अष्ट्रेलियाको कन्सर्टबाटै हामीले फड्को मारेका हौं  : अमृत गुरुङ, गायक, नेपथ्य ब्याण्ड

-- / प्रकाशित मिति : मङ्लबार, साउन २४, २०७४

 

अष्ट्रेलियाको श्रृंखलावद्ध प्रस्तुतीलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?

हामी जुन उत्साहका साथ अष्ट्रेलिया ओर्लिएका थियौं, त्यसमा सफल भएका छौं । अष्ट्रेलियाका मेलबर्न, एडिलेड तथा सिड्नी गरी तीन वटै शहरका कन्सर्टहरू अत्यन्त सफल तथा सुखद रहेका छन् । हामी अष्ट्रेलियाका नेपाली समुदायप्रति आभारी छौं ।

 

सिड्नीको पछिल्लो कन्सर्ट कस्तो रह्यो ?

नेपथ्यका लागि सिड्नी असाध्यै आत्मीय शहर रहँदै आएको छ । यो चौथो पटक थियो । हरेक पटक यहाँ बसोबास गर्ने नेपालीहरूले देखाएको मायाले त्यो अपनत्व अझ बढेको महसुस गराउँछ । प्रत्येक वर्ष नेपथ्यको उपस्थितीलाई सिड्नीवासीले आफैंमा उत्सवजस्तो मनाएको देख्दा आफु यस स्थानप्रति ऋणी बन्न पुगेको अनुभव गर्छु ।

 

अष्ट्रेलियालाई नेपथ्यले जहिले पनि प्राथमिकतामा राख्छ । किन होला ?

अष्ट्रेलियासंगको हाम्रो सम्बन्ध निकै प्रगाढ छ । अर्को शब्दमा भन्नु पर्दा नेपथ्यले अष्ट्रेलियाबाटै विदेशका कार्यक्रममा फड्को मारेको हो । हामीलाई पहिलो पटक सन् २००८ मा म्याग्दी समाजले अष्ट्रेलिया बोलाएको थियो । एउटा हलमा आयोजना भएको उक्त कार्यक्रमको टिकट नै सोल्ड आउट भएको थियो । त्यो पहिलो कार्यक्रम नै ऐतिहासिक रुपमा सफल भएकाले हामीलाई संसारभरी छरिएर रहनु भएका नेपालीहरूले कार्यक्रमका लागि बोलाउन थाल्नु भएको हो ।

 

अबको यात्रा कस्तो हुनेछ ?

अष्ट्रेलियाको तीनवटा सहरहरूमा श्रृंखलावद्ध प्रस्तुती बोकेर हिँडेको नेपथ्यले सिड्नी कन्सर्टसँगै यस वर्षको यो मुलुकको यात्रा सम्पन्न गरेको छ । अब भने हामी हाम्रो सांगीतिक जीवनकै पहिलो यात्राअन्तर्गत प्रशान्त महासागरकै अर्को महत्वपूर्ण मुलुक न्यूजिल्याण्डतर्फ जाँदैछौं ।

 

ब्याण्डसहित विदेशका कन्सर्टको सहभागिता कत्तिको सहज हुन्छ ?

बाद्यवादकसहित लाइभ कन्सर्ट दिनु आफैंमा गाह्रो काम हो । हाम्रो कन्सर्टमा म सहित ब्याण्डका सबै संगीतकर्मी सहभागी हुन्छौं । विदेशका कन्सर्टमा सामुहिक प्रस्तुती दिनु अझ चुनौतीपूर्ण कार्य हो । आफूसंगै वाद्ययन्त्र समेत लैजानु पर्ने हुनाले केही असहज त हुन्छ नै । यद्धपि नेपालयले सबै कुराको चाँजो–पाँजो मिलाउने भएकाले हामीले प्रस्तुतीमा मात्र ध्यान दिए पुग्छ ।

 

दुई वर्षअघि भूकम्प आउँदा पनि अष्ट्रेलियामै हुनुहुन्थ्यो नि हैन ?

हजुर, हामी त्यो बेला अष्ट्रेलियाका अधिकांश शहरका निर्धारित कार्यक्रम सम्पन्न गरेर अन्तिम प्रस्तुतीको तयारीमा थियौं । कन्सर्टको अघिल्लो दिन नेपालमा भूकम्प गएपछि हामीले अन्तिम कार्यक्रमको स्वरुप नै परिवर्तन गरेर भावनात्मक गीतहरू मात्र प्रस्तुत गर्‍यौं । कन्सर्टकै क्रममा हामीले त्यहाँको नेपाली समुदायसमक्ष भूकम्प पीडितका सहयोग गर्न आग्रह समेत गर्‍यौं ।

 

नेपथ्यको २५ वर्षे यात्रालाई कसरी मूल्यांकन गर्नु हुन्छ ?

