दोस्रो चरणको निर्वाचनमा मधेशवादी दल सहभागि हुने यादवको विश्वास

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

जनकपुर– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए पनि मधेशवादी दलहरु दोस्रो चरणको चुनावमा सहभागी हुने बताएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा फोरम अध्यक्ष यादवले १६ वैशाखमा संविधान संशोधनका लागि आवश्यक सांसद संख्या पुर्‍याउनै लागेका बेला दरबारिया शक्तिको चलखेलले त्यसो हुन नसकेको दावी समेत गरे ।
‘अहिलेसम्म प्राप्त उपलब्धीको रक्षाको लागि चुनावमा सहभागी हुने निर्णय गरेका छौं, यादवका अनुसार १७ वैशाखमा संविधान संशोधन प्रस्ताव पारित गर्नेगरी सत्तापक्ष र मधेश केन्द्रित दलले तयारी थाल्दा राप्रपाका १० जना सांसद पार्टी नेतृत्वसित सम्पर्कविहीन हुन पुगेपछि संशोधन हुन नसकेको भन्दै उनले यस्तै चलखेल बढिरहे प्राप्त उपलब्धी समेत गुम्ने भएकोले निर्वाचनमा सहभागी हुनु जरुरी रहेको बताए ।
यादवले राजपा नेपाल समेत दोस्रो चरणको निर्वाचनमा सहभागी हुने दावी गरेका छन् । ‘स्थानीय तहको संख्या वृद्धि गरे राजपा नेपाल पनि चुनावमा सहभागी हुन्छ, यादवका अनुसार मधेश विरोधी शक्तिलाई परास्त गर्न मधेश केन्द्रित दलहरु एकजुट भएर स्थानीय निकायको दोस्रो चरणको चुनावमा साझा उम्मेदवार उठाउन आफू प्रयासरत रहेका छन् । यादवले अहिलेसम्मका छलफलहरु सकारात्मक र उपलब्धीमूलक रहेको बताए ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनको नतिजाबाट आफूहरु निरुत्साहित नभएको बरु हिमाली जिल्लाहरुमा समेत आफ्नो आधार खडा गर्न सकिएको नेता यादवको भनाई छ ।