गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सातौं अधिवेशन सम्पन्न
नयाँ कार्य समितिलाई कार्यभार हस्तान्तरण
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
गत जुलाई २२ का दिन गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सातौं अधिवेशन ब्रिसबेनमा सम्पन्न भएको छ । अधिवेशनमा विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने एनआरएनहरु को बाक्लो उपस्थिती थियो । अधिवेशनमा एनआरएन आईसीसी अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन ओसेनीयाका संयोजक महेन्द्र कुमार लम्साल, विभिन्न राज्यका एनआरएनए संयोजकहरु लगायतका अन्य एनआरएनएअस्ट्रेलियाका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
अधिवेशनमा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा रहेकी थिईन् । अध्यक्ष घले, राजदूत शेर्पा र एनआरएनएका अन्य पदाधिकारीहरु सहित पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको उद्घाटन लगतै नेपाली र अष्ट्रेलियन राष्ट्रिय गित गाएर कार्यक्रमको सुरुवात गरिएको थियो ।अधिवेशनमा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक अभिमानसिंह बस्नेतले स्वागत मन्तव्य दिदै अधिवेसनमा सहभागी हुने सबैजनालाई क्वीन्सल्यान्डमा स्वागत गरेका थिए । त्यसैगरी बस्नेत लगायत नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डका अध्यक्ष गोविन्द बरालले पनि अष्ट्रेलियाका विभिन्न राज्यबाट उपस्थित भएका सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको अध्यक्षता एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देले गरेका थिए भने कार्यक्रमको सञ्चालन सहसचिव भिष्म भण्डारीले गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष घलेले एनआरएन अष्ट्रेलियाले एक कदम अगाडि बढेर क्रियाशील हुनुपर्ने बताए । यसका साथै उनले संस्थाका कार्य योजनाहरु सधै अटल र बलियो हुनुपर्ने, गएको कार्यकालको राम्रा कुरा, कमी कमजोरीहरुलाई पनि आत्मासाथ गरेर जानुपर्ने र अझ त्यो भन्दा माथि जाने हो भने हिजोको भन्दा फरक गतिमा, अझ जोश जाँगर र अनुशासित तरिकाले काम गर्नुपर्ने बताएका थिए । गैरआवासीय नेपाली संघलाई विदेशमा बस्ने नेपालीको संयुक्त राष्ट्रसंघजस्तो संस्था बनाउने आफ्नो सपना रहेको पनि घलेले अधिवेसनमा बताएका थिए ।
अधिवेसनमा बोल्दै एनआरएनका उपाध्यक्ष भवन भट्टले अष्ट्रेलियाकै एक युवाले नेतृत्व गरेर विमानस्थलमा सफाई अभियान सफलतापूर्वक अघि बढेकोमा बधाई दिदै विमानस्थल सरसफाइमा जुन सफलता प्राप्त भएको छ त्यसले एकदमै उत्साही बनाएको बताएका थिए । एनआरएनएले लगानी मात्र होइन शीप विस्तार र हस्तान्तरण पनि आफुहरु को योजना भएको भन्दै नेपालको विकासमा हातेमालो गर्न पर्यटन क्षेत्रमा थप लगानी गर्नुपर्ने बताएका थिए ।
त्यसैगरी एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालले विमानस्थलमा सफाई अभियानको प्रशंसा गर्दै हरेक निर्वाचित सदस्यले एक जना मतदाता सँग सम्पर्क गरेर उसलाई यो अभियानमा समाहित गर्न सकेमा त्यही सफलताको सूत्र हुने बताएका थिए । अधिवेशनमा बोल्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले एनआरएन अष्ट्रेलियाको दायित्व निकै ठूलो भएको बताए । एनआरएनए संस्था एउटा राजनैतिक संस्था नभई सामाजिक संस्थाको रुपमा सधैँ काम गरिरहोस् भनी शुभकामना पनि व्यक्त गरेका थिए । संस्थामा चेन अफ कमाण्ड कायम राख्नुपर्ने भन्दै महावाणिज्यदूत योञ्जनले अष्ट्रेलियामा रहेका नेपाली सञ्चारकर्मीहरुले जिम्मेवारीपूर्ण रुपमा समाजलाई एकताबद्ध बनाउनेतर्फ लाग्नुपर्ने बताए ।
