्छ । पढाई, कामको तनाबका बीच यस्ता कुराको सेवनले झन कम्जोर बनाउने बिस्तारै मनोबल गिर्दै जाने र मनोबैज्ञानिक रोग को शिकार हुने सम्भावना बढी हुन्छ । अर्को तिर अष्ट्रेलियाको पानी हाम्रा खोला नालाको पानी भन्दा निक्कै फरक हुन्छ । पौडिन जानेको छु भन्दैमा पानीमा जानाले नै आजसम्मका घटनाहरू घटेका हुन् । कम्तिमा पनि पानी सुरक्षा सम्बन्धी अष्ट्रेलिया सरकारले जारी गरेका सुरक्षा अबधारणहरू र सरकारी वेबहरू मा पाईने जानकारी सके जति धेरै लिदा यहाँको बस्तुस्थितिको ज्ञान बढ्न सक्छ । अर्को तर्फ मदिरा पान गरेर पौडन जानु जस्तो भुल अरु केहि नहुन सक्छ । त्यसै गरि १/२ पटक रमाइलोको लागि त हो भनि सानो ठूलो जुवा या बाजी राख्ने ठाउँहरूमा जादै गर्दा धेरै विद्यार्थीहरू त्यसैको लत लागे जस्तो भएको छ । कामाउने, फि तिर्ने र भबिष्य उज्जल बनाउन खटिनु पर्ने विद्यार्थीहरू यस्ता कुराले क्षणिक रुपमा आफ्नो ट्रयाक गुमाउदा निक्कै ठूलो नोक्सानी हुन सक्छ ।
बिगतमा एनआरएनए ले यस्तै समुदायमा घट्न सक्ने घटनाका लागि कोष बनाउन भनेर कार्यक्रम गर्दा मुस्किलले २०० जना र ज्यादै न्यून विद्यार्थी उपस्थीति रहनु र त्यसैको केहि घण्टा पछाडि मात्र नजिकै भएको अर्को मनोरन्जनात्मक कार्यक्रममा हजारौंको भिड हुने घटना हेर्दा एक दुई जनाको मात्र नभई धेरैको लापरबाही तरिका प्रष्ट हुन्छ । त्यसै गरि अनुभबी बोलाएर विद्यार्थीहरूका समस्याका विषयमा छलफल गर्न बोलाइएको कार्यक्रम मै विद्यार्थीहरू नहुनु तर मौका पाउना साथ यहाँका संघ संस्थाले केहि गरेनन भनि अरु लाई दोष थुपार्ने कार्य नगरी आँफै अझ जिम्मेवारी महसुश गरेमा निश्चय नै एनआरएनए लगायतका संस्था र नेपाली दूताबासको सहयोग रहने नै छ ।

अन्त्यमा,
निशन्देह अष्ट्रेलियाविद्यार्थीहरू को लागि एकदमै आकर्षण गन्तब्य र उत्तम रोजाइ हो । आफ्नो मात्र होइन आश्रित परिबारका सदस्य र अन्य सदस्यका धेरै भन्दा धेरै सपनाहरू बोकेर उच्च शिक्षाको अभिलाषा सहित बिदेशिएको एक विद्यार्थीले संधै कर्तब्य बाट बिचलित नभई अर्जुन दृष्टिले आफ्नो उदेश्य प्राप्तिका लागि अडिग हुनु पर्दछ । हो सुरुका केहि दिन केहि बर्ष गार्हो सार्हो पर्ला तर आँफूलाई शैक्षिक रुपमा अब्बल गराउँदै लैजादा यहाँ अबसर पनि उत्तिकै छ । क्षणिक रमाइलोको लागि या उक्साहट र आँफूलाई राम्रो ज्ञान भएको बिषयलाई हल्का तरिकाले लिने, हल्का तरिकाले गइदिने गर्दा सानो लापरबाहीले ठूला ठूला दूर्घटना घटेका छन् । यसैका पछिल्ला उदाहरण हुन् अष्ट्रेलियामा हालै घटेका दुखद घटनाहरू । यहाँका अग्रजहरू संग नियमित सम्पर्कमा रहने, नेपालका अभिभाबकहरू संग सम्पर्कमा रहने । आफुलाई परेको समस्याको निराकरणका लागि सोध खोज गर्ने गरेमा एक्लो महसुश हुनु पर्दैन । फेरि पनि अबसरको खानी भएको यो देशमा मेहनती बनौं, इमान्दार बनांै, आफु र आफ्ना परिवारले देखेको सपना कहिल्यै टुट्ने
छैनन् ।