अष्ट्रेलियाको तीज धमाकामा सिन्धु र चन्दा

तीज आउन अझै केही साता बाँकि छ, यद्धपि शहरमा तीजका गीतहरू गुञ्जन थालिसकेका छन् । टेलिभिजनको पर्दादेखि यूट्युब च्यानलहरूमा यो वर्षका तीज विशेष गीतहरू प्रसारण हुन थालिसकेका छन् । नेपालमा मात्र होइन, नजिकिँदै गरेको तीजले विदेशमा बसोबास गर्ने महिला दिदी–बहिनीहरूलाई समेत बिस्तारै व्यस्त बनाउन थाल्दैछ । तीजको अवसर पारेर अष्ट्रेलियामा समेत तीज विशेष कार्यक्रम आयोजना गरिंदैछ । अष्ट्रेलियाका पाँच वटा शहरमा आयोजना हुने ‘तीज धकामा–२०१७’ शीर्षकको कार्यक्रममा सहभागिता जनाउन दुई लोकप्रिय गायिकाहरू सिन्धु मल्ल तथा चन्दा अर्याल अष्ट्रेलियामा पुग्दैछन् । ‘तीज धमाका’ कार्यक्रम जुलाई २३ मा मेलवर्नमा, जुलाई २९ मा सिड्नीमा, जुलाई ३० मा अरेञ्जमा, अगष्ट ३ मा एडिलेडमा तथा अगष्ट ५ मा ब्रिसबेनका सम्पन्न हुनेछ । यी कार्यक्रममा अष्ट्रेलियामै बसोबास गर्ने नेपाली कलाकारहरू पनि सहभागि हुँदैछन् । सिन्धु मल्ल तथा चन्दा अर्याल भने यी सबै कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहनेछन् । अष्ट्रेलिया जाने तयारीमा सक्रिय रहेका यी दुई गायिकासंग द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको सेलिब्रेटी टक :
अष्ट्रेलियाको तीज धमाका विशेष हुनेछ ।
सिन्धु मल्ल, गायिका
अष्ट्रेलियामा आयोजना हुने ‘तीज धमाका–२०१७’ कार्यक्रमको तयारी कसरी गर्दै हुनुहुन्छ ?
तीजको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रमको लागि यतिबेला अन्तिम तयारीमा सक्रिय छु । विभिन्न पाँच शहरमा आयोजना हुने कार्यक्रमका लागि नेपालबाट त्यहाँ बसोबास गर्नु हुने नेपाली दिदी–बहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछु ।
तीज धमाकामा कस्ता गीत गाउँदै हुनुहुन्छ ?
तीज विशेष कार्यक्रम भएकाले मैले गाएका तीजका लोकप्रिय गीतहरू गाउने छु । कतिपय पुराना गीतहरू प्रस्तुत गर्नेछु भने कतिपय नयाँ गीतहरू पनि गाउने छु ।
तेस्रो पटक अष्ट्रेलिया पुग्दै हुनुहुन्छ, यसपटकको भ्रमणका लागि कत्तिको एक्साइटेड हुनुहुन्छ ?
विदेशमा आयोजना हुने कार्यक्रमका लागि हामी नेपाली कलाकारहरू प्राय: एक्साइटेड नै हुन्छौं । त्यसमा पनि नेपाली कलाकारहरूलाई असाध्यै माया गर्ने अष्ट्रेलियाको नेपाल समुदायसमक्ष प्रस्तुत हुन पाउँदाको उत्साहको त वर्णन नै गर्न सक्दिन । म पाँचै वटा शहरका तीज धमाका कार्यक्रमका लागि असाध्यै एक्साइटेड छु ।
तीजका कार्यक्रममा नेपाली दर्शकहरूको सहभागिता कस्तो पाउनु हुन्छ ?
तीज महिलाहरूका लागि विशेष पर्व हो । हामी सहभागि हुने तीज धमाका कार्यक्रममा नेपाली महिला दिदी–बहिनीहरूको उल्लेख्य सहभागिता रहने अनुमान गरेकी छु ।
यहाँबाट उहाँहरूलाई के भन्न चाहानु हुन्छ ?
