एनएएनटी द्धारा डार्विनमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत सहित होली पर्व हर्षोल्लासपूर्वक मनाइयो

-- कृष्ण रानाभाट, डार्विन / प्रकाशित मिति : मङ्लबार, चैत्र ८, २०७३

नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी (एनएएनटी) ले यही मार्च १२ २०१७ मा रङ्गको पर्व होली खेलौं, आत्मियता र भाइचाराको सम्बन्ध स्थापित गरौं भन्ने मूल अभिप्रायका साथ नेपालदेखि सुनौलो सपना बोकेर अष्ट्रेलिया डार्विनमा उच्चशिक्षा  हाँसिल गर्न आउनुहुने सम्पूर्ण विद्यार्थीहरुको सम्मानमा स्वागत तथा होली विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।कार्यक्रमको शुभारम्भ गर्दै एनएएनटीका एक्जुकेटीभ मेम्बर तथा स्टुडेन्ट ब्युरो को–अडिनेटर कृष्ण रानाभाटले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै एनएएनटीका गतिविधी र यसको महत्वमाथि प्रकाश पारेका थिए । साथै एनएएनटीले नेपाली कला संस्कृतिलाई चिनाउन र नेपाली समुदायलाई एकतामा बाँध्न सेतुको काम गरेको बताए ।

अद्भूत सहभागिता रहेको उक्त कार्यक्रममा एनएएनटी सदस्य तथा सिडियु विद्यार्थी दिपिका शर्माले नयाँ विद्यार्थीहरुलाई आइपर्ने समस्याहरु आँफू विद्यार्थी हुँदैगर्दा भोगेका भोगाइ तथा नयाँ विद्याथीहरुका लागि एनएएनटी कसरी सहयात्री हुन सक्छ भन्ने बारेमा आफ्ना विचारहरु व्यक्त गरेकी थिइन । त्यसै गरी विद्यार्थीको तर्फबाट डार्विनका पण्डित नारायण दाहालले एनएएनटीले यस्ता किसिमका कार्यक्रमहरु राखेर विद्यार्थीहरुमा अझै उर्जा थपेको बताउँदै एनएएनटी सम्पूर्ण डार्विनबासी नेपालीको साझा फूलबारी बनेकोमा खुसी व्यक्त गरेका थिए ।

त्यस्तै दोस्रो चरणको कार्यक्रममा एकआपसमा रंग दलेर आत्मियता साटासाट गरेको दृष्यले सबैको मन छोएको थियो । सम्पूर्ण उपस्थितहरु रंगको मजामा रंगिदै विभिन्न गीत संगीतमा झुमिरहेका देखिन्थे भने डार्विनको Gingle Water Garden नेपाली गीतहरुले गुञ्जायमान हुँदा पार्क वरपरका विदेशीहरु उत्सुकतापूर्वक कार्यक्रमहरु अवलोकन गरेका देखिन्थे । त्यस्तै कार्यक्रममा सहभागी अधिकांशले कार्यक्रम अति भब्यताका साथ सम्पन्न भएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई एनएएनटीले निरन्तरता दिनुपर्ने बताए । सोही अवसरमा उपस्थित सम्पूर्णकालागि विविक्यू तथा सफ्ट ड्रिंकको व्यवस्था गरिएको थियो ।