भरतपुरको वडा नम्बर १९ मा आज मतदान

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज शुक्रवार पुन: मतदान हुँदैछ । निर्वाचन कार्यालयले कडा सुरक्षा व्यवस्थासहित निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
निर्वाचनका लागि वडाका ६ वटा केन्द्रमा ३६ कर्मचारीसहित ठूलो संख्यामा सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ सय ६१ जना, सशस्त्रका ३ सय जना र तेस्रो घेरामा सयभन्दा बढी संख्यामा सेना खटिएका छन् । छुट्टाछुट्टै मोबाइल टोलीको समेत व्यवस्था गरिएको छ । वडामा हिजो साँझ ७ बजेबाट अघोषित रूपमा सवारी आवतजावत बन्द गराएका छन् । प्रत्येक केन्द्रमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ । प्रहरीले सुरक्षा चुनौती मध्यनजर गर्दै कडा पारिएको जनाएको छ ।

मतदान अवलोकनका लागि निर्वाचन आयुक्त ईश्वरी पौडेल र अनुगमनका लागि सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरे हिजो नै जिल्ला आएका छन् । बिहीबार दिनभर वर्षाले अवरोध गरे पनि साँझपख थामिएपछि कर्मचारी र सुरक्षाकर्मी मिलेर बुथ बनाइसकेका छन् । मतदानका दिन वर्षाले असर नपुर्‍याओस् भनेर बुथमा पालसमेत हालिएको छ ।
वैशाख ३१ को चुनावमा उक्त वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । गणना क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि अन्योल छाएको थियो । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निकै दिन लगाएर निर्वाचन आयोगले पुनस् मतदान गर्ने निर्णय लिएको थियो ।

मेयरमा एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा छन् । गणनाका क्रममा एमालेका ज्ञवालीले अग्रता लिएका छन् भने निकट प्रतिद्वन्द्वीका रूपमा माओवादीकी दाहाल छिन् । मतदान भइसकेका अन्य सबै वडाको गणना भइसके पनि २० नम्बर वडाको भने बाँकी छ ।