यो पत्रिका पढिरहनु भएको अष्ट्रेलिया निवासी सम्पूर्ण दिदी बहिनीहरूलाई हामी सहभागि हुने कार्यक्रममा राम्री भएर, चिटिक्क परेर, कम्मर मर्काउने गरी आउनु हुन हार्दिक अनुरोध गर्दछु ।
केही वर्ष सांगीतिक क्षेत्रबाट ओझेल पर्नु भयो नि ?
ओझेल नै त परेको होइन, तर गीत गाउने संख्यामा केही कमि चाहिँ भएकै हो । म व्यवसायमा समेत आवद्ध भएकाले पूर्ण रुपमा संगीतमा समय दिन सकिरहेकी छैन । यद्धपि मैले तीजको बेला भने नयाँ–नयाँ गीतहरू गाइरहेकी छु ।
यो वर्षको तीज गीत कस्तो बनेको छ ?
यसपटक मैले एक नारायण भण्डारीको शब्द तथा सुदाम थापाको संगीतमा ‘घिन घिन मादल बजाउँदै…’ शीर्षकको गीत गाएकी छु । भरखरै यो गीतको म्युजिक भिडियोको छायांकन पनि सम्पन्न भएको छ । केही दिनमै यो गीतले दर्शकहरूको मन जित्ने छ ।
म्युजिक भिडियो चाहिं कस्तो बनेको छ ?
दुई लोकप्रिय अभिनेत्रीहरू वर्षा शिवाकोटी तथा वर्षा राउतले छमछमि नृत्य गरेको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । निर्देशक सुव्रत आचाय तथा कोरियोग्राफर गम्भिर विष्टले झन्डै ३० जना कोरस सहित नौलो शैलीको म्युजिक भिडियो तयार पार्नु भएको छ ।
अष्ट्रेलिया पहिलो पटक भएकाले एक्साइटेड छु ।
चन्दा अर्याल, गायिका
तीज गीत गाउन थाल्नु भएको कति भयो ?
म विगत छ वर्षदेखि तीजका गीत गाइरहेको छु । झन्डै ८ वटा तीजका गीत गाइसकेकी छु ।
कुन–कुन तीज गीत लोकप्रिय भएका छन् ?
प्राय: सबै गीतहरू नै स्रोता तथा दर्शकले मन पराउनु भएको छ । खासगरि लचक्कै कम्मर तथा मेरो रुपैले भन्ने गीत अत्यधिक लोकप्रिय छन् ।
यो वर्षको तीजका लागि के गाउनु भएको छ ?
यसपटक मैले सिंगल ट्रयाकको रुपमा ‘ओहो महादेव’ गाएकी छु । चाँडै नै यो गीतको म्युजिक भिडियो पनि तयार पार्दैछु । वसन्त सापकोटाको संगीत तथा बाबुराम बोहोराको शब्दमा राम्रो तीज गीत बनेको छ ।
विदेशका कार्यक्रममा कत्तिको सहभागि हुनु भएको छ ?
मैले कतारमा तीन पटक कार्यक्रम प्रस्तुत गरिसकेकी छु । यसबाहेक जापान, बहराइन, दुबई तथा भारतमा समेत सांगीतिक प्रस्तुती दिएकी छु ।
अष्ट्रेलियाको तीज धमाकाको तयारी कस्तो छ ?
म पहिलो पटक अष्ट्रेलिया पुग्न लागेकीले तीज धमाकाको तयारी पनि धमाकेदार नै गर्दैछु । म अष्ट्रेलियावासी दिदी–बहिनीहरूलाई तीजका गीतमा नचाउन आतुर छु ।
दर्शकहरूको कस्तो साथको आशा गर्नु भएको छ ?
अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले नेपाली कलाकारलाई असाध्यै माया गर्नु हुन्छ भन्ने सुनेकी छु । हाम्रो तीज धमाका कार्यक्रममा उहाँहरूको उत्साहजनक सहभागिता रहनेछ भन्ने कुरामा ढुक्क छु ।
कति वटा गीत प्रस्तुत गर्ने तयारी गर्नु भएको छ ?
समय हेरेर झन्डै एक दर्जन तीज गीत प्रस्तुत गर्ने तयारी गरेकी छु ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...