अमेरिका निवासी गीतकार गुरुङको शब्दमा झल्कियो मातृत्वप्रेम

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– समाजसेवीको समेत छवि बनाइसकेकी गीतकार अम्बिका गुरुङ गीत रचनामा समेत लोकप्रिय नाम हो । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी गीतकार गुरुङ यतिबेला नेपाली गीत–संगीत सिर्जनामा सक्रियतापूवर्क सहभागि भैरहेकी छिन् । आफ्नै गीति एल्बम भावसागरको शीर्षकबाट भावसागर ईन्टरटेन्मेन्ट एलएलसी स्थापना गरेर संस्थागत रुपमै नेपाली गीत–संगीतको प्रवद्र्धनमा सक्रिय गीतकार गुरुङद्वारा रचित एउटा नयाँ गीत ‘हाँस भने…’ को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।

गायिका जुना प्रसाईंको स्वरको उक्त गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत तथा संगीत संयोजन छ । गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश उक्त गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।
आमा र छोराबीचका ममतामयी प्रेममा आधारित उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भिडियोमा अभिनेत्री अनु शाहले आमाको भूमिका निर्वाह गरेकी छिन् । बाल कलाकार कुशाग्र भट्टराई तथा कलाकार भरतले उनका छोराको भूमिका निर्वाह गरेका छन् । हरि हुमागाईँद्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक निशान घिमिरे हुन् । गीतकार गुरुङले आफू र आफ्नो छोराका बाल्यकालको स्मरणमा यो गीत रचना गरेको उल्लेख गरेकी छिन् ।
यस्तो छ हाँस भने गीतको म्युजिक भिडियो