अष्ट्रेलियामा पनि घामपानीलाई माया गरिदिनु होला : केकी अधिकारी, अभिनेत्री

प्रारम्भमा म्युजिक भिडियोमा मात्र सिमित केकी यतिबेला भिडियोसंगै नेपाली फिल्ममा पनि उत्तिकै सक्रिय छिन् ।
-- हट टक मे अंक २०१७ ?>

वैशाख १ गतेदेखि अल नेपाल रिलिज भएका तीन वटा नेपाली फिल्ममध्ये सबैभन्दा अघि रहन सफल भएको दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘घामपानी’ । यो फिल्ममा बाहुन समुदायकी युवतीको भूमिका निर्वाह गरेर दर्शकलाई सिनेमा घरसम्म आकर्षित गर्ने काम गर्ने अभिनेत्री हुन् केकी अधिकारी । झन्डै डेढ दशकदेखि अभिनय क्षेत्रमा सक्रिय अभिनेत्री हुन् केकी । प्रारम्भमा म्युजिक भिडियोमा मात्र सिमित केकी यतिबेला भिडियोसंगै नेपाली फिल्ममा पनि उत्तिकै सक्रिय छिन् । पछिल्लो वर्ष मात्र उनले अभिनय गरेका केही फिल्महरू प्रदर्शन भएका थिए । यसैबीच केकीले आफ्नो पछिल्लो फिल्म ‘लभसासा’ को अष्ट्रेलियाका प्रमुख शहरहरूमा भएको विशेष प्रदर्शनमा सहभागिता जनाएकी छिन् । सिड्नी तथा मेलबर्न शहरमा आयोजित उक्त फिल्मको विशेष प्रदर्शनमा दर्शकबाट पाएको प्रसंसाबाट केकीले आफू उत्साहित भएको बताएकी छिन् । द नेपाली टाइम्सको यो स्तम्भमा केकीलाई द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले उनको अष्ट्रेलिया भ्रमणसम्बन्धि केही जिज्ञासा राखेका छन् ।

 

पछिल्लो अष्ट्रेलिया भ्रमण कस्तो रह्यो ?

नेपालबाहिर कहिं कतै नेपालजस्तै लाग्ने ठाउँ भनेकै अष्ट्रेलिया हो । त्यहाँको नेपाली समुदायले मलाई गर्ने मायाका कारण अष्ट्रेलिया मलाई दोस्रो घर झैं लाग्छ । यसपटकको भ्रमण मैले सोचेको तथा योजना बनाएको भन्दा उत्कृष्ट रह्यो ।

 

यसपटकको भ्रमणको मुख्य उदेश्य के थियो ?

नेपालमा प्रदर्शन भैसकेको मेरो अघिल्लो फिल्म ‘लभसासा’ को विशेष प्रदर्शनीमा सहभागिता जनाउन म अष्ट्रेलिया गएकी थिएँ ।

 

नेपालमा औषत व्यवसाय गरेको ‘लभसासा’ लाई अष्ट्रेलियामा कत्तिको रुचाइयो ?

प्रेम कथामा आधारित यो फिल्मले नेपालमा पनि राम्रै गरेको थियो । अष्ट्रेलियामा गरिएका शोहरूमा दर्शकहरूको सहभागिता देख्दा पक्कै पनि यो फिल्मले नेपाली दर्शकको मन जित्न सफल भएको अनुभव गरेकी छु ।

 

भ्रमणमा तपाईंसहित को को हुनुहुन्थ्यो ?

फिल्मका लेखक तथा निर्देशन प्रचण्डमान श्रेष्ठ तथा म मात्र नेपालबाट सहभागि भएका थियौं ।

 

लभसासा मेलबर्नमा बढि रुचाइयो कि सिड्नीमा ?

प्रारम्भमा मेलबर्नमा यो फिल्मको शो थियो । पहिलो शोमै दर्शकहरूले हामीप्रति ठूलो स्नेह देखाउनु भयो । त्यसपछिको शो सिड्नीमा भयो । त्यहाँ पनि दर्शकहरूबाट उत्साहजनक प्रतिक्रिया पायौं ।

 

नेपाली निर्माता–निर्देशकले नेपालपछि आफ्ना फिल्म रिलिज गर्ने देशको रुपमा अष्ट्रेलिया रोज्ने कारण के होला ?

अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायकै कारण यसो भएको हुनुपर्छ । अष्ट्रेलियाको नेपाली समुदायले नेपाली फिल्मलाई जुन प्रकारको माया दर्शाउनु भएको छ, त्यसको जति प्रससा गरे पनि कम हुन्छ । नेपाली फिल्मलाई मात्र होइन, अष्ट्रेलियका नेपालीहरूले नेपाली संगीत तथा हामी नेपाली कलाकारलाई दिएको माया र सम्मान कसैसंग तुलना गर्नै नमिल्ने शैलीको छ ।

 

अष्ट्रेलियाको नेपाली फिल्मी बजारलाई कसरी मूल्यांकन गर्नु भएको छ ?

अष्ट्रेलिया पछिल्लो समयमा नेपाली फिल्मका लागि दोस्रो ठूलो बजार बनेको मैले अनुभव गरेकी छु । स्तरिय नेपाली फिल्महरूलाई अष्ट्रेलियाले जहिले पनि माया नै गरेको छ ।

 

तर सबै नेपाली फिल्म अष्ट्रेलिया आउँदैनन नि ?

त्यसका लागि नेपाली फिल्मका निर्माता–निर्देशकहरूले आफ्ना फिल्मको गुणस्तरमा जोड दिनु पर्छ । विदेशमा रुचाइने शैलीका फिल्महरू निर्माण गर्न सकियो भने हरेक फिल्म अष्ट्रेलिया आइपुग्न सक्छन् ।

 

‘घामपानी’ को सफलतलाई कसरी लिनु हुन्छ ?

म अत्यन्त खुशी भएकी छु । वर्ष २०७४ को पहिलो सुपरहिट फिल्मको मुख्य पात्रको रुपमा म अत्यन्त हर्षित छु । यो फिल्म पनि अष्ट्रेलियामा प्रदर्शन हुँदैछ । म यही पत्रिकामार्फत उक्त फिल्म हेरेर हामीलाई अझ बढि माया र हौसला प्रदान गरिदिनु हुन अनुरोध गर्दछु ।