सप्तरीका बाढीपीडितलाई एनआरएनएको राहत

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं- गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिकाका बाढीपीडितलाई राहत बितरण गरेको छ । संघले नगरपालिकाका झण्डै एक हजार पाँच सय परिवारलाई त्रिपाल, झुल र खाद्यसामाग्री बितरण सुरु गरेको छ । मंगलबार साँझ अबेरबाट सुरु भएको राहत बितरण हिजो बुधबारसम्म चलेको छ ।
संघले एक परिवारलाई एउटा त्रिपाल, झुल, २५ किलो चामल, दुई किलो दाल, नुन, चिनी र तेल लगायतका सामाग्री रहेको राहत प्याकेज बितरण गरेको छ । प्रति प्याकेज झण्डै ६ हजार रुपैयाँ खर्च भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।
राहत बितरणका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, उपाध्यक्ष कुमार पन्त, आईसीसी सदस्य जमुना गुरुङ लगायतको टोली सप्तरीमा आएको छ । सप्तरीको अर्को प्रभावित क्षेत्र औरहीमा एनआरएनले बुधबार झण्डै २ हजार परिवारलाई राहत बितरण गर्ने तयारी गरिरहेको छ ।

अध्यक्ष घलेले बाढीबाट प्रभावितहरुका लागि केही दिनका लागि भए पनि राहत दिन सकेकोमा सन्तोष ब्यक्त गर्दै रकम संकलनमा सहभागी हुने सवै गैरआवासीय नेपालीहरुलाई धन्यबाद दिए । ‘तपाईहरुले संकलन गरेको रकम एकदमै दुःखमा रहेका दाजुभाई दिदीबहिनीको हातसम्मै पुर्‍याएका छौं’ अध्यक्ष घलेले भनेका छन् ।
राति अबेरसम्म लाइन बसेर राहत थाप्न पाएका सप्तरीबासीले पहिलोचोटी राहत पाएको भन्दै एनआरएनलाई धन्यबाद दिए । बाढीले घर बगाएर बिस्थापित भएका उनीहरुले अब गैरआवासीय नेपाली संघले दिएको त्रिपालमा रात बिताउनेछन् ।

बाढीको प्रकोप सुरु भएसँगै गैरआवासीय नेपाली संघले आपतकालिन राहत कोष स्थापना गरी रकम संकलन अभियान सुरु गरेको थियो । सो कोषमा अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङले एक करोड रुपैयाँ दान गरेका थिए ।
झण्डै दुई करोड रुपैयाँ संकलन गरी करिव पाँच हजार परिवारलाई राहत बितरण गर्ने लक्ष्यसहित एनआरएन टोली यतिबेला सप्तरी पुगेको हो ।
एनआरएनएले स्वास्थ्य शिविर पनि थालेको छ । बिराटनगरबाट डाक्टर र नर्सहरुको टोली लगेर स्वास्थ्य शिविर थालिएको हो ।
तस्बिर : अनलाईनखबर