आरआर क्याम्पसमा अनेरास्ववियूको प्यानल निर्वाचित

-- ?>

काठमाडौं- रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्ववियूका तपेन्द्रबहादुर शाहीको प्यानल निर्वाचित भएको छ ।
मङ्गलवार राति सम्पन्न मतगणनामा अनेरास्ववियूका शाहीले ६९९ मत ल्याई अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत हरि पराजुलीले जानकारी गराए । शाहीसहित सचिव, कोषाध्यक्ष र ८ सदस्यको प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको हो । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी सङ्घका उत्तमवहादुर साउदले ३६७ मत प्राप्त गरेका छन् । सचिवमा नारायण शर्मा र कोषाध्यक्षमा संगम देवकोटा तथा अन्य ८ सदस्य निर्वाचित भएका छन् ।
सदस्यहरूमा मदन भण्डारी, दीपक खतिवडा, उज्वल न्यौपाने, जनक शाही, दिनेश बजगाँई, श्याम विक, सुजिता ढकाल र उर्वशी सिंह रहेका छन् ।
उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत समानुपातिक पदाधिकारी निर्वाचनमा आएको मतको आधारमा पछि चयन गरिने निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए । मङ्गलवार भएको निर्वाचनमा एकहजार २७६ विद्यार्थीले मतदान गरेका थिए । दुईपटक स्थगित भएको निर्वाचन सर्वोच्च अदालतले निर्वाचन गर्न अन्तरिम आदेश दिए पछि मङ्गलवार निर्वाचन भएको हो ।