सरकार र मोर्चा सहमति नजिक

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनबारे सहमति जुटाउन शुक्रवार राति बसेको सत्तारुढ दल र मधेशी मोर्चा बीचको सहमति नजिक पुगेको नेताहरुले दावी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, प्रस्तावमाथि मोर्चाको धारणा र ३१ बैशाखमा घोषणा गरिएको स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो ।
छलफल सकारात्मकरुपमा अघि बढेको र आज शनिवार हुने निर्णायक बैठकमा सहमति हुने सम्भावना रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिएका छन् ।
वार्ताको क्रममा सत्तारुढ दलका नेताहरु निकै लचक भएर प्रस्तुत हुनु भएको तथा परिमार्जन सहित संशोधन पारित गर्नका लागि करिब करिब सहमतिमा पुग्न लागिएको हो । शनिबार बस्ने बैठकमा सबै कुरा टुंगो लाग्नेमा आशावादी भएको उनको भनाइछ ।
बैठक निकै उत्साहवर्धक भएको र शनिबारसम्म ठोस सहमतिमा पुगिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका नेताहरु सहभागी थिए ।
सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर आज शनिबार दिउँसो २ बजे बस्ने बैठकमा टुंगो लगाउने सहमति भएको पनि लालले बताएका छन् ।