फुर्सदमा कहिलेकाहिं हामी आफ्नै समुहको विगत नियाल्छौं । म एक्लै छँदा पनि यदाकदा हाम्रो २५ वर्षे यात्रा सम्झन्छु । प्रारम्भमा हामीले लहै लहैमा नेपथ्य ब्याण्ड स्थापना गरेका थियौं । प्रारम्भिक चरणमा गाएका गीतहरू लोकप्रिय भएपछि हामी केही सुस्त भयौं । तर साथीभाइको अनुरोध र सुझावका कारण उत्कृष्ट संगीत सिर्जनालाई निरन्तरता दियौं । अहिले आएर चाहिं संगीत पूजा भएको छ, साधना भएको छ । अब नमरुञ्जेल संगीत सिर्जनामै सक्रिय भैरहने निधो गरेका छौं ।

 

यो अवधिमा ब्याण्डमा संगीतकर्मी आउने–जाने क्रम कस्तो रह्यो ?

यो अवधिमा हाम्रो ब्याण्डमा १९ जना संगीतकर्मीको आउने–जाने क्रम भयो । सन् २००८ अर्थात विगत ९ वर्षदेखि भने हाम्रो समुहमा ६ जना संगीतकर्मीहरू सक्रिय छौं । अहिले ब्याण्डमा म लिड भोकलिष्टको रुपमा छु । ध्रुव लामा ड्रमसेटमा, सुरज थापा किबोर्डमा, निरज गुरुङ गितारमा, सुविन शाक्य बेस गिटारमा तथा शान्ति रायमाझी मादलमा सक्रिय छौं ।

 

नेपथ्यका प्रत्येक गीत लोकप्रिय हुने त्यस्तो के जादू चलाउनु हुन्छ ?

यो त स्रोताले हामीलाई दिनु भएको माया नै हो । हाम्रा गीतमा अलिकति नेपालीपन भएर पनि हो कि ? अलिकति लोक शैली पनि मिसाउँछौं । स्रोताले गीतमा अलिकति आफ्नोपन महसुस गर्न पाउनु हुन्छ । शायद यीनै कारणले हाम्रा गीतहरू चलेका हुन् कि ?

 

पछिल्ला पटक रेकर्डिङ गरिएका गीतहरू कस्ता छन् ?

हामीले २०१५ यता नयाँ गीत रेकर्ड गरेका छैनौं । त्यतिबेलै हामीले झन्डै एक दर्जन गीत रेकर्ड गराएका थियौं । अहिले पनि एक–एक वटा गरेर यूट्युबमार्फत ती गीतहरू सार्वजनिक गरिरहेका छौं ।

 

प्राय: यात्राको क्रममा कसरी गीत तयार पार्नु हुन्छ नि ?

म पैदल यात्रा गर्न मन पराउने मान्छे हुँ । प्रत्येक पटकको यात्राको क्रममा एक–दुई वटा गीत तयार पारिरहेकै हुन्छु । यात्राले स्थानीय जनजीवनलाई नजिकबाट बुझ्ने मौका प्रदान गर्छ । त्यो बुझाइले नयाँ गीत नै तयार भैदिन्छ ।

 

देश–विदेशको यात्रा गरिरहनु हुन्छ । सबैभन्दा मनपर्ने ठाउँ कुन हो ?

पोखरा । मैले संसारका धेरै ठाउँ देखें, तर पोखरा जस्तो सुन्दर र रमणीय ठाउँ कहिंपनि भेटिन् । पोखराको सौन्दर्य शब्दमा वर्णन गरेर साध्यै छैन ।

 

बाहिर बस्ने नेपाली समुदायबाट कस्तो प्रतिक्रिया पाउनु हुन्छ ?

हाम्रो ब्याण्डले झन्डै २८ वटा देशमा प्रस्तुती दिइसकेको छ । नेपाली समुदाय बाहिर भएका कारणले नै हामी कलाकारहरू विदेश जाने संगति प्रस्तुत गर्ने अवसर पाएका हौं ।