चन्द्र योन्जनद्वारा तीज भड्किलो नभई सभ्य बनाउन आह्वान

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ ८, २०७४

अष्ट्रेलियाको नेपालीहरुको व्यस्त जीवनशैलीमा यदि नेपाली चाडपर्व नभित्रने हो भने, सायद उनीहरु एक क्षण खुसी बटुल्न पनि अन्य धेरै उपायहरुनै अपनाउनु पर्थ्यो होला । तर जे होस् बेला बेलामा यहाँ नेपाली चाडपर्व लामो समयसम्म भित्रिदाँ र ती चाडपर्वको बहाना पारेर भए पनि नै मानिसहरु एकअर्कामा रमाउन पाएका छन् , नाँच्दै , गाउँदै साथी–आफन्तहरुसँगको मिठो भेटले ओठमा मुस्कान त ल्याएको छ। चाडपर्वकै कुरा गर्ने हो भने मेल्वर्नको नेपाली समुदायमा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजले उल्लास भरिदिएको छ । छरिएर बसेका नेपालीहरु एकत्रित हुँदै विभिन्न कार्यक्रमहरु आयोजना गरेर भव्यताका साथ तीज पर्व मनाइरहेका छन् । त्यसैक्रममा क्रेगिबन नेप्लीज् कमिनिटि भिक्टोरीया र नारी निकुन्ज भिक्टोरीया अष्ट्रेलियाको संयुक्त आयोजनामा यही अगस्ट २१ मा हरितालिका तीज भव्य एवं सभ्य तरिकाले सम्पन्न भएको छ । क्रेगिबनमा नै भएको यस तीज कार्यक्रममा भिक्टोरीयाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन प्रमुख अतिथि रहेका थिए भने त्यस्तै र विशिष्ठ अतिथिमा पूर्व मेयर हेलेन तथा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथाने रहेका थिए ।

त्यसंगरी एनआरएनए भिक्टोरियाका अध्यक्ष केशव कंडेल, न्याभका उपाध्यक्ष तारा ग्रैरे, एनआरएन भिक्टोरीयाका उपाध्यक्ष युर्गेन्द्र रेग्मी, सचिव गौतम लामिछाने , दिदीबहिनी समाजका अध्यक्ष जमुना पराजुली तथा एनआरएनए भिक्टोरीयाका अन्य कार्यसमितिका सदस्यहरु र क्रेगिबन समाजमा संस्थापक तथा सल्लाहकारहरु अतिथिको रुपमा उपस्थित भएका थिए । तीजलाई मौलिक परम्परागत रुपमा जसरी नि दाजुभाइहरुले दिदीबहिनीहरुलाई दर खुवाउने र रमाइलो गर्ने उद्देश्यले यो कार्यक्रम गरेको थियो र तीजमा उपस्थिती सबै चेलिबेटि तथा अन्य उपस्थित व्यक्तिहरुलाई पनि निःशुल्क दर खुवाएको थियो । तीजलाई व्यापारीक ढंगबाट भन्दा पनि माैलिक रुपमा नै मनाउने भन्दै स्थानीय दिदीबहिनीहरुले पनि आफ्नो समुह बनाएर सान्दार नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यक्रम गर्नुको उद्देश्य प्रकास पार्दै क्रेगिबन समाजमा अध्यक्ष प्रेम कडेँलले स्वागत मन्तव्य दिएका थिए । क्रेगिवन समाज नेपाली मौलिक संस्कृति र भाषालाई सधै प्राथमितामा राख्ने र त्यही अनुसार कार्यक्रम पनि गर्ने उनले बताएका थिए । त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि महाबाणिज्यदूत चन्द्र योन्जनले तीजको शुभकामना दिदैँ आजकालको तीज महिला र पुरुषले एक अर्काको इज्जत गर्दै मिलेर रमाइलो गरेको देख्दा खुसी लागेको र यो समाजको लागि एकदमै राम्रो परिवर्तन रहेको बताएका थिए । त्यसैगरी एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथानले पनि तीजको शुभकामना व्यक्त गर्दै कार्यक्रममा भरपूर मनोरन्जन गर्न आह्वान गरेका थिए । निःशुल्क फोटो खिच्ने पनि व्यवस्था भएको यस कार्यक्रममा नेपालमा भर्खरै गएको बाढीपिडितहरुको सहयोगको लागि डोनेसन बक्स मार्फत एघार सय डलर संकलन भएको थियो ।

#चन्द्रयोन्जन   #नेपाली_चाडपर्व