यसैगरी उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि राजदूत शेर्पाले नेपाली दूतावास अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीसँग हातमा हात मिलाएर काम गर्न सदैव तयार रहेको बताएकी थिइन् । राजदूतले युवा शक्ति दैनिक रुपमा पलायन हुन खोजीरहेकोमा दुःख व्यक्त गदै, अष्ट्रेलियाबाट यस किसिमको वातावरण बनाउन सकिन्छ भन्ने विश्वास लिदैँ यो परिस्थिति परिवर्तन गर्न, देशका लागि केही गर्न आवश्यक रहेको बताएकी छिन् । राजदूत शेर्पाले यहाँको राजनीतिक संस्कार नेपालमा लैजान सके त्यो महत्वपूर्ण उपलब्धी हुने र देश विकासको लागि अष्ट्रेलियाका गैरआवासीय नेपालीहरुको योगदान आवश्यक रहेको र यसलाई कसरी जोड्न सकिन्छ त्यसतर्फ उनको पहल रहने बताईन । उनले पनि नेपालको विमानस्थल अष्ट्रेलियामै बसोबास गर्ने नेपालीले गएर सफा पारेको थाहा पाउँदा निकै खुशी लागेको बताएकी थिइन् र यो कदम एकदमै सकारात्मक भएको र यसखालको कार्यलाई अझ अघि बढाउन जरुरी रहेको पनि बताएकी छिन् । अधिबेशनमा बिशेष अतिथिको रुपमा नेपालबाट आएका महाबिर पुनले नेपाललाई बिज्ञान र प्राबिधिको क्षेत्रमा सक्षम बनाउन सके नेपालको कायापलट हुन सक्ने बताउदै आफु लागएतका साथीहरु ले सुरु गरेको अभियानका बारेमा जानकारी दिदै यस महाअभियनमा सहभागी हुन सबैलाई अनुरोध गरेका थिए।
कार्यक्रमको अध्यक्षता गरेको एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले कार्यक्रमको अन्त्यमा बोल्दै एनआरएनए संस्थामा अहिले युवा पुस्ता र महिला सहभागितामा सबैभन्दा बढी जोड दिइनुपर्ने बताएका थिए । उपस्थित व्यक्तिहरुलाई लक्षित गर्दै युवा र महिलाहरुको उपस्थिती एकदमै कम देखिरहेकोले आउँदो अधिवेसनमा यस्तो नहोस् भनी कामना पनि गरेका थिए । आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्न आफ्नो श्रीमती र छोरीहरुलाई विशेष धन्यवाद दिदै उनले समुदायका हरेक व्यक्तिहरुको एकदमै सकारात्मक भूमिका रहेको बताएका छन् । उनले आउँदो कार्यकालको लागि सम्पूर्ण विजेताहरुलाई शुभकामना दिदै एकता भएर का मगर्न आग्रह गरेको थिए ।
औपचारिक कार्यक्रम सकिएपछि बन्दसत्रको सेसन चलेको थियो। त्यसैगरी सोही दिन एनआरएनएले रात्रीभोजको आयोजना पनि गरेको थियो । जसमा समाजमा योगदान पुर्याए बापत एनआरएनए अष्ट्रेलियाले विभिन्न विधामा अवार्ड विरण गरिएको थियो । अवार्ड सँगै निर्वाचनसफल बनाउन सहयोग गर्ने निर्वाचन आयोगका पदाधिकारीहरुदेखि लिएर अन्य स्वयंमसेवकहरुलाई पनि प्रमाणपत्र वितरण गरेर सम्मान गरिएको थियो । त्यसैगरी पि.एच.डी डाक्टरहरुलाई पनि समाजमा गरेको शैक्षिक योगदानको उचित मुल्याङ्कन गरेर सम्मान गरिएको थियो । सोही रात्रीभोजमा एनआरएनए आईसीसी अध्यक्ष शेष घलेले अहिलेको कार्यकालमा विजयी हुने अध्यक्ष टोनु घोटाने लगायतका सबैजनालाई सपथ गराएका थिए।
