काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर विजयी

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
३१ वैशाखमा भएको निर्वाचनको १५ दिनपछि घोषित परिणाम अनुसार शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई १९ हजारभन्दा बढी मतले हराउँदै निर्वाचित भएका छन् । उनले ६४ हजार ९१३ मत प्राप्त गरे भने जोशीले ४५ हजार २६९ मत प्राप्त गरे ।
त्यस्तै विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ र साझा पार्टीका किशोर थापाले १८ हजार ४९२ मत पाए । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९०६ मत पाए ।
उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भएकी छन् । एमालेको समेत समर्थन रहेका राप्रपाका राजाराम श्रेष्ठलाई भारी मतले हराउँदै खड्गी निर्वाचित भएकी हुन् ।
उपमेयर निर्वाचित खड्गीले ५८ हजार ९५२ मत पाइन् भने राप्रपाका श्रेष्ठले ३४ हजार ८५४, साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ र माओवादी केन्द्रकी सुशीला पौडेलले १० हजार ४४८ मत पाए ।
कुल दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने ६ हजार १८३ मत बदर भएको थियो ।

रजनीतिमा तीन दशकदेखि क्रियाशील रहेर पनि आमप्रचारमा कमै सुनिने विद्यासुन्दर शाक्य अन्ततः काठमाडौँ महानगरपालिकाको प्रमुख बनेका छन् ।
समृद्ध, सुन्दर र चौबीसै घन्टा जीवन्त सहर बनाउने अठोटका साथ निर्वाचनमा होमिएका शाक्यको काँधमा मुलुकको राजधानी रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा आगामी पाँच वर्ष नेतृत्व गर्ने जिम्मेवारी आएको छ ।
काठमाडौँको भित्री सहरका स्थापित राजनीतिक कार्यकर्ता शाक्यको काँधमा नयाँ संविधानपछिको अधिकारसम्पन्न स्थानीय निकायमध्ये मुलुकको केन्द्रभागको शक्तिशाली महानगरको बागडोर सम्हाल्ने चुनौतीपूर्ण जिम्मेवारी आएको छ ।
काठमाडौँकै लगनटोलमा विसं २०२० जेठ ९ गते जन्मिएका शाक्यले त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट विद्यालय प्रवेशिका उत्तीर्णपछि शाक्यले शङ्करदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।
शाक्य हाल एमालेको काठमाडौं जिल्ला कमिटीका सचिव समेत हुन् । विसं २०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा उनी काठमाडौँ वडा नं २१ को अध्यक्षमा निर्वाचित भएका थिए ।
उनले निर्वाचनमा भाग लिएका नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, विवेकशील नेपाली दल, साझा पार्टीलगायतसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।